श्रमिक दिवसको सार्थकता
श्रमिकका निम्ति आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अवधारणाले सार्थकता पाएको दिन हो– मे दिवस । यसका पछाडि लामो सङ्घर्ष छ । सन् १८९० अर्थात् १३३ वर्ष श्रमिकको लामो सङ्घर्षले सार्थकता पायो । फलस्वरूप हरेक वर्ष मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने विश्वव्यापी प्रचलन छ । श्रमिकलाई गुणस्तरीय जीवन बिताउने वातावरण तयार गर्न समयसापेक्ष सुविधा तथा अधिकारको सुनिश्चितताका लागि सरकार एवं रोजगारदातालाई झकझकाउने दिनका रूपमा यो दिवसको महìवपूर्ण स्थान रहिआएको छ ।
नेपाल–अमेरिका सम्बन्ध
नेपाल र अमेरिकाबीच वि.सं. २००५ अर्थात् सन् १९४८ मा स्थापना भएको कूटनीतिक सम्बन्ध अहिले ७५औँ वर्षमा प्रवेश गरेको छ । राणाकालमै स्थापना भएको यी दुवै मुलुकबीचको सम्बन्ध समयक्रमसँगै झाँंगिँदै गएको निर्विवाद तथ्य हो ।
दुई दिन बिदाको प्रभाव
सरकारले आउँदो जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक (साप्ताहिक) बिदा दिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै अब हप्तामा पाँच दिन मात्र सरकारी तथा सार्वजनिक कार्यालयहरू सञ्चालनमा आउनेछन् । नेपालमा सातामा शनिबार तथा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको यो पहिलो पटक भने होइन ।
उड्डयन क्षेत्रमा सुधार
झन्डै एक दशकअघिदेखि नेपाली हवाई क्षेत्रको सुरक्षा सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरबाटै विभिन्न प्रश्न उठ्दै आएको थियो । यसैको परिणामस्वरूप नेपाली वायुसेवा कम्पनीहरू युरोपेली मुलुकमा उडान भर्न असमर्थ थिए । यसबाट नेपाली हवाई उड्डयनको क्षेत्रमा एक किसिमको सङ्कुचन तथा अवरोधको अवस्थाको सिर्जना भएको थियो । यसबाट नेपाली उड्डयन क्षेत्रमा निराशा पैदा हुनु स्वाभाविक मान्न सकिन्छ । यसबाट नेपाली वायुसेवा कम्पनीहरूको विकास एवं विस्तारमा प्रतिकूल प्रभाव परिरहेको थियो । राष्ट्रसङ्घीय विशेष निकायका रूपमा रहेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) तथा युरोपेली सङ्घअन्तर्गतको युरोपेली आयोगको सुरक्षा सूचीमा रहेका कारण सन् २०१३ देखि नेपाली विमानहरूका लागि अमेरिका तथा युरोपेली मुलुकका आकाश प्रतिबन्धित छन् । यसको अन्त्यका पटक पटक प्रयास भए पनि आशातीत सफलता प्राप्त हुन सकेको थिएन । हालसम्म पनि यो प्रतिबन्ध हटाउने कार्य सफलीभूत हुनसकेको छैन । प्रतिबन्ध हटाउन आईकाओले नागरिक उड्डयनका विभिन्न पक्षमा सुधारको सर्त पनि अगाडि सारिरहेको बेलाबखत आइरहेकै हो ।यावत् प्रयासहरूको सन्दर्भमा खुसीको खबरसमेत सम्प्रेषित भएको छ । आईकाओले झन्डै दुई हप्ता लगाएर चैत ३० गतेदेखि वैशाख १२ गतेसम्म गरेको परीक्षणबाट नेपालको हवाई सुरक्षामा प्रगति हुँदै गएको आँैंल्याइएको छ । आईकाओले गरेको सम्परीक्षण (अडिट) ले पछिल्लो पाँच वर्ष यता नेपालको हवाई गुणस्तरमा वृद्धि भएको देखाएका छ । सन् २०१७ मा नेपालमा सुरक्षा परिचालन भार ६७.७६ प्रतिशत रहेकोमा पछिल्लो अडिटबाट यो ७१.१ प्रतिशत पुगेको प्रतिवेदनले देखाएको छ । यस तथ्याङ्कबाट नेपालले हवाई सुरक्षा गुणस्तर वृद्धिजस्ता कार्यमा निरन्तर प्रयास अगाडि बढेको स्पष्ट हुन्छ । प्रमाणिक तथ्याङ्कहरूले यही कुरा देखाइरहेको छ । अडिटका सिलसिलामा उडान सुरक्षाको नेपालले पालना गरे गराएका कार्य र तिनको प्रगतिलाई आधार बनाएको देखिएबाट समेत नेपालको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्र विश्वसनीय हुँदै गएको देखिन्छ । नागरिक हवाई उड्डयन क्षेत्रमा विश्वभरि नै नियामक रूपमा काम गर्दै आइरहेको राष्ट्रसङ्घीय विशेष निकायको विशिष्टकृत कार्य सम्पादन गर्दै आइरहेको छ । त्यसक्रममा आईकाओले विशेषतः लिजिस्टेसन ( एलईजी), पर्सनल लाइसेन्स (पीईएल), फ्लाइट अपरेसन (ओपीएस), एयर नेभिगेसन सर्भिस (एएनएस), एरोडमी एन्ड ग्राउन्ड एड्स (एजीए) लगायतका आठ विषयवस्तुलाई केन्द्रबिन्दुमा राखेर हवाई उड्डयनको व्यवस्थापन एवं सुरक्षाको गुणस्तर मापन गरिरहेको छ । यो सन्दर्भमा नेपालको अनुगमन गहन रूपमा भइरहेको देखिन्छ । नेपालको हवाई सुरक्षाको स्तरलाई केलाउँदा सन् २०१७ मै पनि औसत विश्व आँकडाभन्दा माथि नै देखिएको छ । विश्व औसत हवाई सुरक्षाको भार ६७.२ प्रतिशत रहेकोमा नेपालको ६७.७६ प्रतिशत थियो । यस तथ्यबाट नेपाली वायुयानलाई युरोप, अमेरिकामा प्रतिबन्ध लगाउने निर्णय उपयुक्त थिएन भन्ने समेत स्पष्ट हुन्छ । पछिल्लो अडिटअनुसार नेपालमा औसत परिपालना भार ७१.१ प्रतिशत पुगेको पाइएको छ । कुल १९३ सदस्य राष्ट्र रहेको आईकाओका राष्ट्रहरूको औसत हवाई सुरक्षा भार ६७.२ प्रतिशत रहेको छ । यसरी नेपालले विगत र वर्तमानमा समेत हवाई सुरक्षा परिपालनमा कुनै कमी नगरेको प्रमाणित भएको छ । पछिल्ला वर्षमा नेपालले नागरिक हवाई उड्डयनका क्षेत्रमा पूर्वाधार विकासलाई आन्तरिक रूपमा निकै अगाडि बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल थपेको छ । पूर्वाधार विकासमा ध्यान दिएको छ । त्यसक्रममा हवाई सुरक्षामा उल्लेखनीय सुधार गर्दै आइरहेको सन्दर्भमा अहिलेको उपलब्धि प्राप्त भएको हो तर यतिमै प्रगति रोकिनु हुँदैन । अब इयु र आईकाओले नेपाली विमानलाई अमेरिका र युरोपको आकाशमाथि लगाइरहेका प्रतिबन्ध छिटोभन्दा छिटो हटाउनु उपयुक्त देखिन्छ । त्यसतर्फको प्रयाससमेत अगाडि बढाउनु पर्नेछ । प्रतिबन्ध खुला भए नेपाली हवाई उड्डयनको विकासमा निकै सकारात्मक प्रभाव पर्ने निश्चित छ । नेपालको पर्यटन विकास हवाई क्षेत्रमा गरिने विकास, विश्वास र गुणस्तरमा निर्भर रहनेछ । कोरोना (कोभिड–१९)का कारण विश्वभर पर्यटन खुम्चिएको छ । यो प्रतिकूल प्रभाव नेपालमा समेत स्वाभाविक रूपमा परेको छ । देशको हवाई क्षेत्रको बढ्दो विश्वासले नेपालको पर्यटनलाई फेरि नयाँ तवरले अगाडि बढाउन सकिने निश्चित छ ।
सुरुङमार्गको उत्साह
राजधानी प्रवेश र बहिर्गमनको मुख्य नाका थानकोट नौबिसेबाट दिनहुँ लाखौँ यात्रु तथा दसौंँ हजार सवारी साधन ओहोरदोहोर गर्ने गर्छन् । एक आँकडाअनुसार यस नाकाबाट दैनिक झन्डै २० हजार सवारी साधन निरन्तर चलिरहन्छन् । यति विध्न सवारी साधनको आवतजावत हुने यस क्षेत्रको सडक तुलनात्मक रूपमा फराकिलो भने छैन । फलतः यहाँ घण्टौँसम्म ट्राफिक जामको समस्या देखिनु नौलो विषय होइन । यसबाट यात्रुलाई सास्ती मात्र नभई समयको बर्बादी भइरहेको छ । पेट्रोलियम पदार्थको समेत अनावश्यक खपतमा वृद्धि भएको छ । यसैगरी वस्तु तथा सेवाको मूल्यमा समेत बढोत्तरी भइरहेको यथार्थ हो । देशको यातायात क्षेत्रमा यी साना समस्या होइनन् ।
निर्वाचनको तापमान (सम्पादकीय)
स्थानीय सरकार नागरिकको नजिकको सम्पूर्ण भरोसा हो । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । लाखौँ मतदाताको सहभागिताका लागि तयारी पनि बृहत् तरिकाले नै हुनुपर्छ, हुँदैछ । निर्वाचनको तापमान बढ्दैछ । लोकतन्त्रको जग मानिने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोग, सरकार, राजनीतिक दललगायत सबैले आआफ्नो तहबाट आवश्यक तयारी उत्साहप्रद तवरबाट भइरहेको छ । परिणामस्वरूप निर्वाचनसम्बन्धी सबै गतिविधि पूर्वनिर्धारित तवरले अगाडि बढिरहेका छन् । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता कार्य आइतबारदेखि सुरु भएर सोमबार अपराह्न ५ बजेसम्म निकै उत्साहपूर्ण तवरले सम्पन्न भएपछि स्थानीय तह निर्वाचनले अब भने नयाँ गति समातेको छ ।उम्मेदवार अब मैदानमा पुगेका छन् । यो निर्वाचन पर सर्ने सम्बन्धमा केही नेताबाट व्यक्त भइरहेको भ्रमपूर्ण अभिव्यक्तिमा समेत स्वाभाविक रूपमा खारेज भएको छ । त्यस्तो भनाइ राख्नेहरू आफ्ना उम्मेदवार लिएर मैदान पुगेका छन् । अब एउटा कुरो निश्चित हो, यही वैशाख ३० गते मुलुकभरि स्थानीय तहको निर्वाचन एकैचोटी सम्पन्न हुँदैछ । नेपाली जनता लोकतन्त्र सुदृढ गर्ने यो आवधिक निर्वाचनमा बढो उत्साह देखिन थालेको छ । स्थानीय निर्वाचनका सम्बन्धमा देशभर देखिएको उत्साह एवं उमङ्गले यही सत्यतर्फ सङ्केत गरिरहेको प्रतीत हुन्छ । सही प्रतिनिधिको निर्वाचनले विकास निर्माण तथा सुशासनमा कस्तो प्रभाव पार्छ भन्ने तथ्य चेतनशील नागरिकका बीच हुने बसह आफैँमा महत्वपूर्ण छ ।मुलुकभरिका ७५३ स्थानीय स्थानीय तहअन्तर्गत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका प्रमुख, उपप्रमुख, पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यलगायतका गरी विभिन्न ३५ हजार २२१ पदको निर्वाचन हुनेछ । यस निर्वाचनमा मुलुकका सबै ठूला राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल, साना दल तथा स्वतन्त्र रूपमा उम्मेदवारी परेबाट यस निर्वाचनप्रति दल तथा आमजनताको चासो प्रष्ट पार्छ । सबै नेपाली जनता लोकतान्त्रिक पद्धतिको सुदृढीकरणमा आफ्नो तर्फबाट योगदान तत्पर छन् भन्ने प्रमाणसमेत हो यो । निर्वाचन आयोगद्वारा निर्वाचनको औपचारिक प्रक्रियाअन्तर्गत वैशाख १२ गते उम्मेदवारको सूची प्रकाशित गर्ने, १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ गते उजुरीमा छानबिन र निर्णय हुने तथा १५ गते उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम छ । यस्तै १६ गते उम्मेदवारले नाम फिर्ता लिने र १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने व्यवस्था गरिएको छ । लोकतान्त्रिक निर्वाचनका यी आधारभूत कार्यहरू सम्पन्न भइसकेपछि निष्पक्ष, तटस्थ, धाँधलीरहित एवं सुरक्षित तवरले मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने वातावरण सिर्जनाको प्रत्याभूति गरिनु सरकारको दायित्व हो । आफ्नो कर्तव्य एवं दायित्व निर्वाहमा सरकारका सबै अङ्ग पूर्ण रुपेण सफल हुनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ । निर्वाचनको सिलसिलामा अर्को बिर्सनु नमिल्ने तथ्य कोभिडको सङ्क्रमण पनि हो । कोभिडको सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा नआइसकेको तथा भारतलगायत विभिन्न मुलुकमा केही समय यतादेखि कोभिड सङ्क्रमण बढ्दो गतिमा रहेको अवस्थामा मतदानजस्तो भीडभाड हुने कार्यक्रममा स्वास्थ्य मापदण्डको उपयुक्त पालनाका निम्ति सरकार तथा आयोगको विशेष सतर्कता तथा चनाखोपन आवश्यक देखिन्छ । मतदाताबीच भौतिक दूरी कायम, साबुन पानी तथा स्यानिटाइजरको व्यवस्थाजस्ता न्यूनतम स्वास्थ्य मापदण्ड पनि कायम गर्न सकिएमा सङ्क्रमणको जोखिममा कमी ल्याउन सकिने आधार हुन सक्छन् । विभिन्न सम्बद्ध पक्षको तयारीपछि निर्वाचनमा सबैभन्दा महत्वपूर्ण जिम्मेवारी नागरिकको हो । जनताले निर्वाचनका माध्यमबाट योग्य तथा सक्षम उम्मेदवारलाई विजयी गराएर आफ्नो गाउँठाउँको विकास गराउनु मुख्य कार्य हो । यस्तो सामूहिक भावनाको उद्देश्य प्राप्तिका लागि मतदाताले आर्थिक वा अन्य किसिमका लोभलालचमा नलागी निष्पक्ष एवं इमानदार ढङ्गबाट आफ्नो लोकतान्त्रिक अधिकारको अभ्यास गर्नुको विकल्प पनि देखिँदैन । प्रजातान्त्रिक व्यवस्था नै त्यस्तो व्यवस्था हो जसमा जनता नै सर्वेसर्वा रहन्छन् । नागरिक स्वयं भाग्य निर्मातासमेत हुन् । यसैले यस्तो अवसरको सदुपयोगबाट कुनै पनि नागरिक चुक्नु हुँदैन । यस्तो अवसर सदुपयोगका लागि आफूले सक्दो सहयोग गर्नु आमनागरिकको पनि कर्तव्य अनि दायित्व हुन आउँछ । असल जनप्रतिनिधि विकासका संवाहक हुन् । त्यसैले यो निर्वाचन विकार र सामाजिक परिवर्तनको निम्ति महासङ्ग्रामसमेत हो ।
किशुनजीको सपना (सम्पादकीय)
ढ्दो सहरीकरण तथा जनसङ्ख्याका कारण काठमाडौँ उपत्यका पचासको दशकमा खानेपानीको अभावमा उच्च हुँदै थियो । त्यस बेला नेपाली काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई अर्थात् किशुनजीले काठमाडौँमा २०४८ सालको आमनिर्वाचनको प्रचारप्रसारका क्रममा पहिलो पटक सिन्धपाल्चोकस्थित मेलम्ची खोलाको पानी राजधानी ल्याउने घोषणा गरेसँगै मेलम्ची खानेपानीबारेको चर्चा आरम्भ भयो ।
डब्लूएचओको प्रशंसा (सम्पादकीय)
गत असार महिनामा नेपाली काँग्रेसको नेतृत्वमा पाँचदलीय गठबन्धन सरकारको गठनपछि राष्ट्रको सन्तुलित परराष्ट्र नीतिले अग्रता लियो । परिणामस्वरूप अन्तर्राष्ट्रिय जगत्मा नेपालको साख अनि प्रतिष्ठामा अभिवृद्धि हुनुका साथै विश्वको चासो बढेको तथ्य निर्विवाद छ । यसै क्रममा विभिन्न महत्वपूर्ण भ्रमणहरूले निरन्तरता पाइरहेका छन् । मित्रराष्ट्र साउदी अरेबिया तथा चीनका विदेशमन्त्रीको भ्रमण केही समयअघि सम्पन्न भइसकेका छन् भने संयुक्तराज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डल हाल नेपाल भ्रमणमा छ । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको स्कटल्यान्डमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी विश्व नेताहरूको शिखर सम्मेलनमा जनाउनुभएको सहभागिता तथा हालै सम्पन्न भारतको औपचारिक भ्रमण नेपालको छवि उँचो पार्ने कडी हुन् । यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेससको भ्रमण महत्वपूर्ण रह्यो ।यस्ता भ्रमण आदानप्रदानबाट नेपाल तथा ती मुलुक र संस्थाबीचको आपसी विश्वास अनि सम्बन्ध अझै प्रगाढ र सुमधुर हुने विषयमा कुनै शङ्का छैन । कोरोना (कोभिड–१९) सङ्क्रमणको महामारी पूर्ण रूपमा अन्त्य नभइसकेको अवस्थामा डब्लूएचओका कार्यकारीको यो भ्रमण नेपालका लागि निकै महत्वपूर्ण मान्न सकिन्छ । यस भ्रमणबाट कोरोना नियन्त्रण तथा रोकथामका लागि डब्लूएचओबाट थप सहयोग प्राप्त हुने वातावरण तयार हुने विषय अर्थपूर्ण छ । चीन, भारतलगायत केही युरोपीय मुलुकमा केही समययतादेखि बढ्दो गतिमा देखिएको कोरोना सङ्क्रमणकोे सन्त्रास व्याप्त छ । यसको रोकथामका लागि जुनसुकै बेला पनि डब्लूएचओको मद्दतको आवश्यक पर्न सक्छ । त्यसो त सन् २०१७ मा पाँचवर्षे कार्यकालका लागि राष्ट्रसङ्घीय निकाय डब्लूएचओको महानिर्देशकमा चयन हुनुभएका उहाँ अर्को कार्यकालका समर्थनका निम्ति नेपाल आउनुभएकोसमेत बुझ्न कठिन हुँदैन । तथापि डब्लूएचओका कार्यकारीको यस भ्रमणले नेपालको सुधार उन्मुख स्वास्थ्य क्षेत्रलाई उत्साहित बनाएको छ । अफ्रिकी राष्ट्र इथियोपियाको विदेश तथा स्वास्थ्यमन्त्रीको पद सम्हालिसक्नुभएका डा. टेड्रोसले कोरोना उत्कर्ष पुगेका बेला विशेषगरी अमेरिकी आलोचनाको सामना गरेरै भए पनि डब्लूएचओलाई जुन प्रकारले नेतृत्व प्रदान गर्नुभयो, सो वास्तवमै प्रशांसनीय कार्य थियो । अहिले पनि विशेषगरी तेस्रो विश्वका राष्ट्रमा कोरोना रोकथाम एवं नियन्त्रणमा यो संस्थाको जीवनदायी भूमिकालाई नकार्न सकिँदैन । डब्लूएचओ आफ्नो भूमिका तथा उद्देश्य प्राप्तिमा निरन्तर सफल हुने अपेक्षा गर्न सकिन्छ । नेपाल भ्रमणका क्रममा महानिर्देशक डा. टेड्रोसले उच्चस्तरीय व्यक्तित्वहरूसँग भेटघाट एवं स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागिता जनाउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै अन्य उच्चपदस्थसँगको भेटमा उहाँले स्वास्थ्यसम्बन्धी महत्वपूर्ण विचार आदानप्रदान गर्नुभयो । भेटका क्रममा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएर स्तरीय स्वास्थ्य सेवा वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको विषयमा प्रकाश पार्नुभयो । नेपालजस्ता विकासशील राष्ट्र्का लागि कोरोनाविरुद्धका खोपको आपूर्ति एवं उपलब्धता हरेक दृष्टिकोणबाट पक्कै पनि सहज होइन । स्थिति यस्तो भए पनि विश्वकै मापदण्डमा अधिकांश नेपाली कोरोनाविरुद्धको खोप लगाएर सुरक्षित बन्न सफल भए । यो वास्तवमै सरकारको प्रशंसनीय कार्य थियो । डब्लूएचओले पनि यस कार्यको मूल्याङ्कन गरेको प्रतीत भयो । महासचिव टेड्रोसले धेरैभन्दा धेरै नेपालीलाई पूर्ण कोरोना खोप लगाउन सकेकोमा प्रशंसा गर्नु नेपालका लागि सन्तोषको विषय हो । यसबाट कोरोना नियन्त्रणमा नेपालको रणनीति प्रभावकारी भएको सन्देश पनि प्रवाहित भएको छ तथापि अझै पनि जनसङ्ख्याको केही अंश कोरोनाविरुद्धको खोपबाट वञ्चित भएको पाइएको अवस्थामा लाखौँ डोज खोप खेर जाने अवस्थामा खोपबाट वञ्चित बढीभन्दा बढी जनतालाई खोप सुनिश्चितताको व्यवस्था सरकारले गर्नु वाञ्छनीय हुन्छ । स्वास्थ्य विषयलाई नेपालले निकै गम्भीरताका साथ लिने गरेको प्रमाण दक्षिण एसियामै टाइफाइडविरुद्ध बालबालिकालाई खोप लगाउने कार्यको सुरुवात यहीँबाट भएबाट समेत प्रमाणित हुन्छ । यस्तै नेपालले बाल तथा मातृ मृत्युदर कम गर्नुका साथै अन्य विभिन्न स्वास्थ्य सूचकमा गरेको प्रगति पनि उल्लेखनीय छ । डब्लूएचओको कार्यकारीबाट भएको यस भ्रमणले नेपाल र सो संस्थाबीचको सम्बन्ध सुमधुर एवं प्रगाढ हुनुका अतिरिक्त आउँदा दिनमा सहकार्यका लागि सहज हुने आधार तय भएको छ ।
एसईईको उत्साह (सम्पादकीय)
वि.सं. २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात् कक्षा १० को परीक्षा आज (वैशाख ९ गते) मुलुकभरि सुरु हुँदैछ । परीक्षा ११ दिनसम्म सञ्चालन हुनेछ । मिहिनेती सबै विद्यार्थीका लागि यो उत्साहको अवसरसमेत हो । प्रवेशिका परीक्षा (एसएलसी) को परिवर्तित स्वरूपका रूपमा एसईई परीक्षा विगत केही वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्दै आएको छ । विगतमा एसएलसी परीक्षालाई उच्च शिक्षाको फलामे ढोकाको रूपमा चिनिन्थ्यो । यसको ओज असाध्य उच्च थियो । परिवर्तित स्वरूप अनुरूप हालको कक्षा १० को परीक्षा तुलनात्मक रूपमा सहज तवरले लिइने गरिएको अनुभव सबैतिर गरेको पाइन्छ । यसो भए पनि एसईई परीक्षाप्रति देशभरिका लाखौँ परीक्षार्थी तथा उनीहरूका अभिभावकको गहिरो चासो एवं प्रभाव भने घटेको पाइँदैन । लाखौँ विद्यार्थीको सहभागिता तथा मुलुकभरि एकै समयमा परीक्षा सञ्चालनलाई यसैको कडीका रूपमा लिन सकिन्छ । कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीका कारण वि.सं २०७६ र २०७७ मा परीक्षार्थीको भौतिक उपस्थितिबिना नै विद्यालयको मूल्याङ्कनका आधारमा एसईई परीक्षाको नतिजा प्रकाशित गरिएको थियो । यो विशिष्ट अवस्था थियो तर यस वर्ष कोरोना महामारी लभग सकिएको छ । त्यसैले परीक्षार्थीको भौतिक उपस्थितिमा नै यो परीक्षा सञ्चालन हुँदैछ । यसबाट पक्कै पनि विद्यार्थीले आर्जन गरेको ज्ञान र सीपको उचित मूल्याङ्कनको वातावरण तयार हुने अवसर प्राप्त भएको मान्नुपर्ने हुन्छ । गत साल पाँच लाखभन्दा बढी परीक्षार्थीले एसईई परीक्षाको फारम भरेकोमा निश्चित रूपमा यस पटक परीक्षार्थीको सङ्ख्यामा बढोत्तरी हुनेछ । मुलुकभरि दुई हजारभन्दा बढी परीक्षा केन्द्रको व्यवस्था गरेर गरिने यस पटक ११ हजारभन्दा बढी विद्यालयका विद्यार्थीहरूले उच्च माध्यमिक तहको शिक्षाका लागि गन्तव्य तय गर्ने अनुमान गर्न सकिन्छ । यसै सन्दर्भमा विगतका परीक्षाका तुलनामा परीक्षा बोर्डले एक कानुन तर्जुमा गरेर प्रदेश सरकारलाई एसईई परीक्षा सञ्चालनका लागि विभिन्न जिम्मेवारी तथा अधिकार प्रदान गर्ने तयारी गरिररहेको समाचारसमेत सार्वजनिक भइसकेको छ । यसअन्तर्गत उत्तरपुस्तिका परीक्षण, नम्बर चढाउनेजस्ता कार्य प्रदेश सरकारअन्तर्गतका सम्बन्धित कार्यालयले नै गर्नेछन् । यसैगरी प्रदेश सरकारलाई आफ्नो अनुकूलको समयमा परीक्षाको नतिजा प्रकाशन गर्ने अधिकार पनि हुनेछ । यी अधिकार तथा जिम्मेवारीका कारण प्रदेश सरकारका सम्बन्धित कार्यालय बढी जिम्मेवार तथा अधिकार सम्पन्न हुने अपेक्षा गर्न सकिन्छ । नयाँ प्रावधानबाट एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशनमा चाप कम भएर व्यवस्थित हुने अपेक्षा पनि गर्न सकिन्छ तर यसमा विगतमा जस्तो एसईईको गुणस्तर भने कुनै पनि अवस्थामा कायम राखिनुपर्छ । शिक्षाको गुणस्तर खस्कनु भनेको राष्ट्रको भविष्यप्रति गम्भीर नहुनु हो । कक्षा १० को यस अन्तिम परीक्षा एसईई विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि नयाँ मार्गहरूको दिशानिर्देश गर्ने सम्बन्धमा निकै महत्वपूर्ण आयामका रूपमा रहँदै आएको छ । यसैबाट विद्यार्थीहरूले आफ्नो भविष्यका लागि कुन प्रकारको शिक्षा ग्रहण गर्ने उपयुक्त निर्णय गर्न सक्षम हुन्छन् । यस अर्थमा मुलुकको समग्र विकासमा सघाउ पु-याउने दिशा तय गर्ने शिक्षा माध्यमका रूपमा पनि लिन सकिन्छ एसईईलाई । यस परीक्षामा सहभागी हुने सबै परीक्षार्थी कडा मिहिनेत तथा परिश्रमका साथ तयारी गर्नुको कुनै विकल्प छैन । रचनात्मक तथा तार्किक लेखन शैली, अध्ययनशील एवं विवेकपूर्ण व्यवहार नै विद्यार्थीका सफलताका सूत्र हुन् । विगतमा जस्तो पुराना परीक्षाका प्रश्नपत्र हल गरेर तथा गेस पेपर पढेकै भरमा उत्तीर्ण हुन कठिन हुँदैछ । विगतका प्रश्नपत्र दोहरिएर आउने कारणले विद्यार्थीमा सिर्जनात्मक शैलीको दाँजोमा यस्ता प्रश्न हल गर्ने बानी बस्दै गएकाले सम्बन्धित निकायले अब पटकै पिच्छे बेग्लै प्रश्नपत्रको व्यवस्था गर्ने नीति लिने भएको छ । यसबाट विद्यार्थीमा घोकन्ते प्रवृत्तिभन्दा सिर्जनात्मक तवरले अध्ययनलाई अगाडि बढाउने प्रवृत्तिले प्रश्रय पाउनेछ । यसलाई बोर्डको स्वागतयोग्य कदमका रूपमा लिन सकिन्छ । मिहिनेत अनि परिश्रमको समिश्रणबाट नै विद्यार्थीले भविष्यका सुनौला दिन रेखाङ्कन गर्न सक्छन् । राष्ट्रका कर्णधार विद्यार्थीले शान्ति र व्यवस्थित वातावरणमा परीक्षा दिन पाउनुपर्छ । यस पटकको एसईई परीक्षाका सबै परीक्षार्थीलाई सफलताको हार्दिक शुभकामना ।