काठमाडौंको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थकहरूको प्रदर्शन जारी राखेका छन् । बल्खुस्थित जारी प्रदर्शनमा प्रदर्शनकारीले राजतन्त्रको पक्ष र गणतन्त्रको विपक्षमा नारा लगाएका छन् ।
सर्लाहीमा यो वर्ष धान उत्पादनमा कमी आएको छ । आकासे वर्षा कम हुँदा धान उत्पादनमा गिरावट आएको हो । मलखाद, विषादी, पप्पसेट र कामदारमा लागेको लगानी तथा आफ्नो हैरानी अनुसार धान उत्पादन राम्रो नहुँदा जिल्लाका किसान चिन्तित छन् ।
झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमानले बुधवार राति श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
काठमाडौँको तीनकुनेमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घले प्रदर्शन गरेको छ । प्रदर्शनमा युवा सङ्घका नेता कार्यकर्ताको उपस्थिति रहेको छ भने अहिले प्रदर्शन जारी छ ।
गोरखाको प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको मनकामना मन्दिर परिसरको सरसफाइ गरिएको छ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबुलकारले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर मनकामना मन्दिर र मन्दिर परिसरको सरसफाइ गरिइएको हो ।
सांसद हर्कमाया विश्वकर्माले अझै पनि जातीय विभेद कम हुन नसकेकोप्रति दुःख व्यक्त गर्नुभएको छ । जातीय विभेदका घटना पटक पटक संसद्मा उठाए पनि खासै सम्बोधन हुन नसकेको उहाँको भनाइ छ ।
सिन्धुली जिल्लाको कमलाखुँज क्षेत्रमा मुख्य बसोबास रहेको दनुवार समुदायले बिहीबार बर्की एकादशी पर्व धूमधामसँग मनाएका छन् ।
काठमाडौँको तीनकुने र बल्खु क्षेत्रमा सवारीसाधन अवरोध भएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार तीनकुनेमा युवा सङ्घको र्याली र बल्खुमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको मोटरसाइकल र्यालीका कारण उक्त क्षेत्रमा सवारीसाधन अवरोध भएको हो ।
आधुनिक जीवनशैली र खानपानका कारण बर्सेनि मुटुरोगका बिरामी बढेको भन्दै चिकित्सकले ‘बाल मुटु बचाउ’ अभियान सञ्चालन गरेका छन् । सानै उमेरमा मुटुको जाँच गर्नसके मुटुरोगबाट हुनसक्ने ठुलो क्षतिबाट बच्न सकिने भन्दै अहिले बालबालिकाको ‘मुटु बचाउ’ अभियान देशभर सञ्चालन भइरहेको छ ।
पोखराबाट निर्माण भएको चलचित्र 'चित्रा'को छायाङ्कन सकिएको छ । फिल्मका कार्यकारी निर्माता एवम् कलाकार सन्तोष अधिकारीले 'चित्रा' आगामी पुस २७ गते रिलिज हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पारिवारिक विषयवस्तुमा आधारित चलचित्र 'चित्रा' बाबुछोरीको कथा भएको निर्देशक घनश्याम लामिछानेले उल्लेख गर्नुभयो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले योजनाबद्ध र सार्थक पहल गरिरहेको बताउनुभएको छ ।
भूकम्पपीडितका लागि वडा अध्यक्षले एक लाख रुपियाँ सहयोग गर्नुभएको छ । चौरजहारी नगरपालिका–७ का वडा अध्यक्ष भीमप्रसाद जैसीले भूकम्पपीडितका लागि भन्दै व्यक्तिगत रूपमा एक लाख रुपियाँ सहयोग गर्नुभएको हो ।
हिजोआज विवाह, व्रतबन्ध र सांस्कृतिक कार्यक्रममा पञ्चेबाजा कम गुन्जिन्छन् । पश्चिमा संस्कृतिको नक्कल गर्नुका साथै आधुनिक प्रविधिको प्रयोग बढ्न थालेपछि मौलिक संस्कृति हराउँदै गएका छन् । मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सरकारी निकायबाट पहल हुनुपर्ने बुढापाका बताउँछन् ।
कर्णाली प्रदेशका दुई जिल्लाका तीन वटा पालिकामा कानुनी सहायता सम्बन्धी ६ हजार जनालाई स्थानीय तहमा कानुनी परामर्श सेवा दिइएको छ । दैलेखका दुई र कालिकोटका एक स्थानीय तहमा कानुनी परामर्श दिइएको हो ।
इजरायलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ । इजरायलको उक्त भनाइले हमाससँगको युद्ध रोक्नका लागि भएको महत्त्वपूर्ण सम्झौता रोकिएको छ ।