रेमिट्यान्स खातामा थप ब्याज
बैङ्किङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकम बैङ्क तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत/मुद्दती खातामा जम्मा गरेमा कम्तीमा एक प्रतिशत थप ब्याज प्राप्त हुने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीको बैङ्किङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकम बैङ्क तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत/मुद्दती खातामा जम्मा गरेमा कम्तीमा एक प्रतिशत थप ब्याज प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
बैङ्कहरूबाट तरलता प्रशोचन गर्दै राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले आइतबार फेरि बजारबाट २० अर्ब रुपियाँ खिच्ने भएको छ । बैङ्किङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैङ्कले आइतबार फेरि बजारबाट तरलता प्रशोचन गर्न लागेको हो । राष्ट्र बैङ्कले आइतबार रिभर्स रिपो जारी गरी २० अर्ब रुपियाँ तान्न लागेको हो ।
दस अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
नेपाल राष्ट्र बैङ्कले १० अर्बको छ वर्ष अवधिको विकास ऋणपत्र जारी गर्ने भएको छ । विकास ऋणपत्र २०८६ (ङ) बोलकबोल प्रक्रियाद्वारा निष्कासन गरिने राष्ट्र बैङ्कले जनाएको छ । असार ५ गते बोलकबोल हुने विकास ऋणपत्रमा बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले बोलकबोलमार्फत खरिद गर्न सक्ने सोमबार जारी गरिएको सर्कुलरमा उल्लेख छ । यो ऋणपत्र धितो राखी कर्जा लिनदिन पाइने बताइएको छ ।
नियमन नहुँदा सहकारीमा जोखिम बढ्दै
प्रदेश र स्थानीय तहमा हस्तान्तरित सहकारी संस्थाको नियमन तथा अनुगमन हुन नसक्दा जोखिम बढ्ने देखिएको छ । मुलुक सङ्घीयतामा गएसँगै सरकारले कार्यक्षेत्रका आधारमा सहकारी संस्थालाई तीनै तहको सरकारको मातहतमा राख्दा सहकारीहरूको नियमन र अनुगमन पक्ष कमजोर भई जोखिम बढ्ने देखिएको हो । सङ्घीय सरकारले छ वर्षअघि नै सहकारीहरूको अभिलेख स्थानीय तहसम्म हस्तान्तरण गरिसकेको छ । जसका कारण ३० हजार सहकारीमध्ये २३ हजार स्थानीय सरकार मातहतमा पुगेको, छ हजार प्रदेश सरकारसँग र १२५ वटा मात्र सङ्घमा रहेका छन् ।
विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैंकको तयारी
केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताउनुभयो ।
एभरेष्ट बैङ्कद्वारा दलदले नवलपरासीमा १२६औँ शाखा उद्घाटन
एभरेष्ट बैङ्क लिमिटेडले नवलपरासीको दलदलेमा १२६औँ शाखा सञ्चालनमा ल्याएको छ । देशका विभिन्न गाउँ तथा सहरमा रहेका ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ आज (सोमबार) दलदलेमा बैङ्कले आफ्नो १२६ औँ शाखा उद्घाटन गरेको हो ।
वैदेशिक लगानी एघार अर्बले घट्यो
विश्व अर्थतन्त्रमा देखिएको सङ्कटको प्रभाव नेपाल भित्रिने वैदेशिक लगानीमा पनि देखिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (वैशाख) सम्म नेपाल भित्रिने त्यस्तो लगानी करिब ११ अर्ब रुपियाँले घटेको पाइएको हो । बैङ्कको तथ्याङ्क अनुसार वैशाखसम्म नेपालले छ अर्ब १६ करोड २९ लाख रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्राप्त गरेको छ । जब कि गत आर्थिक वर्षको वैशाखसम्म १७ अर्ब आठ करोड ८९ लाख रुपियाँ विदेशी लगानी भित्रिएको थियो ।
धितोपत्र बजार पुँजीकरण साढे छब्बिस खर्ब
चालु आर्थिक वर्षको वैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण २६ खर्ब ५७ अर्ब ७६ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बजार पुँजीकरण ३३ खर्ब ४३ अर्ब ५६ करोड रुपियाँ रहेको थियो । नेपाल राष्ट्र बैङ्कले शुक्रबार प्रकाशित गरेको चालु आव २०७९/८० को १० महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार २०८० वैशाखमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २५३ पुगेको छ ।
मूल्यवृद्धि वाञ्छित सीमामाथि, शोधनान्तर स्थिति बचतमा
चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा सात दशमलव ४१ प्रतिशत पुगेको हो ।
मुद्दती निक्षेपमा लगानी थप्दै राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा करिब डेढ अर्ब रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम ‘क’ वर्गका वाणिज्य बैङ्क, ‘ख’ वर्गका विकास बैङ्क र ‘ग’ वर्गका फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
मर्जर तथा प्राप्तिमा सहभागी बैङ्क तथा वित्तीय संस्थालाई सहुलियत
नेपाल राष्ट्र बैङ्कले गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी वाणिज्य बैङ्कहरूलाई २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा विभिन्न छ वटा सुविधा प्रदान गर्ने भएको छ । राष्ट्र बैङ्कले नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन/परिमार्जन/थप गरी सुविधा थप गरेको हो ।
वाणिज्य बैङ्क र एनटिभीबिच सम्झौता
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र नेपाल टेलिभिजनबिच व्यवसाय प्रवर्धन गर्न टिभिसी प्रसारण गर्ने सम्झौता भएको छ । आइतबार आयोजित कार्यक्रममा बैङ्क का प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले हस्ताक्षर गर्नुभएको हो । सम्झौतापछि राष्ट्रिय वाणिज्य बैङ्कले उपलब्ध गराएको टिभिसी नेपाल टेलिभिजनबाट दैनिक १६ पटक समाचार अगाडि तथा बिचमा प्रसारण गर्ने छ ।
डेढ लाखलाई पाँच अर्ब ७७ करोड पुनर्कर्जा
नेपाल राष्ट्र बैङ्कले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जातर्फको लगानी २०७९ चैत मसान्तमा पाँच अर्ब ७७ करोड रुपियाँ रहेको छ । २०७९ चैत मसान्तमा एक लाख ४७ हजार ८०७ ऋणीलाई प्रवाह भएको दुई खर्ब पाँच अर्ब ११ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको राष्ट्र बैङ्कले जनाएको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार दुई सय ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ६५ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ७५१ महिला उद्यमीलाई प्रवाह भएको ६२ अर्ब २८ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ ।
नविल बैङ्कको ३८ शाखा एकसाथ सञ्चालनमा
नविल बैङ्कले एकसाथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार बैङ्क स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा एक कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो ।
बहसमा संसद् विकास कोष
करोडको सांसद विकास कोषलाई दुई वर्षअघि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०७७/७८ को बजेटमार्फत खारेज गर्नुभएको थियो । अहिले सांसद कोष पुनः ब्युँताउँदा यसको अर्थ के हो भन्ने छलफलको विषय बनेको छ ।
१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट (पूर्णपाठ)
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गर्नुभएको छ।
सहकारीमा जनताको झन्डै पाँच खर्ब निक्षेप
सहकारी संस्थामा सर्वसाधारणको कुल निक्षेप झन्डै पाँच खर्ब रुपियाँ पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्ममा देशभर सञ्चालनमा रहेका ३१ हजार ३७३ सहकारीमा चार खर्ब ७८ अर्ब तीन करोड रुपियाँ रहेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९÷८० का अनुसार सहकारीमा सेयर सदस्य सङ्ख्या ७३ लाख ८१ हजार २१८ रहेको छ भने करिब साढे ३१ हजारको सङ्ख्यामा रहेका सहकारीको सेयर पुँजी ९४ अर्ब १५ करोड रुपियाँ रहेको छ ।
पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँछ : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको छ।
आर्थिक सर्वेक्षण : बैङ्कमा पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता (पूर्णपाठ)
आज सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच बढ्दै गएको देखिएको छ। मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गए पनि बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार भएको कारण वित्तीय पहुँच वृद्धि हुँदै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा सीमित भएको छ।
केन्द्रीय बैङ्कले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने
नेपाल राष्ट्र बैङ्कले २९ अर्ब १३ करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैङ्कले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
लघुवित्तका ऋणीलाई सहुलियत
लघुवित्त वित्तीय संस्थाका ऋणीले पनि सहुलियत पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थाका ऋणीलाई पनि सहुलियत दिएको हो । राष्ट्र बैङ्कले एकीकृत निर्देशन संशोधन गर्दै लघुवित्त कम्पनीका ऋणीले तिर्न बाँकी ब्याजको न्यूनतम पाँच प्रतिशत ब्याज रकम तिरेर आफ्नो ऋणको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्था गरिदिएको हो । राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई असार मसान्तसम्म कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको थियो ।
तरलता सहज हुँदै, ब्याजदर अझै घट्ने
नेपाल बैङ्कर्स सङ्घ (एनबिए) का अध्यक्ष सुनील केसीले ब्याजदर अझै घट्ने बताउनुभएको छ । सङ्घले सोमबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले तरलता सहज हुँदै गएको र ब्याजदर अझै घट्ने बताउनुभयो । बैङ्क तथा वित्तीय संस्थाको पुँजी पर्याप्त अनुपात कसिलो हुँदै गएकाले कर्जा विस्तार घटेको सङ्घका अध्यक्ष केसीले बताउनुभयो ।
पाँच विकास बैङ्क र फाइनान्स कारबाहीमा
तोकिएको कर्जा/निक्षेप अनुपात (सिडी रेसियो) उल्लङ्घन र अनिवार्य नगद अनुपात कायम नगर्ने पाँच विकास बैङ्क र एक फाइनान्स कम्पनीलाई नियामक निकाय नेपाल राष्ट्र बैङ्कले कारबाही गरेको छ । तेस्रो त्रैमासमा कर्पोरेट डेभलपमेन्ट बैङ्क, साल्पा विकास बैङ्क, नारायणी डेभलपमेन्ट बैङ्क, सप्तकोशी डेभलपमेन्ट बैङ्क, नारायणी डेभलपमेन्ट बैङ्क र मल्टिपर्पस फाइनान्सलाई राष्ट्र बैङ्कको नियम उल्लङ्घन गरेको भन्दै जरिवाना तिराइएको हो ।