समयमा विद्युतको महसुल नबुझाएको भन्दै आज तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालका अनुसार कार्यालयको चार महिना र लामो समयदेखिकोे सडक बत्तीको बक्यौता रकम नबुझाउँदा लाइन काटिएको हो ।
सिबी अधिकारी काठमाडौँ, वैशाख १४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पु¥याएको छ । विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले जानकारी दिनुभयो । प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो । यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने तथा कोभिड–१९ महामारीपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ । “तराईका रात्रिकालीन उडानयोग्य विमानस्थलमा राति १२ बजेसम्म उडान सञ्चालन गर्न लागेका छौँ, यसबाट हवाई यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि पनि बढ्नेछ”, महानिर्देशक अधिकारीले भन्नुभयो । अन्तर्राष्ट्रिय उडानमा पनि आगामी जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४सै घण्टा उडान गर्ने प्राधिकरणले तयारी गरेको छ । “अब कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन समयमा बन्द हुँदैनन्, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएपछि २४सै घण्टा चल्छ”, उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिन चार घण्टा कुर्नुपर्ने बाध्यता छ । यात्रुको अत्यधिक चाप व्यवस्थापन गर्न विमानस्थललाई कठिनाइ भइरहेको छ । विमानस्थलमा अहिले दैनिक दुवैतर्फी गरेर कूल ४२० उडान भइरहेको छ । अधिकारीले भन्नुभयो, “अन्तर्राष्ट्रिय कुनै नयाँ जहाज आउन खोजेमा स्लट दिनसक्ने अवस्था छैन । हामीले सेवा दिन सक्दैनौँ भन्नुपर्ने अवस्था छ ।” नेपालमा वार्षिक १० लाख हवाई यात्रु बढिरहेका छन् । नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय हवाई यात्रुदर वर्षेनी १० प्रतिशतले वृद्धि भइरहेको प्राधिकरणले जनाएको छ । छिमेकी मुलुक भारत र चीन तथा एशिया प्रशान्त क्षेत्रका मुलुकमा यही अनुपातमा हवाई यात्रु बढिरहेका छन् । पछिल्लो समय बढ्दो यात्रुको चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकरूपमा घण्टौँसम्म एयर ट्राफिक जाम हुँदा यात्रुले सास्ती व्यहोर्दै आइरहेका छन् । वार्षिक कुल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिड–१९ महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्न सक्ने अवस्था थिएन । महामारीपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ । उडान चाप बढ्नु सुखद पक्ष हो । हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ । यस्तो छ एयरलाइन्सको तयारी प्राधिकरणले तराईका रात्रिकालीन उडानयोग्य विमानस्थल राति १२ बजेसम्म खुला गर्ने निर्णय गरेसँगै आन्तरिक उडानमा सेवा सञ्चालन गरिरहेका एयरलाइन्सले उडान विस्तारको तयारी थालेका छन् । उडान तालिका थप्दा यात्रुको सङ्ख्या कति रहने र उनीहरूलाई विमानस्थलबाट अवतरण भएपछि यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा छलफल गरिरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताउनुभयो । उहाँले प्राधिकरणको निर्णयले नियमितसँगै चार्टर्ड उडान गर्न चाहनेका लागि सहज हुने बताउनुभयो । “उडानअवधि बढाउनु स्वागतयोग्य हो, यसलाई व्यावहारिक, व्यवस्थित र प्रभावकारी बनाउन जरुरी छ । रात्रिकालीन उडान गर्ने जहाजलाई ल्यान्डिङ, पार्किङलगायतमा सहुलियत गरेर प्रोत्साहित गर्ने तथा यात्रुको सुविधालाई ध्यान दिन सकिए फलदायी हुन्छ”, प्रवक्ता बर्तौलाले भन्नुभयो । अहिले सामान्यतायः ८ देखि ९ बजेसम्म आन्तरिक उडान सञ्चालन हुने गरेको छ । रात्रिको समयमा यात्रु कम पाउने भए पनि दिउँसो प्रतिकूल मौसम, उडान ढिलालगायत कारणले उडान समयमै नभएका यात्रुका लागि उपयोगी हुने कम्पनीको विश्वास छ । विमानस्थलबाट यातायातको सहजता बढाउन र यात्रुको सुरक्षालाई ध्यान दिनसकिएको खण्डमा रात्रिकालीन उडान प्रभावकारी हुने एयरलाइन्सको भनाइ छ । श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरलले रात्रिकालीन उडानका लागि एयरलाइन्स तयार भए पनि विमानस्थलबाट अन्य क्षेत्रमा जाने यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा पनि तयारी गरिनुपर्ने धारणा राख्नुभयो । बुद्धएयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले प्राधिकरणको रात्रिकालीन उडान विस्तार गर्ने निर्णय सकारात्मक भएको र यसले आन्तरिक उडानलाई थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले राति १० बजेसम्म उडान गरिरहेका छौँ, १२ बजबेसम्म उडान गर्दा एयरलाइन्सन र यात्रु दुवैलाई सहजता हुन्छ, त्यसका लागि आवश्यक सुरक्षा, यातायातलगायतको प्रबन्ध जरुरी छ ।” एयरलाइन्सको अनुभवमा अहिले पनि रात्रिकालीन उडानमा यात्रुको ‘मुभमेन्ट’ राम्रो छ । तराईका विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्जबाट यात्रु बढी नै पाइने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ हवाई सेवा प्रदायकले उडान भर्दै आएका छन् ।
नेपालगञ्ज, वैशाख १४ गते । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गर्नुभएको छ । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराउनुभएको हो । सो वडाको वडाध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिनुभएको छ । काँग्रेसबाट उम्मेदवारी दिनुभएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गर्नुभएको हो । उहाँ हाल तरुण दल बाँकेको सचिव हुनुहुन्छ । विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष हुनुहुन्छ । । उहाँ उपमहानगरपालिकाको प्रवक्तासमेत हुनुहुन्थ्यो । वडाध्यक्ष हुनुअघि प्रमोद कानुन व्यवसायी हुनुहुन्थ्यो त्यस्तै कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ । नगरपालिकाको वडा नं ३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यतिबेला उहाँसँग ६५ मतले पराजित हुनुभएको थियो । माधव एमालेबाट तथा तारकेश्वर नेकपा (माओवादी) केन्द्र)बाट वडाध्यक्षका लागि भिड्दै हुनुहुन्छ । जिल्लाको आठ स्थानीय तहमा ४२१ पदका लागि दुई हजार ३२९ जनाको उम्मेदवारी परेको छ ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेता, कार्यकता एवं सबै भ्रातृ तथा शुभेच्छुक सङ्गठनमा आवद्धलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन अपिल गर्नुभएको छ । डा कोइरालाले आज विज्ञप्तिमार्फत यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सबै मिलेर कांग्रेसलाई विजयी बनाउने अभियानमा जुट्न आह्वान गर्नुभएको हो । निर्वाचनको सकारात्मक परिणामले प्रदेश र सङ्घीय निर्वाचनमा जितको आधार निर्माण गर्न सहज हुने उहाँले उल्लेख गर्नुभएको छ ।
यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनअन्तर्गत म्याग्दीमा २३७ पदका लागि ७५९ जनाले मनोनयन दर्ता गराएका छन् । म्याग्दीका ६ स्थानीय तह र ४५ वडाबाट निर्वाचित हुने पदका लागि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो । प्रमुख/अध्यक्षमा ३२, उपप्रमुख/उपाध्यक्षमा २८, वडाध्यक्षमा १६०, खुला सदस्यमा २८०, महिला सदस्यमा १२९ र दलित महिला सदस्यमा १३० जनाको उम्मेदवारी परेको छ । “दाबी–विरोध, छानविन, आवश्यक कारबाही र उम्मेदवारी फिर्ता लिने समय सकिएपछि कूल उम्मेदवार सङ्ख्या कायम हुनेछ ।”
आसन्न स्थानीय तह निर्वाचनका लागि पाल्पामा एक हजार १३३ जनाको उम्मेदवारी परेको छ । दुई नगरपालिका र आठ गाउँपालिकाका ८१ वडामा ४२५ पदका लागि उम्मेदवारी परेको हो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कल्पना पौडेलका अनुसार पालिका प्रमुख÷अध्यक्षमा ५१, उपप्रमुख÷उपाध्यक्षमा ३८, वडाध्यक्षमा २४४, महिला सदस्यमा १९७, दलित महिला सदस्यमा १८१ र खुला सदस्यमा ४२२ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन् ।
आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ । यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमतिपत्र वितरणका लागि आवश्यक परीक्षास्थल र सवारीसाधनका लागि प्रस्ताव आह्वान गरेको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव नेत्र शर्माका अनुसार यही वैशाख २ गते प्रयोगात्मक परीक्षाका लागि परामर्श सेवा प्रस्ताव आह्वान गरिएको छ । पन्ध्र दिनभित्र परेका प्रस्तावको अध्ययन गरी काम अघि बढाइने उहाँले बताउनुभयो । शर्माले भन्नुभयो, “हामीले गरेको तयारीअनुसार काम अघि वढाउन सकिएमा जेठ दोस्रो सातादेखि सवारी चालक अनुमतिपत्रको काम अघि बढ्छ ।” जिल्लामा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे साना मझौला र ठूला सवारीसाधनको चालक अनुमतिपत्र दिन लागिएको हो ।
संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने सो माछा संसारभर नै लोकप्रिय छ । नेपालमा वैदेशिक मुद्राको चाप परेको तथा कोरोना महामारीका कारण पर्यटक आवागमनसमेत कम भएका बेला नेपालमा भित्र्याइएको प्रशान्त महासागरको माछाबारे जिज्ञासा जाग्नु स्वाभाविकै हो ।
दोर्र्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गरेको छ ।
सत्ता साझेदार दलका साझा उम्मेदवार वसन्तकुमार श्रेष्ठले यसपटकको चुनावमा पनि बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का जनकराज पौडेलको सामना गर्नुपर्ने भएको छ । विसं २०७४ को चुनावमा दुई हजार २९५ मतले श्रेष्ठलाई पछि पार्दै पौडेल प्रमुखमा विजयी बन्नुभएको थियो । पौडेलले ११ हजार ६१४ र श्रेष्ठले नौ हजार ३१९ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसले पुनः श्रेष्ठ र एमालेले पौडेललाई उम्मेदवार बनाएपछि पुरानै प्रतिद्वन्द्वी आमनेसामने भएका हुन् । पाँच दलीय गठबन्धनका तर्फबाट श्रेष्ठ अघि बढ्नुभएको हो भने एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर पौडेललाई चुनावी मैदानमा उतारेको हो ।
स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा दुई हजार नौ जनाको मनोनयन दर्ता भएको छ ।
नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले विसं २०७२ वैशाख १२ गतेको अकल्पनीय विनाशकारी भूकम्पमा परी अकालमा ज्यान गुमाएका आफ्ना कर्मचारी तथा स्वयंसेवकको स्मृतिमा श्रद्धाञ्जलिसभा आयोजना ग¥यो ।
ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ ।
कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ । आर्थिक वर्ष २०७८÷७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन् । स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ताजाकोट गाउँपालिका वडा नं २, ३ र ४, मुगुको खत्याड गाउँपालिका वडा नं ८ र १० तथा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं २ औलो रोगको उच्च जोखिममा रहेका स्थानमा पर्दछन् । मध्यम जोखिममा हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ र ५, चङ्खेली गाउँपालिका–२, सर्केगाड गाउँपालिका–२, ताजाकोट गाउँपालिका–२, सुर्खेतको भेरीगङ्गा नगरपालिका–७, वीरेन्द्रनगर नगरपालिका–१०, गुर्भाकोट नगरपालिका–१३, लेकबेँसी नगरपालिका–७ र १०, पञ्चपुरी नगरपालिका–९ रहेका छन् ।
काठमाडौंको न्यूरोडमा भारीको खोजीमा नाम्लो बोकेर हिँड्दै गर्नुभएका ७३ वर्षीय ज्ञानबहादुर भण्डारीलाई पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको दोस्रो स्थानीय तहको निर्वाचनले छोएको छ ।