नीति, नियम र कार्यक्रम बन्ने तर कार्यान्वयन नहुने अवस्था नेपालका लागि नयाँ नभएर चर्चामा मात्रै सीमित हुँदै आए पनि विद्युतीय सवारीसाधनको उत्पादन र त्यसलाई प्रयोगमा ल्याउने उद्देश्यका साथ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले लुम्बिनी प्रदेश सरकारको सहयोगमा विद्युतीय स्कुटर निर्माण गरेर देखाएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत् सञ्चालनमा आएको हो ।
वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईं (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ ।
बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भेरी अस्पतालका डा राजन पाण्डेलाई उक्त पुरस्कार प्रदान गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले निर्वाचनप्रतिको निष्ठालाई कमजोर पार्ने र निर्वाचनका विविध गतिविधिलाई दूषित पार्ने प्रवृत्ति लोकतान्त्रिक हुनै नसक्ने बताउनुभएको छ ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर एक लाख दुई हजार एक सय पुगेकोे छ । अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख दुई हजार पाँच सयमा कारोबार भएको थियो ।
स्थानीय तहको चुनाव आउन अब २५ दिन मात्र बाँकी रहँदा म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल र नेता गाउँगाउँमा पुगेर टोल भेला गर्दैछन् । राजनीतिक दलका कार्यक्रममा मतदाता कम र नेता कार्यकर्ता नै बढी देखिन्छन् ।
मङ्गलबारदेखि ७७ जिल्लाका ७५३ पालिकाका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ । कृषि गणनाका लागि पाँच हजार दुई सय गणक र एक हजार तीन सय सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी गराउनुभयो ।
साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भिड बढ्दै थियो । काखमा सन्तान च्यापेर आउने आमाहरूको उपस्थिति पनि बाक्लै थियो ।
काठमाडौं, वैशाख ५ गते । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले जारी गर्ने घोषणापत्र र प्रतिबद्धतापत्र तयारीका लागि पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले जिल्ला र पालिकास्तरमा सहजीकरण गरेको छ ।एमालेले यही वैशाख ९ गते एकै दिन राष्ट्रियस्तरमा घोषणापत्र र सबै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । परिषद्ले राष्ट्रिय कार्यशाखा आयोजना गरी प्रतिबद्धतापत्र तयारीका संयोजनका लागि हरेक पालिकाका लागि दुई दुई जनालाई प्रशिक्षण दिएको थियो । प्रशिक्षण प्राप्त परिषद्का सदस्यले पालिकास्तरमा सम्बन्धित कमिटीसँगको समन्वयमा काम गरिरहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।गत चैत १३ गते सम्पन्न एमाले स्थायी कमिटीको बैठकले घोषणापत्रमा सुझाव दिन सुझाव माग्ने निर्णय गरेको थियो भने चैत १६ गते अध्यक्ष केपी शर्मा ओलीले सबै पालिकाका नेता कार्यकर्तालाई भर्चुअलरुपमा सम्बोधन गर्नुभएको थियो । घोषणापत्र मस्यौदाका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरिएको छ ।यसैबीच निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रिया र घोषणात्रबारे छलफल गर्न एमाले केन्द्रीय सचिवालयको बैठक सोमबार बेलुका ६ बजे बस्दैछ ।
काठमाडौं, वैशाख ५ गते । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर एक लाख दुई हजार पाँच सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख दुई हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख एक हजार पाँच सय थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार ४२० पुगेको महासङ्घले जनाएको छ ।बजारमा सुनचाँदीका आयातमा बैंकहरुले एलसी नखोलेपछी यसको प्रत्यक्ष प्रभाव देखिएको छ । विवाहको मौसम सुरु भएकाले सुन तथा चाँदीका माग बढ्ने हुँदा सरकारले यसको वैकल्पिक उपायमा ध्यान दिन व्यवसायीहरुले माग गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८५ डलर आसपास कारोबार भइरहेको छ ।
बझाङ, वैशाख ४ गते । जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरकाे जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा विनोद बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिनुभयो । यसैगरी घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ का १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका–२ का १९ वर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा छन् । घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्जुको उपचार हुन नसकेपछि धनगढी सिफारिस गरिएको छ । प्रहरीका अनुसार जीपमा तीन महिला र छ पुरुष सवार थिए ।जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टसहितको टोली घटनास्थलतर्फ गएको र नेटवर्कको समस्याका कारण घटना के–कति कारणले भएको हो भन्ने विवरण नखुलेको सूचना अधिकारी चौधरीले बताउनुभयो ।
काठमाडौं, वैशाख ३ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही वैशाख ९ गते (२२ अप्रिल २०२२) देखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ । वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडान सुरु गर्न लागिएको जानकारी दिनुभयो । “वैशाख ९ गतेदेखि निगमले रियाद गन्तव्यमा उडान सेवा सञ्चालन गर्दैछ यो निगमका लागि निकै गौरबको विषय हो, लामो प्रयासपछि निगमले साउदी अरेवियाका विभिन्न गन्तव्यमा पनि उडान अनुमति पाएको छ, सुरुमा रियाद र क्रमशः अन्य गन्तव्यमा पनि उडान विस्तार गर्ने योजना छ ”, कार्यकारी अध्यक्ष अधिकारीले भन्नुभयो ।निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो । रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स्ले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो । निगमले पहिलो चरणमा वैशाख ९ गतेदेखि काठमाडौं–रियाद–काठमाडौं सातामा दुई उडान गर्नेछ । सातामा तीन दिन उडान गर्ने योजना रहेपनि हाललाई सातामा दुई र छिट्टै सातामा नियमित तीन उडान गरिने भएकोे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहल एवम् निर्देशन बमोजिम निगमले रियाद गन्तव्य विस्तार गर्न सफल भएको हो । उक्त क्षेत्रको उडान अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्षसहितका कर्मचारीहरू गत फागुन तेस्रो साता साउदी अरेबिया पुगेर उडान अनुमतिको प्रक्रिया थालनी गरेका थिए । एकतर्फी ३७ हजार भाडा काठमाडौं–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर रु ३७ हजार कायम गरिएको जनाइएको छ । निगमका प्रवक्ता अर्चना खड्काले हाललाई एकतर्फी भाडादर कायम गरिएको बताउनुभयो । निगमले साउदी अरेबिया उडानका लागि वाइडबडी र न्यारोबडी दुवै जहाजले उडान गर्नेगरी ‘स्लट’ पाएको छ । उद्घाटन उडान वाइडबडीबाट गरिने र पछि नियमित उडान पनि वाइडबडी जहाजमार्फत हुने उहाँले जानकारी दिनुभयो । “हामीले वाइडबडी जहाजबाटै उडानका लागि मागेका हौँ, अहिलेलाई न्यारोबडीबाटै उडान हुन्छ, पछि पुनः वाइडबडी जहाजबाटै नियमित उडान गर्छौं”,उहाँले भन्नुभयो ।यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडादर, यात्रुलाई सुविधा ‘इनफ्लाइट’ खाना तथा रियादबाट फर्कंदा यात्रुले ४० केजी लगेज सुविधा पाउनेछन् । काठमाडौं–रियाद एकतर्फी उडान अवधि छ घण्टा १५ मिनेट र रियाद–काठमाडौं उडान अवधि चारघण्टा ५० मिनेटको हुने निगमले जनाएको छ । नेपाली कामदारको बाहुल्य रहेको मुलुक साउदी अरबको उडानले निगमलाई आर्थिक रुपमा लाभ हुनसक्ने अनुमान गरिएको छ । विभिन्न पेसा व्यवसायमा पनि साउदीका विभिन्न गन्तव्यमा नेपाली छन् । अन्य मुलुकबाट ट्रान्जिट भएर आउन पनि यात्रुलाई सहज हुने भएकाले यो गन्तव्य उपयोगी हुने विश्वास गरिएको छ ।आठ देशका १० गन्तव्यमा उडान विस्तारनेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ । निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो । निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्लालालम्पुर, हङ्कङ, बैङ्कक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।यसअघि साउदीमा हिमालय एयरलाइन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ । साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो । तर जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन । निगम लामो समयको प्रयासपछि रियादमा उडान भर्न सफल भएको र यो अवसर पाउँदा निगम निकै गौरवान्वित भएको जनाइएको छ । देशको शान र पहिचान जोडिएको निगमको अन्तर्राष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजावाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ ।कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढीकरण र बजार विस्तारमा निगम व्यवस्थापन अहोरात्र लागिपरेको बताउनुभयो । व्यवस्थापनको मेहनत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउन निगम अग्रसर रहेको उहाँको भनाइ जियो । अन्य काममा पनि निगमभित्रका कर्मचारीहरुको सहयोग र तालुकदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा केही नतिजामुखी काम भएको पनि अध्यक्ष अधिकारीको जिकिर थियो ।
काठमाडौं, वैशाख ३ गते । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको आजको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजक तोकेको छ । काठमाडौंका लागि कमिटीका उपाध्यक्ष विदुर कार्की, ललितपुरमा उपसचिव चन्द्र रिजाल र भक्तपुरमा उपसचिव उर्मिला सुनुवारले संयोजन गर्नुहुने भएको छ ।बैठकले विशेष प्रदेश मातहतका मजदुर विशेष जिल्ला कमिटी, पेसागत विशेष जिल्ला कमिटी, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, इलाका र शाखालाई परिचालन गर्ने निर्णय गरेको छ ।उपत्यकामा रहेका विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरु यी जिल्ला कमिटी र अन्तर्गत कमिटीहरुमा सङ्गठित छन् । प्राध्यापक, कानुन व्यवसायी, चिकित्सक तथा स्वास्थ्यकर्मी, पत्रकार, विभिन्न निकाय तथा सङ्घसंस्थामा कार्यरत कर्मचारीहरु, हजारौँको सङ्ख्यामा मजदुर, विद्यार्थी, युवा यिनै विशेष कमिटीअन्तर्गत सङ्गठित छन् । बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य तथा कमिटीका इन्चार्ज सुजिता शाक्यले आसन्न स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक आ–आफ्नो बसोबास रहेको स्थानमा खट्न सबैलाई निर्देशन दिनुभयो ।कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका कमिटीका सहइन्चार्ज वीना श्रेष्ठले स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्न सबै पार्टी सदस्यहरु आ–आफ्नो क्षेत्रमा सङ्गठित र समन्वय गरी खट्नुपर्ने बताउनुभएको थियो ।
काठमाडौं, वैशाख ३ गते । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । काठमाडौंमा शनिबार भएको नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान) को ४८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले ठूलो सहयोगदातामध्ये एक जापानले नेपाललाई शर्त बिना नै सहयोग गरिरहेको छ भन्नुभयो ।विपद् तथा महामारीमा समेत जापानले उल्लेखनीय सहयोग गरेको जानकारी दिँदै मन्त्री खड्काले त्यहाँको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्नेमा जोड दिनुभयो । नेपाल–जापानबीच सन् १९५६ मा सम्बन्ध स्थापित भए पनि त्यसको दुई वर्षअघिदेखि नेपाललाई सहयोग गर्दै आइरहेको उहाँले जानकारी गराउनुभयो । सुरुआती चरणमा जापानले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै समृद्ध मुलुक बन्न सफल जापानको क्रियाकलाप नेपालका लागि अनुशरण गर्न लायक रहेको मन्त्री खड्काले बताउनुभयो ।उहाँले अल्मुनाइसँग आबद्ध प्रतिनिधिलाई जापानमा सिकेको ज्ञान, सीप र क्षमताको भरपुर सदुपयोग गर्नसमेत आग्रह गर्नुभयो । मन्त्री खड्काले भन्नुभयो, “तपाईहरु नेपालका लागि बौद्धिक सम्पत्ति हुनुहुन्छ, आर्थिक, सामाजिक तथा सांस्कृतिक राजदूत पनि हुनुहुन्छ, त्यसको सदुपयोग गर्नुपर्छ ।” उहाँले चाखलाग्दो इतिहास बोकेको जापानबाट धेरै कुरा सिक्न सकिने पनि बताउनुभयो ।एशोसिएशन जापानमा अध्ययन भ्रमण, तालिममा सहभागी भएर फर्किएका नेपालीहरुको संस्था हो । यसले नेपाल जापानको मित्रतालाई सुदृढ र विकासमा योगदान पुर्याउँदै आएको छ । सन् १९७३ मा स्थापना भएको एशोसिएशनमा जापानमा कार्यरत एक हजार ३०० नेपाली सदस्य छन् । एशोसिएशनले भ्रमणमा जाने नेपालीलाई अनुशिक्षण कार्यक्रम सञ्चालनदेखि ललितपुर सिन्धुपाल्चोकलगायत विभिन्न क्षेत्रमा कृषि, शिक्षा स्वास्थ्यक्षेत्रमा सहयोग गर्दै आइरहेको छ । एशोसिएशनद्वारा प्रकाशित मिलन पत्रिका विमोचन गरिएको सो कार्यक्रममा एशोसिएशनका अध्यक्ष रामचन्द्र भूसाल, उपाध्यक्ष केदार पौडेल, महासचिव शान्तिलक्ष्मी शाक्य, नेपालका लागि जापानी राजदूत किकुता युताकालगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएकोे थियो ।