• १० कात्तिक २०८१, शनिबार

साउदी अरबमा ‘करारका श्रमिकमाथि ‘एजेन्ट’ को शोषण’

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक ८ गते । साउदी अरबमा रहेको क्यारेफोरहरूमा करारमा काम गर्ने आप्रवासी श्रमिकमाथि साउदीको श्रमिक भर्ती गर्ने एजेन्टबाट आर्थिक, शारीरिक र मानसिक शोषण हुने गरेको एक अध्ययनले देखाएको छ । 

क्यारेफोर फ्रान्सेली खुद्रा व्यवसायी संस्था हो । सो संस्थाको अनुमति लिएर विभिन्न देशमा आउटलेट सञ्चालनमा छन् । 

साउदीको श्रमिक भर्ती गर्ने एजेन्टका कार्यालयमा भएका दुव्र्यवहारलाई पर्दाफास गर्दै अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले सन् २०२३ मा प्रकाशन गरेको प्रतिवेदन हालै मात्र सार्वजनिक भएको हो । नेपाल, भारत र पाकिस्तानका १७ जना पुरुषले दिएको अन्तर्वार्ता र जानकारीमा आधारित सो प्रतिवेदन तयार गरिएको हो । 

ती श्रमिक रियाद, दमाम र जेद्दाहका विभिन्न क्यारेफोर साइटमा सन् २०२१ देखि २०२३ सम्म काम गरेका थिए । ती श्रमिकमध्ये सबै जना आपूर्ति कम्पनीद्वारा काममा लगाइएका थिए । 

रोजगारी सुनिश्चित गर्नका लागि श्रमिकले आफ्नो देशमा भर्ती एजेन्टहरूलाई औसत एक हजार दुई सय अमेरिकी डलर शुल्क तिरेका थिए । त्यसो गर्नका लागि उनीहरूले प्रायः उच्च ब्याजदरमा ऋण लिएका थिए तर साउदी कानुन र माजिद अल फुट्टैमको आफ्नो नीतिले पनि शुल्क लिन निषेध गरेको छ । 

प्रतिवेदनमा साउदी अरबमा ती श्रमिकले कठोर परिश्रम र लगातार कम पारिश्रमिक पाउने समस्याको सामना गरेको, उनीहरूले नियमित रूपमा दैनिक २० किलोमिटरभन्दा बढी हिँड्नुपर्ने, हप्तामा ६० घण्टासम्म काम गर्नुपर्ने, कहिलेकाहीँ विशेष गरी ‘तलब सप्ताह’ र रमजानको महिना जस्तो व्यावसायिक कारोबार धेरै हुने समयमा दिनको १६ घण्टासम्म श्रम गर्नुपर्ने स्थिति रहेको उल्लेख छ ।