पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता कायम गर्न खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ।
काठमाडौं, जेठ १३ गते । गायक रामकृष्ण ढकालको स्वर रहेको गीत 'म हराएँ मनमनैमा' सार्वजनिक भएको छ । रोमान्टिक थिमको गीतमा सन्तोष भट्टराईको शब्द र हरी लम्सालको संगीत छ । गीतमा गरिमा र दीपेशको अभिनय देख्न सकिन्छ । सुरज श्रेष्ठको एरेन्ज रहेको गीतमा सुब्रत आचार्यले भिडियोको निर्देशन गर्नुभएको हो । भिडियोमा साइब्रत आचार्यको स्टोरी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।
प्रतिनिधिसभा सदस्य सुरेन्द्र कार्कीले देशका किसान आर्थिक रुपमा सशक्त नभए आमूल परिवर्तन हुन नसक्ने बताउनुभएको छ।
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले समयमै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्याउन माग गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले नीति तथा कार्यक्रममा जनस्वास्थ्यका विषयलाई समावेश गर्न नसकिएको बताउनुभएको छ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ।
काठमाडौं, जेठ १३ गते। प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदले धारणा राख्नेक्रम जारी छ। सांसद राजेन्द्र महतोले सरकारले हरेक वर्ष ल्याउने र छलफल गर्ने नीति तथा कार्यक्रममाथि असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले २०१३ सालदेखि पञ्च वर्षीय कार्यक्रम, २००७ सालदेखि वार्षिक बजेटेको अभ्यास देशमा भए पनि देशले विकासमा छलाङ मार्न नसकेको बताउनुभयो। “यो ७० वर्षको अभ्यास के छ ? ७० वर्ष पहिले र आजको अवस्थामा देशमा के परिवर्तन आयो ? त्यसमा पो समीक्षा गर्नुपर्छ”, उहाँले भन्नुभयो, “आज हामीसँगै हिँडेको दुनियाँ कहाँ छ ? नेपाल कहाँ पुग्यो ? यसको माध्यमबाट नेपालले के फड्को मार्यो।”सधैं कर्मकाण्डी नीति, कार्यक्रम आउने, घण्टौं छलफल गर्ने तर यसको प्रतिफल कहिल्यै प्राप्त हुन नसकेको उहाँले बताउनुभएको छ। पञ्चायतकालपछि बहुदलीय र गणतन्त्रको व्यवस्थासम्म विभिन्न सरकारले नेतृत्व गरेको तर, एउटा नेपालले अझै पनि एउटा सियोसमेत उत्पादन गर्न नसकेको उहाँले बताउनुभयो। यसले समग्रमा, राजनीतिक दल र लोकतन्त्रलाई नै कमजोर पारेको उहाँको भनाइ छ।
काठमाडौं, जेठ १३ गते। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त रहेको बताउनुभएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले गहिरो र व्यापक अध्ययनपछि निजगढमा विमानस्थल निर्माणको कार्य बल्ल-बल्ल अघि बढेको उल्लेख गर्नुभयो। “झण्डै दुई अर्ब रुपियाँको फास्ट ट्रयाक्को काम भइसकेको छ, देश सबैको साझा हो। विकासको कामलाई अघि बढाउनुपर्छ। तर, त्यस्तो नगरेर रोक्न खोजिएको कुरा बढो दुखको कुरा हो”, नेपालले बताउनुभयो।पटक–पटक आफूले विमानस्थलको भ्रमण एवम् अवलोकन गर्ने मौका पाएको बताउनु हुँदै उहाँले जंगल नै नभएको ठाउँमा विमानस्थल कार्य रोक्ने कारण के हो भनेर प्रश्न गर्नुभयो। यसबारे राजनीतिक दल र सबैले गम्भीरताका साथ लिनुपर्ने भनाइ उहाँको छ। देशमा व्यापार घाटा बढेको भन्नुहुदै उहाँले उत्पादनमाा वृद्धि गर्दै निर्यातलाई बढाउनुपर्नेमा जोड दिनुभएको छ। नेपालीको कमाएको पैसा अत्यन्त छिट्टै खर्च गर्ने बानी लागिरहेको उहाँले बताउनुभयो। बिहीबार सर्वोच्च अदालतले उत्प्रेषणको आदेश दिँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको थियो।
पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
सुकृत नेपाल काठमाडौं, जेठ १३ गते। अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैलीको चित्रण हो चलचित्र ‘लाइफ इन एलए’। अमेरिकी सहर लस–एन्जल्समा अधिकांश दृश्य छायांकन गरिएको चलचित्रको कथा व्यास बिसुको वरिपरी घुमेको छ। चलचित्रले अमेरिकामा बस्ने ९९ प्रतिशत नेपालीको वास्तविक कथालाई उजागर गरेको छ। चलचित्रले अमेरिकामा बस्दै आएका नेपाली कस्तो संघर्ष गरेर बसिरहेका छन् भन्ने कुरालाई देखाउन खोजेको छ। व्यास एक जना नेपाली केटो जो सपनाको संसार खोज्न अमेरिकामा छन्। उनी इलेक्ट्रिकल इन्जिनियर हुन्। जब उनको भेट अनुशासँग हुन्छ उनले आफनो एक्लोपनाबाट कसैको साथ पाएको महसुस गर्छन्। उनी अनुशालाई भित्रभित्रै मन पराइरहेका हुन्छन् तर अनुशालाई यो कुराको अवगत भने हुन दिदैनन्। व्यास इन्जिनियर भए पनि वर्षको एकपटक जुलाई ४ तारिखको दिन अमेरिकामा नेपाली समुदायलाई भेला गराएर एनएससीको आयोजना गर्ने गर्छन्। तर अचानक उनको जीवनले फरक मोड लिन्छ र उनको जीवनशैली उकालो उक्लिने भन्दा ओरालोतिर धकेलिन्छ। व्यासले एनएससीमा आफ्नो सबै पैसा गुमाउँछन्। उनको ग्रीनकार्डको अवधि पनि सकिन्छ र यता प्रेमी अनुशासँग पनि केही सामान्य बहस। भनाभनका कारण उनीहरु छुटिन्छन्। यही हो चलचित्र ‘लाइफ इन एलए’ भित्रको कथा। व्यास पूर्ण रुपले असफल हुँदाहुँदै पनि उसले आफनो मनोबल भने उच्च नै राखेको हुन्छ। उसलाई थाहा छ कि उ फेरि संघर्ष गरेर सबै गुमेको कुरा पाउन सक्छ। यी र यस्तै घटनाक्रमबीच चलचित्रको कथा रुमलिएको छ। मेहिनत र उच्च मनोबलले व्यासले आफूले गुमाएको सबैकुरा फेरि पाउँछन्। ती सबैकुरा उनले कसरी हासिल गरे भन्ने प्रसंग निर्देशकले चलचित्रको कथामा देखाउन खोजेका छन्। ग्रीनकार्डको म्याद सकिएपछि वा कम्पनीले एचओभी नदिएपछि एउटा युवाको अवस्था कस्तो हुन्छ भन्ने कुराले दर्शकलाई भावुक बनाउनसक्छ। ग्रीनकार्ड हासिल गर्न के कस्ता प्रकृया पूरा गर्नुपर्छ भन्ने कुरा चलचित्रले उजागर गरेको छ। अमेरिका गएपछि कति नेपाली वर्षौं नेपाल आउन पाउँदैनन्। उनीहरु किन नेपाल आउन सक्दैनन् त ? चलचित्रमा यस्ता विविध पाटोलाई पनि उठान गर्न खोजिएको छ। अमेरिकासहित नेपालको पर्यटकीय नगरी पोखरामा पनि छायांकन गरिएको चलचित्रले अमेरिकासंगै नेपालमा पनि युवाहरुले चाहे भने धेरै कुरा गर्न सक्छन् भन्ने कुरालाई प्रष्ट्याउन खोजेको छ। चलचित्रमा त्रिकोणात्मक प्रेम कथा देखाइएकोछ। एकतर्फ व्यास र अनुशाको प्रेम छ भने अर्कोतर्फ शिल्पाको व्यासप्रति एकोहोरो प्रेम। शिल्पा व्यासको प्रेम पाउन कति सफल हुन्छिन् भन्ने चलचित्रले देखाउँछ। चलचित्रको प्रमुख भूमिकामा देखिएका व्यास बिसु यसका निर्माता पनि हुन्। अभिनयको हिसाबले पहिलो चलचित्र भएको हुनाले पनि ब्यासको अभिनय नराम्रो भन्न मिल्दैन। उनको अभिनय औसत छ। नायिकामा अकेशा बिष्ट र शिल्पा मास्केको अभिनयलाई मध्यम भन्नुपर्छ। अन्य कलाकार गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड विलप्स, साम भुजेल, जयन्द्र चिलुवालले पनि आफ्नो ठाउँबाट राम्रै अभिनय कोशलता देखाएका छन्। पहिलो डेब्यु निर्देशन गरेका चलचित्रका निर्देशक सूर्य एन श्रेष्ठको निर्दैशकीय पक्षमा केही सानोतिनो कमजोरी त होलान तर उनले अमेरिकाको मनोरम दृश्यलाई सिनेम्याटोग्राफर मार्फत सफा र सुन्दर तरिकाले प्रस्तुत गरेका छन्।
काठमाडौं, जेठ १३ गते। गृहमन्त्री बालकृष्ण खाणले द्वन्द्वकालीन घटनाका पीडितको न्यायका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ। शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो। ‘‘द्वन्द्वकालीन घटनाका पीडितको न्याय प्राप्तिमा नेपाल सरकार प्रतिवद्ध रहेकोले संक्रमणकालीन संयन्त्रमार्फत छिट्टै पीडित र परिवारमा समेत न्यायको अनुभूति हुने गरी सो कार्यलाई निष्कर्षमा पुर्याइनेछ’’, गृहमन्त्री खाणले भन्नुभयो। आयोगले मानव बेचबिखनको सम्बोधन गर्न गरेको कामको उहाँले खुलेर प्रशंसा गर्नुभयो। दिगो विकास लक्ष्य, २०३० हासिल गर्न नेपाल सरकार कटिबद्ध रहेको उहाँको भनाइ छ। दिगो विकास लक्ष्यको कार्यान्वयन सरकारको प्राथमिकतामा रहेको उहाँले उल्लेख गर्नुभयो। सम्बोधनको पूर्णपाठ
शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभाको दोस्रो बैठक जारी छ ।
वासिङ्टन डिसी, जेठ १३ गते । संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ पु¥याएको योगदानलाई कदर गर्दै मृत्युपर्यन्त नेपाली शान्ति मिसनका तीन जनालाई ‘ड्याग हयामर्सोल्ड’ स्मृति अवार्डले सम्मान गरेको छ । उक्त अवार्ड राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुर्टोसले बिहीबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईलाई हस्तान्तरण गर्नुभयो । ‘पिस किपर्स डे’का अवसरमा बिहीबार राष्ट्रसङ्घको मुख्यालयमा आयोजित कार्यक्रममा शान्ति स्थापनार्थ गत वर्ष विभिन्न मितिमा वीरगति प्राप्त गर्नुभएका नेपाल प्रहरीका उमेशकुमार मेहत्तर सुडानमा, सैनिक पिताम्बर थापा युनिफिल लेवनानमा र सैनिक दीपेन्द्र बस्ती साउथ सुडानमालाई उक्त अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका सैनिक सल्लाहकार जगदीश खड्काले राससलाई दिनुभएको जानकारीअनुसार हालसम्म नेपालका ८२ शान्ति सेनाले सहादत प्राप्त गरिसकेका छन् । उहाँकाअनुसार हाल विभिन्न देशमा पाँच हजार ८०४ नेपाली राष्ट्रसङ्घको शान्ति मिशनमा कार्यरत छन् । राष्ट्रसङ्घको सन् २००२ को साधारणसभाले मे २९ लाई राष्ट्रसङ्घीय शान्ति स्थापना अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने विषयलाई अनुमोदन गरेको थियो । विश्वभर शान्ति स्थापनाका लागि जीवनउत्सर्ग गर्ने महानुभावको योगदानको स्मृतिमा अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । राष्ट्रसङ्घको निलो झण्डा मुनि आबद्ध भएर शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त क्षेत्रका नागरिकको सुरक्षार्थ सन् १९४८ देखि खटिएका चार हजार शान्ति सेनाले आफ्नो ज्यान गुमाएका छन् ।
काठमाडौं, जेठ १३ गते । नेपालमा हुने अन्तर्राष्ट्रिय सम्मेलनले आपसी सम्बन्ध अभिवृद्धि गर्न सहयोग पुग्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभएकाे छ । नाक, कान र घाटी विशेषज्ञहरुको १२ औँ दक्षिण एशियाली क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा हुने अन्तर्राष्ट्रिय सम्मेलनले आपसी सम्बन्ध अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभएको हो । उहाँले भन्नुभयो ,“यस्ता सम्मेलनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सदस्य राष्ट्रहरुमाबीचमा जनस्तर र विज्ञसमुदायबीच आपसी सम्बन्ध अभिवृद्धि गर्न मद्दत गर्छ ।” राष्ट्रपति भण्डारीले सम्मेलन नेपालमा आयोजना भएकोमा खुसी पनि व्यक्त गर्नु भएको छ । दक्षिण एशियामा रोग, बेरोजगारी, साझा चुनौती भएकाले चुनौतीलाई सामान गर्न जनस्तरबाटै सहयोग पारस्पारिक भावाना र सामुहिकत्त आवश्यक पर्ने राष्ट्रपति भण्डारीले जिकिर गर्नुभयो । राष्ट्रहरुबीच हुने र जनस्तरमा हुने सम्वादले सार्क भावनालाई अझ बलियो बनाउँदै लैजाने उहाँको विश्वास रहेको छ । सम्मेलनमा सार्क मुलुकका साथै विश्वका अन्य राष्ट्रहरुबाट विज्ञहरुलाई आमन्त्रण गरी संचालन हुने छलफलबाट नाक, कान र घाँटी रोगको उपचारका क्षेत्रमा ज्ञानको अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो । “यस्ता सम्मेलनमा हुने छलफलबाट नाक, कान र घाँटीको निदान एवं उपचारमा विकास भएका उत्तम प्रविधिको बारेमा जानकारी लिन थप सहयोग हुनुका साथै आपसी सीप, अनुभव आदनप्रदान गर्न सहयोग पुग्छ”। नाक, कान र घाँटी रोगका प्रकृतिहरु धेरै हदसम्म समान भएकाले यसको समाधानको लागि मिलेर रणनीतिहरु बनाउन यो सम्मेलनबाट प्राप्त निष्कर्षले मार्गदर्शन गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
केशवचन्द्र महरा दिपायल, जेठ १३ गते । डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । शुक्रबार विहान जिल्लाको सायल गाउँपालिका – १ तेलपारामा सु.प. प्र. ०१००१ ज १३३४ नम्बरको जीप दुर्घटना भएको हो ।घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिनुभयो । गम्भीर घाइते दुई जनालाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याइएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।जीप चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिनुभयो ।