हेटौँडा सामुदायिक आँखा अस्पतालले स्वास्थ्य बीमा बोर्डले बीमाबापतको रकम समयमा नपठाउँदा औषधि खरिदलगायत उपचारमा समस्या आएको जनाएको छ। अस्पतालमा आव २०७४/७५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि अस्पतालमा आउने विपन्न वर्गका आँखाका बिरामी लाभान्वित हुँदै आएका छन्। बीमा बोर्डसँग स्वास्थ्य बीमाबापतको भुक्तानी माग गर्दा लामो समयसम्म भुक्तानी नगर्दा अस्पतालको दैनिक सेवा तथा बिरामीको उपचार एवं शल्यक्रियामा प्रयोग हुने औषधि तथा अन्य सामग्री खरिद गर्न रकम अभाव बेहोर्दै आएको छ। अस्पताल व्यवस्थापक सुधीर श्रेष्ठले बीमा बोर्डले बीमाबापतको रकम निकासामा गरेको ढिलाइका कारण अस्पतालका कर्मचारीको तलबको व्यवस्थापन गर्नसमेत समस्या भएको जानकारी दिनुभयो।
पाल्पाको बगनासकाली गाउँपालिका–१ स्थित चिर्तुङधारामा बन्न लागेको २२० केभी सबस्टेसन आयोजनाको काममा ढिलाइ भएको छ। मुआब्जा वितरणमा असन्तुष्टि जनाउँदै स्थानीय जग्गाधनीले मुआब्जाबापतको रकम नबुझेपछि सबस्टेसन निर्माणको काममा ढिलाइ भएको हो। पाल्पासहितका जिल्लाको विद्युत् अवरोध हटाउन चिर्तुङधारामा सबस्टेसन निर्माण गर्ने विद्युत् प्राधिकरणको योजना छ। त्यसका लागि माडी चक्रपथ नजिकका खेतीयोग्य १७४ रोपनी जग्गा अधिकरणको प्रक्रिया अघि बढिसकेको छ। यद्यपि एक वर्षको अवधिमा पनि जग्गाधनीलाई मुआब्जा वितरणको काम सकिएको छैन।
प्रदेशको नीति निर्माणमा केन्द्रित रहने प्रदेश सभा सदस्यका लागि लुम्बिनी प्रदेश सभा सचिवालयमा अलग्गै पुस्तकालय स्थापना गरिएको छ। प्रदेश सभा सदस्य तथा कर्मचारीलाई कानुन निर्माण क्रममा आवश्यक जानकारी लिन, अध्ययन, अनुसन्धान र अभिलेख सङ्ग्रहका लागि पुस्तकालय स्थापना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले बताउनुभयो।
अखाद्य र गुणस्तरहीन चामल बोकेर नेपालगञ्ज भन्सार कार्यालयमा पुगेका विश्व खाद्य कार्यक्रमका तीनवटा कन्टेनर डेढ महिनादेखि अलपत्र छन्। विश्व खाद्य कार्यक्रमले जमुनाहा नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको जनाउँदै भन्सार कार्यालयले रोकिदिँदा तीनवटा कन्टेनर डेढ महिनादेखि त्यहीँ अलपत्र परेका हुन्। समुद्री मार्ग हुँदै इटालीबाट ल्याइएको उक्त चामल भारतको कोलकाताबाट तीन कन्टेनरमा नेपालगञ्जसम्म ल्याइँदै थियो। चामल लिएर गत माघ १५ गते नाकामा आइपुगेका डब्लूबी ०३ डीओ १०७, डब्लूबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनर करिब डेढ महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमा थन्किएका छन्।
देशका कतिपय स्थानमा सङ्घीयताको विरोध गरिरहँदा स्याङ्जाको कर्णालीका रूपमा परिचित कालीगण्डकी गाउँपालिकाले भने देशको पछिल्लो राजनीतिक संरचना परिवर्तनपछि विकासमा फड्को मारेको छ। स्रोतको पहुँच कम भएको यो पालिकामा सरकारबाट प्राप्त बजेटलाई सदुपयोग गरिएपछि विकासले गति लिएको जनप्रतिनिधिको दाबी छ। पालिकामा गएको पाँच वर्षमा साढे पाँच अर्ब रुपियाँ बराबरका योजना सम्पन्न गरिएको पालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो। पाँच वर्षमा ३२ किलोमिटर सडक कालोपत्रे भएको छ भने आगामी एक वर्षमा ४२ किलोमिटर सडक थप पिच हुने अवस्थामा पुगेको थापाले बताउनुभयो।
एक हप्ताअघि ठूलो हावाहुरी चल्दा पोखराको फेवातालमा डुङ्गा पल्टेर एक जनाको मृत्यु भयो। लाइफ ज्याकेट लगाए पनि उनको मृत्यु भएको थियो भने अन्य एउटै डुङ्गामा सवार यात्रुको ज्यान जोगियो। लाइफ ज्याकेटले ज्यान जोगिए पनि यात्रुले आफैँले जानी नजानी फेवातालमा डुङ्गा चलाउँदा दुर्घटना भएको डुङ्गा व्यवसायी बताउँछन्। डुङ्गा व्यवसायी सङ्घका अध्यक्ष बलराम गिरीले यात्रुले आफैँ डुङ्गा जानी नजानी चलाउँदा घटना भएको बताउनुभयो। यसरी यात्रुले आफैँ डुङ्गा चलाउँदा दुर्घटना हुने भएपछि अब चालकबिना डुङ्गा नदिने व्यवसायीको निर्णय छ। अध्यक्ष गिरीका अनुसार हावाहुरी चल्ने अबका तीन महिना चालकबिना डुङ्गा रिजर्भ पनि नदिइने भएको छ।
हुम्लामा उत्पादन हुने स्थानीय रैथाने बाली सिमकोट गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालयलाई बिक्री सुरु गरेको छ । गाउँपालिकाले किसानसँग खरिद गरेका रैथाने बाली शुक्रबारदेखि औपचारिक रूपमा बिक्री सुरु गरेको हो । गाउँपालिका अध्यक्ष विजय भण्डारीले एक महिनायता किसानसँग खरिद गरेका रैथाने बालीको उत्पादन खाद्य कम्पनीलाई बिक्री सुरु गरेको बताउनुभयो । गाउँपालिकाले शाखाको गोदाममा लगेर हस्तान्तरण गरेको हो । रैथाने बालीमा चिनो र कागुनोको चामल, सिमी र फापरको दाना बिक्री गरेको हो ।
सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना निर्माण सम्पन्न भएको छ । हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको छ । ७ दशमलव २० किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कङ्क्रिट लाइनिङको काम भइरहेको छ । विद्युत्गृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरण जडान भइरहेको छ । विद्युत्गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर २२० केभी प्रसारण लाइनका टावर निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।
जातीय छुवाछूतसहित गरिएको मृत्युभोजको विरोध गर्दै अधिकारकर्मीहरूले छुवाछूतलाई प्रश्रय दिनेलाई कारबाहीको समेत माग गरेका छन्। छुवाछूत गरेर मृत्युभोज गरिएको सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गरिएको हो। उहाँले आमाको १३औँ दिनको तिथिमा बोलाएका पाहुनालाई जातीय आधारमा छुट्टाछुट्टै स्थानमा बसाएर मृत्युभोज गराउनुभएको थियो। जातअनुसार छुट्टाछुट्टै स्थानमा ब्यानर नै झुन्डयाइएको थियो।
मङ्सिरयता विवाह, व्रतबन्ध, गुन्यूचोलीजस्ता बाक्लै कार्जे परे पनि नयाँ सुन खरिद गरेर गहना बनाउने ग्राहक खासै आएनन्। सुनको मूल्य बढेर एक लाख नाघ्यो, सेवाग्राहीले नयाँ सुन किन्नभन्दा पुरानो सुनका गहना पल्टी गरेर नयाँ डिजाइनमा रूपान्तरण गरेर टारे। नेपाल सुनचाँदी व्यवसायी सङ्घ मोरङका अध्यक्ष शशिभूषण साहका अनुसार अन्य क्षेत्रमा जस्तै ज्वेलर्सको कारोबार विवाहको सिजनमा निक्कै कम भएको हो। जिल्लामा रहेका १४० साना–ठूला ज्वेलर्समा नयाँ सुन खरिद गरेर गहना बनाउने भन्दा पुराना गहना बोकेर पल्टी गर्नेहरू धेरै आएका हुन्।
सुक्खा बढ्दै जाँदा सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार मच्चिन थालेको छ। चुरे पाखोका बस्तीमा रहेका अधिकांश कुवा र इनार सुकेका छन्। खडेरी लाग्ने केही महिना जिल्लाको चुरे क्षेत्रमा पर्ने भालुखोप, केराबारी, बेलडाँडा, विलन्दी, कौवा, दापडाँडा, कालिञ्जोर, गुइडुङ, परवानीपुर, नारायणखोला, अत्रौलीलगायतका क्षेत्रमा खानेपानीको समस्या हुने गरेको छ। बढ्दो वनविनाश र उत्खननले गर्दा पछिल्ला वर्षहरूमा खानेपानीका स्रोतहरू चाँडो सुक्न थालेका जानकार बताउँछन्।
मोरङको पथरी–जाँते हुँदै लेटाङ–८ को ज्यामिरे जोड्ने सडकको वन क्षेत्रका रुख काट्ने प्रक्रिया अघि नबढ्दा सडक कालोपत्रे गर्न रोकिएको छ। कोशी प्रदेश सरकारले गौरवको योजनाका रूपमा निर्माण प्रक्रिया अघि बढाएको यो सडक कोशी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ मङ्सिर २३ गते शिलान्यास गर्नुभएको थियो। शिलान्यास भएको दिन मुख्यमन्त्री राईले तीन वर्षमा सडक निर्माण गर्ने योजना भए पनि दुई वर्षमा नै योजना सम्पन्न गरी आफैँले उद्घाटन गर्ने बताउनुभएको थियो। तीन वर्षभन्दा बढी बित्दा पनि १७ किलोमिटर लम्बाइको सडक जाँते बजार क्षेत्रमा तीन किलोमिटर मात्र कालोपत्रे भएको छ। लेटाङको ज्यामिरेबाट जाँते हुँदै पथरीमा पूर्व–पश्चिम राजमार्गलाई क्रस गरेर डाइनियाँ हुँदै भारतसँग जोडिने यो सडक उत्तरी मोरङको व्यापार प्रवद्र्धनका लागि महत्वाकाङ्क्षी योजना रहेको थियो।
बचत तथा ऋण सहकारी संस्थाको संस्थागत विकास र सुदृढीकरण गर्ने सङ्कल्प गर्दै व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठी (सीईओ वर्कसप) सम्पन्न भएको छ । कोभिड–१९ पश्चात् अर्थव्यवस्थामा आएको परिवर्तन र बचत तथा ऋण सहकारी संस्था (साकोस)मा परेको प्रभावबाट संरक्षणका लागि संस्थाको आकार, संरचना र योजनाको समीक्षा गरी सन्तुलन कायम गर्दै स्वस्थ र सुरक्षित साकोस निर्माण गर्न पल्र्स प्रणालीको पूर्ण कार्यान्वयन गर्ने गोष्ठीले सङ्कल्प गरेको छ ।
चितवनको प्रमुख व्यापारिक केन्द्र नारायणगढ बजारमा पार्किङ समस्या दिन प्रतिदिन जटिल बन्दै गएको छ। वित्तीय सङ्घ/संस्थादेखि व्यापारिक प्रतिष्ठानको केन्द्रका रूपमा रहेको बजारमा खुला ठाउँको अभाव भएपछि साना तथा ठूला सवारीसाधन रोकेर राख्ने स्थान नहँुदा त्यसको असर व्यापारमा समेत परेको छ। निर्माणाधीन छ लेनको सडक सम्पन्न भएपछि पार्किङको समस्या अझ बढेर जाने भएको छ। पुरानो संरचना भएकाले यहाँका घरमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था छैन। नयाँ बनेका सीमित घरले मात्र पार्किङको व्यवस्था गरेका छन्। नारायणगढको ओरालोदेखि पुलचोक हुँदै पोखरा बसपार्क, मिलनरोड, कमलनगर, बेलचोक सडक यहाँको मुख्य बजार क्षेत्र हुन्। यही स्थानमा बैङ्क तथा वित्तीय संस्थाका शाखाहरू सहकारी, ठूला व्यापारका थोक तथा खुद्रा पसल सञ्चालनमा रहेका छन्। ती स्थानमा आउने उपभोक्ताले ल्याउने सवारीसाधन तथा सार्वजनिक सवारीसाधन रोकिराख्ने स्थानको अभाव भएको छ।
भूकम्प, बाढीपहिरो, कोरोना महामारीपछि पनि आन्तरिक पर्यटकका लागि प्रसिद्ध पाँचपोखरी धार्मिक गन्तव्य बन्दै आएको छ। समुद्री सतहबाट चार हजार १५१ मिटर उचाइमा अवस्थित पाँचपोखरीमा पाँचवटा पोखरी छन्। ती पोखरी प्राकृतिक रूपमा सुन्दर र मनमोहक छन्। प्राकृतिक रूपमै रहेका पाँचवटा पोखरीका कारण यसको नाम पाँचपोखरी तीर्थस्थल राखिएको हो।