काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ ।
बाजुराको डाब खप्तड पर्यटन सडक चार महिनापछि सञ्चालनमा आएको छ । चार महिनादेखि अवरुद्ध हुँदैआएको सो सडकलाई स्थानीय तहले दशैं तिहार अगावै खोल्नेगरी निर्माणको काम सम्पन्न गरेपछि नवमीको दिनदेखि सञ्चालनमा आएको हो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले स्वतन्त्रतापूर्वक मतदान गर्ने वातावरण बनाएर स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई अनुरोध गर्नुभएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले दशैं नेपालीहरुको मौलिक पर्व भएको बताउनुुभएको छ । विजयादशमी २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले पर्वसँग जोडिएका मूल्य, मान्यता एवम् संस्कारले मुलुकलाई समृद्धिको शिखरमा पु¥याउन सहयोग गर्ने र विविधताबीचको एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
यो वर्षको दशैंलाई वर्षाले प्रभावित पारेको छ। लगातार दुई दिनदेखि परेको पानीका कारण दशैं हिले भएको हो। अष्टमीबाट सुरु भएको पानी पर्नेक्रम टीकाको दिन अझ बढेपछि बाढी, पहिरो र डुबानको जोखिम बढेको छ।
उपराष्ट्रपति नन्दबहादुर पुनले दशैंलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गर्नुभएको छ।
स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले विभिन्न शीर्षकमा भत्ता पाउने गरेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दशैंलगायतका चाडपर्वले विविधताबीचको एकतालाई मजबुत बनाउने बताउनुभएको छ।
दक्षिण-पश्चिम बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीले यो वर्षको दशैं झरीमय बनेको छ।
काठमाडौं, असोज १९ गते । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ।दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ। विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो।“राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ”, उहाँले भन्नुभयो।घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १०ः३४ बजे रहेको छ।टीका लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्नेविजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने बताउनुहुन्छ धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई। टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँले सुनाउनुभयो। टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ।आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ। जमराले विभिन्न रोग व्याधमा औषधिको रूपमा काम गर्ने तथ्य वैज्ञानिकरूपमा समेत पुष्टि भइसकेको छ। कोरोना भाइरस एवं डेङ्गुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ।घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो।त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ। यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ।आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ। विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ– आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।। शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते। विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण।।अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ।यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ। महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ। जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।।आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड लाग्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादशैं, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउनुभएको छ।
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ।
बङ्गलादेशमा ग्रिडमा खराबी आएपछि मङ्गलबार अपराह्न कम्तीमा १३ करोड मानिस विद्युतविहीन भएको सरकारी विद्युत् उपभोक्ता कम्पनीले जनाएको छ ।
लुम्बिनी, असोज १८ गते । मूर्ति विसर्जन र जलभर्ने क्रममा नदीमा डुबेर प्रत्येक वर्ष मानिसहरूको मृत्यु हुने गरेको छ। मर्चावरको दुइमोहानघाटमा धार्मिक मान्यताअनुसारको मूर्ति विसर्जन र जलभर्ने क्रममा डुबेर मानिसहरूको मृत्यु हुँदा सुरक्षा र बचाउका लागि प्रभावकारी पहल भने भएको छैन।विसं २०७८ असोज ३० गते शनिबारका दिन दुर्गामूर्ति विसर्जनका लागि जानुभएका कोटहीमाई–४,कदमहवाका १९ वर्षीय अनिल कुर्मी खेल्दाखेल्दै नदीमा डुब्नुभयो। दसैँमा पूजाका लागि बनाइएको दुर्गामूर्ति विसर्जनका क्रममा दिउँसो २ बजे बेपत्ता हुनुभएका उहाँको शव सोही दिन राति ८ बजे फेला परेको थियो। विसं २०७७ असोजमा पनि कोटहीमाई–५ स्थित सोही ठाउँमा डुबेर अर्को एक जनाको मृत्यु भएको थियो। साथीहरूको लहैलहैमा दुर्गामूर्ति विसर्जनका लागि गएका सम्मरीमाई–६ महदेइयाँका सोही उमेर समूहका मुकेश कुर्मी हेर्दाहेर्दै बेपत्ता भई डुबेको २० घण्टापछि मात्र स्थानीयवासीले उहाँको शव फेला पारेका थिए। विसं २०७६ मा कोटहीमाई–१ पुर्निहवाबाट मूर्तिस्थापनाका लागि जलभर्न गएको टोलीसँगै रहेका एक भारतीय युवकको डुबेर मृत्यु भएको थियो। प्रहरीको रेकर्डलाई हेर्ने हो भने सोही वर्ष कोटहीमाई–५, भंगहियाका करुणा चौबेका छोरा १८ वर्षीय मुनिक्का चौबे र २०७५ सालमा जलभर्ने क्रममा कोटहीमाई-५ का एक बालिकाको डुबेर मृत्यु भएको थियो।यसरी सो ठाउँमा डुबेर मृत्यु हुनेको सङ्ख्या हरेक वर्ष बढ्दो छ। सोही ठाउँमा डुब्दै गर्दा उद्धार भई ज्यान बाँचेकाको सङ्ख्या पनि उत्तिकै छ। विसं २०७५ मा गैडहवा गाउँपालिकाकी २० वर्षीय एक युवतीलाई डुब्दै गर्दा उद्धार गरिएको र अन्य धेरैलाई पौडीबाजले उद्धार गरी ज्यान जोगाएको स्थानीय सञ्चारकर्मी मुकेश चौधरीले बताउनुभयो।“धार्मिक प्रयोजनका लागि जलभर्ने कार्य होस् या मूर्ति विसर्जनलगायतका कार्यक्रम, बर्सेनिजसो एक वा दुई जनाको एउटै ठाउँमा डुबेर मृत्यु भइरहँदा स्थानीय सरकारको व्यवस्थापनमाथि प्रश्न तेर्सिन्छ”, कोटहीमाई–५ तेलियागढका राजेन्द्र यादवले भन्नुभयो, “स्थानीय सरकारसँगै स्थानीय प्रहरी प्रशासनसमेतले यसको जिम्मेवारी लिनुपर्छ।”धार्मिक प्रयोजनका लागि भन्दै जलभर्ने क्रममा सोही ठाउँमा बर्सेनि युवा युवतीहरू डुबेर मृत्यु भइरहँदा केहीको उद्धार गर्न सकिए पनि धेरैलाई बचाउन सकिएको छैन। कम्तीमा पनि बर्सेनि एक या दुई जनासम्मको ज्यान जाने गरेको इलाका प्रहरी कार्यालय मर्चावरको भनाइ छ।दानव र तिनाउनदीको सङ्गमस्थल भएको त्यो ठाउँमा पानीको गहिराइ र बहाव उच्च छ। कुनै पनि कारणले नदीको पानीमा डुब्ने जो कोहीको पनि ज्यान जोगिने सम्भावना कमै हुन्छ। त्यसैले सो ठाउँ सबैका लागि जोखिमपूर्ण रहेको भन्दै इलाका प्रहरी कार्यालय मर्चावरका प्रहरी नायब निरीक्षक एनपी साउदले त्यसो हुन नदिन यस वर्ष स्थानीय पालिकासित सहकार्य गरेर व्यवस्थित गर्ने बताउनुभयो।जिम्मेवार निकायले सुरक्षा तथा बचाउका लागि गम्भीर बन्नुपर्ने आग्रह गर्दै सामुदायिक विपत् व्यवस्थापन राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीले भन्नुभयो, “यति भन्दैमा हामी आम नागरिक पनि हाम्रा कर्तव्यबाट विमुख हुन मिल्दैन। जोखिमपूर्ण ठाउँमा मूर्ति विसर्जनलगायतको कार्य गर्न रोक लगाई अलि कम पानी भएको ठाउँमा सतर्कताका साथ मात्र गर्न दिनुपर्छ।” “अभिभावले पनि आफ्ना बच्चालाई जोखिमयुक्त ठाउँमा जानीजानी जान दिनु भनेको मृत्युको मुखमा धकेल्नु हो भन्दा फरक पर्दैन”, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले भन्नुभयो, “मैले मातहतका प्रहरी कार्यालयहरूलाई सहयोग, सुरक्षा र उद्धारका लागि आवश्यक निर्देशन दिएको छु।” दसैँ तिहारलक्षित जनचेतनामूलक कार्यक्रमहरू पनि भएको उहाँले बताउनुभयो।“हामीसँग विज्ञ जनशक्ति छैन, चाडपर्वका बेला प्रायः मानिसहरू उत्तेजित रहन्छन्, त्यसैले सक्दो प्रयासका बाबजुद घटनाक्रम रोक्न नसकिनु निकै नै दुःखद हो”, कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले भन्नुभयो, “खुसी साटासाट गर्नुपर्ने चाडपर्वका बेला त्यस ठाउँमा बर्सेनि मान्छे डुबेर मृत्यु हुने गरेकोले यस वर्ष त्यस्तो हुन नदिन विशेष व्यवस्था गरिने छ।” रासस