गत मङ्सिर २६ गतेदेखि सुरु भएको महामहोत्सवको मुख्य दिन आज हजारौँ श्रद्धालुको उपस्थितिमा रङ्गभूमि मैदान बाह्रबिघामा सीताराम स्वयम्बर हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैणवले जानकारी दिनुभयो ।
नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क केही दिनअघि इलामको सूर्योदय नगरपालिका आउनुभएको थियो । राजदूत फेलिसिटीले इलामको चर्चित पर्यटकीय स्थल अन्तुडाँडा पुगेर सूर्योदयको दृश्यावलोकन गर्दै उहाँले कन्याममा जातीय पोसाकका तस्बिर खिचाउनुभयो ।
आज राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक बिहान ८ बजेबाट धुम्बाराहीमा बस्नेछ । बैठक आजबाट मङ्गलवारसम्म चल्नेछ । बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफल हुनेछ ।
विवाहपञ्चमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिनुभएको छ । त्रेता युगमा भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा उहाँले सम्पूर्ण नेपालीमा शुभकामना दिनुभएको छ ।
झापाका विभिन्न पालिकामा केही समययता हात्ती र मानवबिचको द्वन्द्व चर्कंदै गएको छ । यसले मानव र हात्ती दुवैतर्फ क्षति हुन थालेको छ । पहिला हुलमा रहने हात्ती अहिले छरपस्ट रूपमा झापाका अधिकांश पालिकामा देखिन थालेका छन् । यसले दिनप्रतिदिन जोखिम बढाएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । मानव र हात्तीबिचको द्वन्द्वले क्षति बढाएपछि यसको न्यूनीकरणका लागि लाग्नुपर्ने अवस्था आएको सरोकारवालाले बताउन थालेका छन् ।
मकवानपुरको मकवानपुर गढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । गाउँपालिकाले कोदो र धान कोदो प्रति केजी ५४, फापरको प्रतिकेजी सय र जुनेलोको प्रतिकेजी ८४ रुपियाँ हुने गरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।
पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएको मनाङमा अत्यधिक चिसो तथा तापक्रम माइनस हुँदा पर्यटक देखिनै छाडेका छन् । अरू महिनामा उल्लेख्य पर्यटक देखिए पनि डिसेम्बरमा भने फाट्टफुट्ट एक/दुई जना मात्रै देखिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।
सरकारको कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संविधानमा नै समाजवादको परिकल्पना अनुसार हामीले प्रभावकारी न्याय सम्पादनको लागि अदालतको काम चुस्त दुरुस्त र पारदर्शी बनाउनुपर्ने बताउनु भएको छ ।
चिनियाँ उपमन्त्री वाङ रुइजुनले लुम्बिनीको भ्रमण गर्नुभएको छ । उपमन्त्री वाङलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले स्वागत गर्नुभएको थियो । चिनियाँ उपमन्त्री वाङ रुइजुनसहित प्रवासी मित्रता सङ्घका अध्यक्ष झाङ के, गुआङ्दोङ प्रान्तको जातीय तथा धार्मिक मामिला आयोगका निर्देशक गुआङ्दोङ, धार्मिक तथा सांस्कृतिक आदान प्रदान सङ्घका अध्यक्ष झाङ वेई सम्मिलित टोलीसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलगायतका विषयमा उपाध्यक्ष डा. लामाले ध्यानाकर्षण गराउनुभएको थियो ।
बसाइँसराइका कारण रित्तिएका गाउँ । खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन् ।
जुम्ला जिल्लामा बालविवाह न्यूनीकरणका लागि सिँजा क्षेत्रका स्थानीय सरकार सक्रिय रूपमा जुटेका छन् । समाजमा व्यापक रूपमा बालविवाह हुने गरेको र त्यसले बहुविवाह, घरेलु हिंसा र मातृशिशु मृत्युदर बढाएकाले स्थानीय सरकार सक्रिय भएका हुन् । यस क्षेत्रमा भएका बालविवाहको विषयमा पहिलो पटक अध्ययन गरिएको छ । सिँजा क्षेत्रका तीन वटा स्थानीय सरकार सिँजा, हिमा र कनकासुन्दरी पालिकाको समन्वय तथा प्लान नेपाल र आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपालको सहयोगमा तीन वर्षको बालविवाह व्यापकता सर्वेक्षण तथा अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ ।
१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यही पुस ८ गतेबाट सुरु हुने भएको छ । पुतली बजार नगरपालिका १ माले बगर खेल मैदानमा तीन दिन सम्म चल्ने प्रतियोगिता जिल्ला खेलकुद विकास समिति स्याङ्जाले आयोजना गरेको हो ।
म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन ।
मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । शनिबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता ग्रहण गर्दै जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् ।
रुकुमपश्चिममा तीन हजार ७५० वटा अस्थायी निजी आवास निर्माण गरिएको छ । विभिन्न राजनीतिक दलले परिचालन गरेका स्वयंसेवकले जिल्लाभर भूकम्पपीडितका लागि तीन हजार ७२० वटा अस्थायी आवास निर्माण गरेका हुन् । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माका अनुसार नेकपा (माओवादी केन्द्र) ले तीन हजार स्वयंसेवक परिचालन गरेर तीन हजार १६८ वटा अस्थायी आवास बनाएको छ । माओवादी केन्द्रले आठबिसकोट नगरपालिकामा एक हजार ३०५, सानीभेरी गाउँपालिकामा ८५४, चौरजहारी नगरपालिकामा ६०७, त्रिवेणी गाउँपालिकामा ३०७, मुसीकोट नगरपालिकामा २४ र बाँफीकोट गाउँपालिकामा ७१ अस्थायी आवास निर्माण गरेको छ ।