कर्णाली कोरिडोरको सिमकोट हिल्सा सडक खण्डको हेक्पा खोलामा निर्माण गरिएको जीर्ण काठे पुलमा जोखिनका साथ सवारीसाधन गुड्नु पर्ने बाध्यता छ । उक्त खोलामा पक्की पुल निर्माण कार्य भई रहेको कारण अन्य विकल्प नहुँदा यातायातका साधनहरू जीर्ण काठे पुल तर्न बाध्य हुँदै आएका हुन ।
तानसेन नगरपालिकाले दुई दशकदेखि विद्युत् महसुल तिरेको छैन । नगरका विभिन्न स्थानमा सडक बत्ती बालेबापत नगरपालिकाले विद्युत् प्राधिकरणलाई आठ करोड बढी रकम नतिरेको हो । २०६१/६२ सालदेखि नै तानसेन नगरपालिकाले विद्युत् प्राधिकरणलाई सडक बत्तीको महसुल तिर्न बाँकी रहेको पाल्पा वितरण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख दिलीप मरासिनीका अनुसार तानसेनले हालसम्म आठ करोड ५१ लाख रुपियाँ विद्युत् महसुलबापतको रकम तिर्न बाँकी रहेको छ । झन्डै दुई दशकदेखि नगरपालिकाले विद्युत् महसुल बुझाएको नपाइएकाले पत्र काटेर तोकिएको समयभित्र महसुल बुझाउन ताकिता गरिए पनि पालिकाले अटेर गर्दै आएको छ ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन् । उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन् ।
बैतडीमा मानव अधिकारको अवस्था दयनीय रहेको सरोकारवालाले टिप्पणी गरेका छन् । अखाद्य वस्तुको बिक्री, जातीय विभेद, लैङ्गिक हिंसालगायत कुपोषणको समस्या बढेको सरोकारवालाले जनाएका छन् । राष्ट्रिय मानव अधिकार अयोग सुदूरपश्चिम प्रदेश कार्यालय बैतडीमा आयोजना गरेको मानव अधिकारीको अवस्था विषयमा छलफलमा सहभागीले उक्त समस्या औँल्याएका हुन् । राष्ट्रिय मानव अधिकार अयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हरिप्रसाद ज्ञवाली, जिल्ला समन्वय समिति बैतडीका प्रुमख खगेन्द्रसिंह धामी, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलगायत अधिकारकर्मी र नागरिक अगुवाको कार्यक्रममा सहभागिता रहेको थियो ।
लागुऔषध दुव्र्यसनविरुद्ध नारायणी नदी किनारमा महोत्सव हुर्न भएको छ । लागुऔषध तथा मद्यपान प्रयोगकर्ताको निःशुल्क उपचार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । चितवनतर्फको नारायणी नदी किनारमा हुने महोत्सवको आयोजक रिकभरिङ युनाइटेड र औद्योगिक शान्ति नेपाल संस्था रहेको रिकभरिङ युनाइटेडका अध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
भोक्राहा नरसिंह गाउँपालिकाका किसान अहिले आलु रोप्न व्यस्त छन् । धान र जुट खेती गरेका किसानले बाली भित्र्याएपछि अहिले आलु रोप्न व्यस्त भएका हुन् । अहिले भोक्राहा नरसिंहका किसानलाई आलु रोप्नका लागि जग्गा जोत्ने, खन्ने, मल बोक्ने र आलु रोप्ने कामले भ्याइनभ्याइ छ ।
दुर्गमका निर्माणाधीन आवासीय विद्यालय भवन निर्माण गर्न बजेट अभाव भएको छ । बजेट कटौती भएपछि भवन निर्माण प्रभावित बन्ने जोखिम बढेको र समयमै सम्पन्न नहुने समस्या बढ्दै गएको हो । दुर्गम हिमाली जिल्लामा घण्टौँ हिँडेर आउने बालबालिकालाई आवासीय विद्यालयको अवधारणा अनुसार काम अघि बढाइएको हो । साबिक कर्णालीका पाँच जिल्लामा आवासीय विद्यालय भवन निर्माण गर्न लागिएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा नमुना आवासीय विद्यालय बनाउने योजना ल्याएको हो । सोही आवबाट साबिक कर्णालीका पाँच जिल्लामा नमुना आवासीय विद्यालय छनोट गरीपूर्वाधार निर्माण सुरु गरिएको थियो ।
परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच बुधबार यहाँ भेटघाट भएको छ ।
लामो प्रतीक्षापछि यहाँका किसानले उखुको अनुदान रकम पाएका छन् । गत वर्ष सरकारले दसैँअघि नै अनुदान रकम उपलब्ध गराएको थियो । यो वर्ष भने समयमै निकासा नआउँदा उखु किसानका खातामा रकम पठाउन ढिलो भएको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) महोत्तरीले जनाएको छ ।
कोभिड–१९ महामारीका समयमा गुल्मी अस्पतालमा स्थापित दुई वटा भेन्टिलेटरसहितको पाँच बेडको आइसियु खासै प्रयोगमा आउन सकेको छैन । नेपाल सरकारको दुई करोड विनियोजित बजेटमध्ये डेढ करोडमा गत वर्ष नै पूर्वाधार र उपकरण जडानको कार्य सकिए पनि एक वर्षदेखि महत्वपूर्ण स्वास्थ्य उपकरण प्रयोगमा छैनन् । गुल्मी जिल्लालगायत छिमेकी जिल्लाका सयौँ जनताले उपचार गर्ने अस्पतालमा विशेषज्ञ जनशक्ति व्यवस्थापन नहुँदा भेन्टिलेटरसहितको आइसियु उपयोग नभएको बताइन्छ ।
भुमे गाउँपालिकाका पाँचवटा स्वास्थ्य चौकीमा कुरुवा भान्साघर स्थापना गरेपछि सुत्केरीको सेवा स्याहार गर्न सहज भएको छ । स्वास्थ्य चौकीमा सुत्केरीको हेरचाहका लागि सुत्केरीघर स्थापना गरेपछि सुत्केरी महिलाले परिवार र आफन्तको सहयोग पाएका छन् । सुत्केरी कुरुवा भान्साघरमा व्यथा लाग्नुअघि नै स्वास्थ्य चौकीमा जाँच गर्न जाँदा समस्या देखिए वा स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्ने अवस्थाका गर्भवती बस्ने गरेका छन् । सुत्केरी भइसकेपछि केही दिन स्वास्थ्य चौकीमै राख्नुपर्ने सुत्केरीलाई उक्त घरले सुविधा मिलेको छ ।
स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर रु ६ लाख आम्दानी गर्नुभएको थियो ।
पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो हिमालको सफल आरोहण गर्नुभएको छ । सेभेन समिट अभियानमा रहनुभएका पाण्डेले अफ्रिकाको तान्जेनियामा रहेको पाँच हजार ८९५ मिटर अग्लो सो हिमालको सफल आरोहण गर्नुभएको हो ।
पर्वतको कुस्मा नगरपालिकाले वडा कार्यालयको भवन निर्माण गर्न भनी भिरको जग्गा खरिद गरेको पाइएको छ । भवन निर्माणका लागि भनी खरिद गरिएको एक रोपनी छ आना क्षेत्रफलको भिरालो जग्गा उपयुक्त नभएपछि बजेट हुँदाहुँदै भवन निर्माणको काम नै अलपत्र परेको छ ।
बन्दीपुर प्राकृतिक मनोरम दृश्य, सांस्कृतिक बस्ती र रहनसहनले पर्यटकमाझ चर्चित छ । पहाडकी रानी उपनामले प्रख्याति कमाएको बन्दीपुरलाई गण्डकी प्रदेश सरकारले ग्रामीण पर्यटनको सूचीमा पहिलो नम्बरमा राखेको छ । बन्दीपुर गाउँपालिका प्राकृतिक सुन्दरता, भूवनोट र मौलिक सांस्कृतिक विशेषताले भरिपूर्ण छ । २०७१ सालमा साबिक धरमपानी र बन्दीपुर गाउँ विकास समितिलाई समेटेर बन्दीपुर नगरपालिका घोषणा गरिएको थियो । २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसँगै साबिक बन्दीपुर नगरपालिका, घाँसीकुवाका गाविसको १ र ९ वडा र केशवटार गाविसका १, ८ र ९ वडालाई समावेश गरी छ वटा वडासहितको बन्दीपुर गाउँपालिका घोषणा भएको हो । २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र प्रचारप्रसारले बन्दीपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रूपमा विश्वभर प्रसिद्ध छ । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का तर्फबाट सुरेन्द्र थापा निर्वाचित हुनुभएको हो । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापासँग गोरखापत्रका तनहुँ समाचारदाता अमरराज नहर्कीले गर्नुभएको कुराकानी :