• ८ मंसिर २०८१, शनिबार

रोबोट बनाउने विद्यार्थी वैज्ञानिक भएको महसुस गर्दै (फोटो फिचर)

blog

रोबोटिक सामग्री तयार गर्दै स्कुलका विद्यार्थी । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असोज ७ गते । बालबालिकाहरु ध्यान दिएर काम गर्दैछन् । कोही कागज काट्दैछन्, कोही रङ भर्दैछन् । कोहीले तार जोड्दै छन्, कोहीे चिप्स जोड्नमा व्यस्त छन् । 

ती सामग्री जोडेर रोबोट (रोबोटिक उपकरण) बनाउने उनीहरुमा चटारो छ । समूहबीच को उत्कृष्ट हुन्छ ? प्रतिस्पर्धा पनि छ । नन्दनगरका आदर्श खनाल अटोमेटिक विद्युतीय कार बनाउँदै छन् । पहिलो पटक रोबोट बनाउँदा उहाँलाई वैज्ञानिक भएको महसुस भइरहेको छ ।   

कपिलवस्तुको बाणगङ्गा नगरपालिका –१ पिपरामा कलम समाउने हातबाट रोबोट बनाउन कसिएका छन् । हिलवर्ट अङ्ग्रेजी बोर्डिङ स्कुलका ६५ जना बालबालिका बिहीबारदेखि काम गर्दैआएका छन् । विज्ञान र प्रविधिप्रति रुचि राख्ने विद्यार्थीले विज्ञान, प्रविधि, गणित तथा इन्जिनियरिङको प्रयोग गरी उपकरण बनाउन लागेका छन् । 

बालबालिकालाई प्रविधितर्फ उत्सुकता बढाउन तालिम सञ्चालन गरिएको रोबोटिक एसोसिएसन नेपालका इन्जिनियर राज यादवले बताउनुभयो । ‘हामीले स्वचालित उपकरण निर्माण गर्ने सीप दिएका छौं । हाल तारको प्रयोग गरी उपकरण निर्माण गरिएको छ । दोस्रो चरणमा मोबाइल एप्सबाट नियन्त्रण गर्ने सीपको विकास गरिनेछ’ यादवले भन्नुभयो ।  

रोबोटभन्दा मान्छेजस्तै काम गर्ने उपकरण भन्ने बुझेका थियौं । तालिमपछि थाहा पायौं । हातले चलाउने (म्यानुअल) उपकरणलाई स्वचालित बनाउने रोबोटिक रैछ । तीन दिने सिकाइले केही सामग्री निर्माण गरेका छौं । दैनिक जीवनमा प्रयोग हुने सामग्रीदेखि, मानिसको हातलेजस्तै आफैले समाउने रोबोटिक आर्म (हत्केला) निर्माण गरेका छौँ । यी विज्ञान तथा शैक्षिक प्रदर्शनी प्रदर्शन गरिने उहाँले बताउनुभयो । 

बालबालिकाले अटोमेटिक बन्द र खुला हुने सडक बत्ती, ग्यास लिक हुँदा साइरन बजेर सङ्केत दिने उपकरण, विद्युतीय गाडी, अटोमेटिक सेनिटाइज गर्ने मिसिनजस्ता रोबोटक उपकरणका नमुना निर्माण गरेको विद्यालयमा अध्यक्ष दीपक खनालले बताउनुभयो । 

देशभरिका तीनसय विद्यालयमा तालिम सञ्चालन भएको एसोसियसनका सचिव ओमकार जयसवालले बताउनुभयो । तालिमपछि उत्कृष्ट विद्यार्थी राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउनेछन् । उत्कृष्ट १० जना विद्यार्थी नेपालको प्रतिनिधित्व गर्दै अक्टोबरमा सिङ्गापुरमा हुने १८ वर्षमुनि उमेर समूहको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने जयसवालले बताउनुभयो ।