• ८ वैशाख २०८२, सोमबार

बागलुङमा मोटरेबल पुल निर्माण अलपत्र

blog

ठेकेदारको लापरवाहीको कारण अलपत्र अवस्थामा परेको मोटरेबल पुल । तस्बिर : प्रदीप पन्त

प्रदीप पन्त

बागलुङ, वैशाख ८ गते । बागलुङका दुई वटा मोटरेबल पुल निमार्ण थालिएको आठ वर्षदेखि अलपत्र परेका छन् । सर्वसाधारणलाई यात्रामा सहज बनाउन बागलुङको पश्चिम ढोरपाटनको भूजीखोला ओखरवोट मोटरेबल पुल र गल्कोट नगरपालिकास्थित काँडेबास र मल्म जोडने दरमखोला मोटरेबल पुल निमार्ण थालिएको आठ वर्षदेखि अलपत्र परेको हो । 

ठेकेदार कम्पनीको लापरवाहीको कारण समय सिमाभित्र निमार्ण पुरा हुन नसक्दा स्थानीयवासी मर्कामा परेका छन् । दुई वटा मोटरेबल पुलको जिम्मा एउटै निमार्ण व्यवसायी वाई.पि. कन्स्ट्रक्सन जेभी.ले २०७३ सालमा निमार्णको जिम्मा लिएको थियो । निमार्ण व्यवसायीले समय सिमाभित्र काम पूरा गर्न नसक्दा स्थानियहरू निकै समस्यामा परेको गल्कोटका स्थानीय तेजप्रसाद सापकोटाले बताउनुभयो । 

हिउँदको समयमा खोला तर्न सकिने भएपनि बर्खाको समयमा खोला तर्नकै लागि सात किलोमिटर टाढा अर्को सडकको माध्यम प्रयोग गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । “पहिला फड्के तरेर खोलामा आवातजावत गर्नुपर्ने बाध्यता थियो, सापकोटाले भन्नुभयो, अहिले त्यो पनि मोटरेवल पुल निमार्णको क्रममा फालिएपछि थप समस्या भएको छ ।” 

विद्यार्थी र बिरामीहरूलाई आवाजजावत गर्न अहिले निकै कठिनाई हुने गरेको स्थानीय प्रेमबहादुर सुनारले बताउनुभयो । “गाउँ सडक सञ्जालले जोडियो,सुनारले भन्नुभयो, खोलामा मोटरेबल पुल आठ

वर्षदेखि अलपत्र हुदा आवतजावतमा निकै सास्ती खेप्नुपरेको छ ।” 

भुजीखोला ओखरबोट मोटरेबल पुलमा दुई करोड १६ लाख र दरमखोलाको मोटरेबल पुलमा तीन करोड ३२ लाख रुपियाँ लगानी भएपनि अहिलेसम्म निमार्ण भई बनेका संरचनाहरू जिर्ण बनेका छन । भूजीखोला मोटरेबल पुल २०७३ असोज २४ गते देखि काम गर्ने गरि तीन करोड ३४ लाख रुपियाँ र दरमखोला मोटरेबल पुलको २०७३ असोज १० गते सम्झौता गरी २८ महिनाभित्र सम्पन्न गर्ने छ करोड १७ लाख ५० हजार रुपैयाँको लागतमा वाई.पि. कन्स्ट्रक्सन जेभीले जिम्मा लिएको थियो । 

दुई वटा मोटरेबल पुल समय सिमाभित्र पनि नसक्दा दुई पटक म्याद थप गरिएको थियो । पटकपटक म्याद थप गर्दा समेत काम नगरेपछि ठेक्का तोडेर पुन नयाँ प्रक्रियामा जान फाइल अगाडि बढाएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुवेदीले बताउनुभयो । 

“नागरिकले सेवा सुविधा समयमा नपाएको सत्य हो, सुवेदीले भन्नुभयो, अब पुन छिटो पुल निमार्णको प्रक्रिया अगाडि बढ्छ ।” मोटरेबल पुलको ५० प्रतिशत काम गरेर बिचैमा छोडेपनि अहिले स्थानियवासीहरू मर्कामा परेका छन् । हिउँदमा खोलामा पैदल आवातजावत गर्ने गरेपनि बर्खाको समयमा निकै समस्या स्थानीयलाई झेल्नुपरेको छ । अलपत्र परेको मोटरेबल पुल निमार्णको लागि स्थानीयले दबाब दिँदै आएका छन् ।