• १३ साउन २०८१, आइतबार

बाह्रबुँदे साझा सङ्कल्प जारी गर्दै सीईओ वर्कसप सम्पन्न

स्वस्थ र सुरक्षित सहकारी निर्माण गरिने

blog

काठमाडौँ, फागुन २७ गते । बचत तथा ऋण सहकारी संस्थाको संस्थागत विकास र सुदृढीकरण गर्ने सङ्कल्प गर्दै व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठी (सीईओ वर्कसप) सम्पन्न भएको छ ।

कोभिड–१९ पश्चात् अर्थव्यवस्थामा आएको परिवर्तन र बचत तथा ऋण सहकारी संस्था (साकोस)मा परेको प्रभावबाट संरक्षणका लागि संस्थाको आकार, संरचना र योजनाको समीक्षा गरी सन्तुलन कायम गर्दै स्वस्थ र सुरक्षित साकोस निर्माण गर्न पल्र्स प्रणालीको पूर्ण कार्यान्वयन गर्ने गोष्ठीले सङ्कल्प गरेको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)ले बुधबार र बिहीबार आयोजना गरेको व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठी १२ बुँदे साझा सङ्कल्प जारी गर्दै सम्पन्न भएको हो । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयविज्ञ तथा स्रोत व्यक्तिहरूको प्रस्तुतीकरण थियो ।

कार्यक्रममा देशभरका करिब ४५० बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुख (सीईओ)को सहभागिता थियो । गोष्ठीमा सहभागी सीईओहरूले सहकारी संस्थाले प्रविधियुक्त सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र संस्थाको छवि निर्माणमा व्यवस्थापन जिम्मेवार बन्ने सङ्कल्प प्रस्ताव पारित गरेका छन् । गोष्ठीले अलग्गै बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि ऐक्यबद्धता र आवश्यक पैरवी गर्ने सङ्कल्पसमेत पारित गरेको छ । एकीकृत स्वनियमन मार्गनिर्देशन पालन गर्ने, संस्थागत विकास र सुदृढीकरणका लागि स्तरीकरण कार्यक्रममा आबद्ध हुने र सुरक्षित संस्था निर्माण गर्न पल्र्स प्रणालीको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता सीईओहरूले गरेका छन् ।

त्यस्तै बाध्यकारी नियमकीय प्रबन्ध पूर्ण रूपमा कार्यान्वयन गर्ने, जोखिमको व्यवस्थापन गर्न संस्थागत पुँजी कम्तीमा ५ प्रतिशत कायम गरी स्थिरीकरण कोषमा आबद्ध हुने उनीहरूले प्रतिबद्धता जनाएका छन् ।

नेफ्स्कुनका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक दीपक पनेरूले साझा सङ्कल्प वाचन गर्नुभएको थियो । साझा सङ्कल्प वाचन गर्दै पनेरूले सहकारी अभियानको वर्तमान समस्या सम्बोधनमा दिशानिर्देशन गर्ने बताउनुभयो  ।

कोभिड–१९ पश्चात् तरलतालगायतका कारण सङ्कटोन्मुख साकोसको सुरक्षाका लागि स्वजागरण सहजीकरण विकास गरी सङ्घमार्फत कार्यान्वयन गर्ने तथा संस्थाका लागि व्यवस्था गरिएका बाध्यकारी नियामकीय प्रबन्ध (कोपोमिस, गोएएमएल) पूर्ण रूपमा कार्यान्वयन गर्ने र कार्यान्वयनमा कठिन भएका क्षेत्रहरूमा सङ्घबाट सहजीकरणको व्यवस्था गराउने सङ्कल्प गोष्ठीले पारित गरेको छ ।

वित्तीय सहकारीको दर्शन र मूल्यमा आधारित व्यावसायिक जनशक्ति विकासका लागि निरन्तर प्रणाली, पद्धति र प्रविधिको अवलम्बन गर्न श्रम ऐनले तोकेका सेवासुविधा तथा सुरक्षाका न्यूनतम सर्त संस्थामा पालन गराउने र जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन नेफ्स्कुन साकोस म्यानेजर्स क्लबको सहभागिताका कार्यशाला आयोजना गर्ने गोष्ठीको सङ्कल्प छ ।

न्यून लागतमा समावेशी वित्तीय सेवा समुदायका सबै वर्गमा प्रवाह गर्न सञ्जालको साझा सेवाका रूपमा प्रविधि विकासमा योगदान गर्ने र उपलब्ध भएसम्म सञ्जालको साझा प्रविधिको उपयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।