काठमाडौं, जेठ २६ गते । चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा सात दशमलव ४१ प्रतिशत पुगेको हो ।
नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ४१ प्रतिशत रहेको छ ।
राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार यो अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ । त्यस्तै, कूल विदेशी विनिमय सञ्चिति रु १४ खर्ब ७० अर्ब ३३ करोड बराबर छ । विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ११ अर्ब २१ करोड बराबर हो ।
राष्ट्र बैङ्कका अनुसार १० महिना अवधिमा विस्तृत मुद्राप्रदाय छ दशमलव नौ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ । यो अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेर रु १० खर्ब पाँच अर्ब १८ करोड पुगेको छ ।
त्यस्तै, आयात १६ दशमलव आठ प्रतिशतले, निर्यात २४ दशमलव पाँच प्रतिशतले र कूल वस्तु व्यापार घाटा १५ दशमलव नौ प्रतिशतले घटेको छ । वैशाख मसान्तसम्ममा सङ्घीय सरकारको खर्च रु १० खर्ब ४७ अर्ब ७६ करोड र राजस्व परिचालन रु सात खर्ब ५६ अर्ब २५ करोड रहेको छ ।
यो अवधिसम्ममा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात दशमलव तीन प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव चार प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव तीन प्रतिशत रहेको छ ।
दश महिनामा भित्रियो रु १० खर्ब बढी विप्रेषण
चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्यामा बढोत्तरी भएको तथा वैधानिक तवरबाटै विप्रेषण भित्रन थालेकाकले आप्रवाहमा सुधार देखिएको हो । राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव पाँच प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव चार प्रतिशतले वृद्धि भई सात अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक दशमलव दुई प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ५१ दशमलव चार प्रतिशतले वृद्धि भई चार लाख २१ हजार दुई सय ७९ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा तीन दशमलव सात प्रतिशतले वृद्धि भई दुई लाख ३८ हजार नौ सय ७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या एक सय ८५ दशमलव पाँच प्रतिशतले बढेको थियो ।
केन्द्रीय बैङ्कका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु ११ खर्ब १० अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर शून्य दशमलव तीन प्रतिशतले बढेको थियो ।
विदेशी मुद्रा सञ्चिति १४ खर्ब ७० अर्ब
चालु आर्थिक वर्षको १० महिनामा रु १४ खर्ब ७० अर्ब ३३ करोड बराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार २०७९ साल असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २० दशमलव नौ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा रु १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकामा २०८० वैशाख मसान्तमा १७ दशमलव छ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु १० खर्ब ५६ अर्ब ३९ करोड रहेकामा २०८० वैशाख मसान्तमा २४ दशमलव एक प्रतिशतले वृद्धि भई रु १३ खर्ब १० अर्ब ६६ करोड पुगेको छ । बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु एक खर्ब ५९ अर्ब ४१ करोड रहेकामा २०८० वैशाख मसान्तमा शून्य दशमलव दुई प्रतिशतले वृद्धि भई रु एक खर्ब ५९ अर्ब ६८ करोड पुगेको छ । गत वैशाख मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव छ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को दश महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव दुई महिनाको वस्तु आयात र नौ दशमलव सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
चालु खाता घाटा रु साढे ५४ अर्ब, शोधनान्तर बचतमा
चालु आर्थिक वर्षको १० महिनामा सरकारको चालु खाता घाटामा देखिएको छ भने शोधनान्तर स्थिति बचतमा छ । वैशाख मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रु ५४ अर्ब ६७ करोडले घाटामा छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु ५ खर्ब ४५ अर्ब ६ करोडले घाटामा थियो ।
वैशाख मसान्तसम्ममा शोधनान्तर स्थिति रु २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा थियो ।
समीक्षा अवधिमा सरकारको पुँजीगत ट्रान्सफर २० दशमलव पाँच प्रतिशतले कमी आई रु ६ अर्ब ३६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु ४ अर्ब ३६ करोड मात्र आएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु ७ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु १६ अर्ब ६५ करोड थियो ।
गत वैशाख महिनामा नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)बाट ‘एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटी’ (इसीएफ) अन्तर्गत दोस्रो किस्ता वापतको रु ६ अर्ब ८८ करोड (अमेरिकी डलर ५ करोड २७ लाख) सहुलियतपूर्ण ऋण लिएको राष्ट्र बैङ्कको तथ्याङ्कबाट देखिन्छ ।
व्यापार घाटा रु १२ खर्ब चार अर्ब
चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलव नौ प्रतिशतले कमी आई रु १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ । राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिमा यस्तो घाटा २४ दशमलव नौ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौ दशमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव आठ प्रतिशत थियो । चालु आवको वैशाखसम्ममा कूल वस्तु आयात १६ दशमलव आठ प्रतिशतले कमी आई रु १३ खर्ब ३५ अर्ब ३२ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १५ दशमलव एक प्रतिशत, २१ प्रतिशत र १८ दशमलव छ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, पेट्रोलियम पदार्थ, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम एस विलेट, औषधि, अन्य मेशिनरी तथा पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ । समीक्षा अवधिमा कूल वस्तु निर्यात २४ दशमलव पाँच प्रतिशतले कमी आई रु एक सय ३० अर्ब ९० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५९ दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३३ दशमलव छ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः एक सय दशमलव छ प्रतिशत र आठ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।
निर्याततर्पm भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।
आयाततर्पm रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु एक खर्ब १९ अर्ब ६० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु एक खर्ब ८३ अर्ब ९४ करोड बराबरको थियो ।
वृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कूल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४ दशमलव नौ प्रतिशत र ४४ दशमलव पाँच प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगण्य अर्थात् शून्य दशमलव छ प्रतिशत छ । गत वर्षको सोही अवधिमा भएको कूल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.१ प्रतिशत, ०.०२ प्रतिशत र ५२.९ प्रतिशत थियो ।
समीक्षा अवधिमा भएको कूल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३ दशमलव दुई प्रतिशत, पुँजीगत वस्तुको आठ दशमलव चार प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८ दशमलव चार प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५२ दशमलव आठ प्रतिशत, १० दशमलव चार प्रतिशत र ३६ दशमलव आठ प्रतिशत थिए । रासस