गाजामा ३४ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु
गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या ३४ हजार नाघेको बताएको छ । मन्त्रालयले एक विज्ञप्तिमा इजरायली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ६३ जना घाइते भएको बताएको छ ।
केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु
केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमान्डरको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।
टर्कीमा ५.६ म्याग्निच्युडको भूकम्प
टर्कीको उत्तरी प्रान्त टोकाटमा बिहीबार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको विपद् व्यवस्थापन प्राधिकरण एएफएडीले जनाएको छ । साँझ ६ बजेर ११ मिनेटमा भूकम्प गएको हो ।
आठ महिनामै खारेज भयो कार्यविधि संशोधन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चलन कार्यविधि, २०७६ को पहिलो संशोधन खारेज गरेको छ । गत असोज ७ गते संशोधन बिहीबार बसेको मन्त्रीस्तरीय निर्णयबाट खारेज गरिएको हो । गत पुस २४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक रोजगारी प्रवर्धन, वैदेशिक रोजगारी व्यवस्थापन र सामाजिक सुरक्षालगायतका विषयमा मन्त्रालयलाई १६ बुँदे निर्देशन दिनुभएको थियो ।
नेपालको ऊर्जा क्षेत्रीयस्तरमै महत्वपूर्ण
अर्थमन्त्री वर्षमान पुनले नेपालले जलविद्युत्मा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवर्धनका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिकामा रहनुभएका अर्थमन्त्रीले ‘एसियामा नवीकरणीय ऊर्जा सङ्रक्रमण’ शीर्षक सत्रलाई सम्बोधन गर्दै नेपालको बिजुली आन्तरिक खपत मात्र नभई छिमेकी भारत र बङ्गलादेशसमेत निर्यात हुन लागेको जानकारी गराउनुभयो । सौर्य ऊर्जासँगै जलविद्युत्को क्षमतालाई पूर्ण रूपमा उपयोग गर्ने प्रयासमा नेपाल रहेको पनि उहाँले बताउनुभयो ।
बाढीका कारण ७० जनाको ज्यान गयो
अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी घाइते भएको पुष्टि भएसँगै बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् अधिकारी मुल्लाह जानान स्याकले बताउनुभएको छ ।
समुद्रमा बेपत्ता युवाको शव भेटियो
सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो ।
जापानलाई ३८ अर्ब अमेरिकी डलरको व्यापार घाटा
आर्थिक वर्ष २०२३ मा जापानको व्यापार घाटा एक वर्ष अघिको तुलनामा करिब ७० प्रतिशतले घटेर ५.८९ ट्रिलियन येन (लगभग ३८ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।
नेत्री सुकीलाई कारागारबाट सारेर घरमा नजरबन्द
जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई कारागारबाट घरमा नजरबन्द गरिएको एक सैन्य अधिकारीले बुधबार बताएका छन् ।