• २१ असार २०८१, शुक्रबार

दनुवार समुदाय 'बर्की एकादशी' मनाउँदै

blog

बर्की एकादशी पर्वका अवसरमा आफ्नै भेषभुषामा सजिएका दनुवार समुदायिका किशोरीहरु । तस्विर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, मङ्सिर ७ गते । सिन्धुली जिल्लाको कमलाखुँज क्षेत्रमा मुख्य बसोबास रहेको दनुवार समुदायले बिहीबार बर्की एकादशी पर्व धूमधामसँग मनाएका छन् । अन्य समुदायको मुख्य पर्वको रूपमा रहेको दसैँ, तिहार, छठ, माघी जस्तै दनुवार समुदायले आफ्नो मुख्य पर्वको रूपमा रहेको बर्की एकादशीलाई विगतका वर्षमा जसरी यो वर्ष पनि धूमधामसँग मनाएका हुन् । 

कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्वलाई दनुवार समुदायले मुख्य पर्वका रूपमा आफ्नो संस्कृति अनुसार बड्की पर्वको रूपमा मनाउने गर्छन् । 

दनुवार समुदायका अनुसार पर्व तीन दिनसम्म मनाउने चलन छ । पहिलो दिन परम्परा अनुसार किशोरी तथा महिलाहरू आ–आफ्नो टोलको मुखियाको घरमा भेला भएर नदीमा नुहाउने चलन छ। नदीबाट कलसमा जल लिएर सिधै दिवार (टोलमा बनाएको मन्दिर)मा पुगी पाँच पटक घुमेर जल चढाई अगरबत्ती बाल्दछन् । त्यसपछि कलसको जल टाउकोमा बोकेर घर फर्किएपछि व्रत सुरु हुन्छ । 

पर्वको दोस्रो दिन अर्थात् पर्वको मुख्य दिन अघिल्लो दिनको विधि पुनः दोहोर्‍याइन्छ । यसदिन जथाभाबी बस्न नहुने र बसिहाल्नु परे मुखिया अधिकारीले दिएको चामलले भूमिको पूजा गरेर मात्र बस्नु पर्ने रीतिथिति छ । दोस्रो दिन बड्की नृत्य देखाई दिनभर निराहार रातभर जाग्राम बस्ने परम्परा छ ।

पर्वको तेस्रो तथा अन्तिम दिन नदीमा गएर नुहाएर अमला वा ल्वाङ, सुकुमेल टोकेर नदीमा फालिन्छ । यसलाई पारन गरेको भन्ने चलन छ । त्यसपछि व्रतालुहरू घर फर्किन्छन् । दाइ वा भाइले एकादशी गरेको हो भनेर पाँच पटक सोध्छन् । व्रतालुले विधिवत् रूपमा व्रत सम्पन्न गरेको हुँ भनेपछि मात्र दही चिउरा खाएर बड्की एकादशी पर्व सकिने दनुवार जागरण समितिले जनाएको छ। 

दनुवार समुदायका अगुवा तथा दुधौली नगरपालिकाका उप–मेयर चन्द्रकिसोर थारु कमाखुँज क्षेत्रमा रहेका दनुवार समुदायको करिब ४० हजार घरपरिवारले हरेक वर्ष बर्की एकादशीलाई मुख्य पर्वका रूपमा मनाउँदै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "अन्य समुदायको दसैँ, तिहार, छठ, माघी, ल्होसार जस्तै हाम्रो समुदायको लागि बर्की एकादशी मुख्य पर्व हो । दनुवार जातिका लागि पहिले देखि नै चली आएको परम्परागत पर्व हो ।" 

विषेशगरी आफ्नो र परिवारको सुख, शान्ति, सुस्वास्थ्य, राम्रो होस भनेर उक्त पर्व मनाउने गरिएको उहाँले बताउनुभयो । अति सीमान्तकृत दनुवार जातीको मौलिक कला, संस्कृति र संस्कारको संरक्षण र संवर्द्धनका लागि भन्दै दुधौली नगरपालिकाले हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा समेत दिएको छ ।

बर्की एकादशी पर्वमा विशेष गरेर दनुवार समुदायका अविवाहित महिलाहरूले तीन दिनसम्म निराहार व्रत बसी आफू, परिवार र सुयोग्य वर प्राप्ति तथा सुख र शान्तिको कामना गर्ने गरेका दनुवार जागरण समितिका अध्यक्ष नारायण अधिकारी दनुवारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "यो वर्ष पनि बर्की एकादशी पर्वका अवसरमा बिहीबार दुधौली नगरपालिका–२ गागनमा दनुवार सांस्कृतिक मेला आयोजना गरिएको छ ।" 

मेलामा दनुवार समुदायको विशेष झाँकीका साथमा बड्की नाचको प्रदर्शन, दनुवार समुदायको भेषभुषामा व्रतालु महिलाद्वारा र्‍याली प्रदर्शन लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति गरिएको बताउनुभयो ।