गौमूल गाउँपालिकाको तुसारी गाड आगरमा स्टिल ट्रस्ट ब्रिज (पुल) बनेपछि स्थानीलाई आउजाउमा सहज भएको छ। पुस्ताैँदेखि यो गाडमा पुल नहुँदा स्थानीयवासी बर्खाको समयमा काठे पुलमा ज्यान जोखिम राखेर दैनिक आउजाउ गर्न बाध्य थिए। बर्खाको समय गाड तरेर नै यहाँका अधिकांश स्थानीय वल्लो पल्लो गाउँमा घर तथा वडापालिकामा जाने गर्दछन्। गाडमा पुल नहुँदा स्थानीयले बर्खाको समय खोला तरेर वा काठेपुल हालेर आउजाउ गर्ने गरेका थिए।
धनगढी उपमहानगरपालिका–८ का विष्णु चौधरी रिक्सा चलाएर गुजारा गर्नुहुन्छ । दिनभर रिक्सा चलाएर साँझ बिहानको छाक टार्दै आएका चौधरीको अहिले भने नियमित काम प्रभावित भएको छ । अत्यधिक गर्मी बढेपछि काम गर्न गाह्रो भएको चौधरी सुनाउनुहुन्छ । “बिहान र साँझ मात्रै केही समय रिक्सा चलाउने गर्दछु,” उहाँले भन्नुभयो, “गर्मीका कारण दिउँसो काम गर्न सकिन्न । सवारी (यात्रु) पनि भेटिँदैनन् ।”
तपाईँलाई पत्यार नलाग्न सक्छ १ चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन् । किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ । तर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत उपयोग गर्न पाएका छैनन् ।
नेपालगन्जमा बर्खाको समयमा सयौँ घर जलमग्न हुने गरेका छन्। सडकभन्दा कम उचाइमा निर्माण गरिएका घरभित्र बर्खाको समयमा पानी पसेर दुःख दिने गरेको छ। पहिले निर्माण गरिएका घरहरूभन्दा पछि निर्माण भएका सडकको उचाइ बढी भएकाले घरभित्र पानी पस्ने समस्याले विकराल रूप लिँदै आएको छ। यो समस्यालाई सम्बोधन गर्न घरको उचाइ बढाउन मिल्ने र घर पनि निश्चित क्षेत्रसम्म सार्न सकिने विधि नेपालगन्जमा भित्रिएको छ।
रुपन्देहीमा लागुऔषध सेवनकर्ता चालकको सडकमै परीक्षण गर्न थालिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले लागुऔषधको प्रयोग र ओसारपसार नियन्त्रणका लागि चालकहरूलाई सडकमै परीक्षण सुरु गरेको हो। चालकले नै लागुऔषध सेवन गरेको भन्ने जनगुनासो बढेपछि चालकको जाँच तथा परीक्षण सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक साकारराज पन्तले बताउनुभयो।
सुन्दर नगरी पोखरामा अहिले ठाउँठाउँमा फोहोरको थुप्रो भेटिन थालेको छ। पोखरा महानगरपालिका सडकमा शुव्रmबारदेखि फोहोर उठेको छैन। महानगरले ल्यान्डफिल साइटमा फोहोर पुर्नका लागि भाडामा लिएको एक्साभेटरलाई इन्धन भर्न पैसा उपलब्ध नभएपछि फोहोर सडकमै रहेको सरसफाइ शाखा प्रमुख कल्पना बरालले बताउनुभयो।
करिब दुई वर्ष आँखा आँसुले भरिएको देखिने कविता क्षेत्री सुनारको मुहारमा खुसी छाएको छ। आफ्नै बलात्कारको अभियोगमा श्रीमान् विपिन सुनार (पोतबहादुर) जिल्ला अदालतको फैसलाले १२ वर्ष जेल परेपछि कविताका दिन दुःखमा बित्न थालेका थिए। कविता न्याय खोज्दै उच्च अदालतमा पुगेपछि भएको फैसलाले उहाँको मुहारमा खुसी ल्याएको हो।
लालबन्दी नगरपालिका–११, बाहुनी र १३ को पत्थरकोट जोड्ने गरी बाहुनी खोलामा झोलुङ्गे पुल निर्माणको काम अलपत्र छाडिँदा बाहुनी गाउँ जोखिममा परेको छ । पुल निर्माणका लागि बाहुनी गाउँतर्फ खोलामा बाँधिएको बाँध भत्काएर ठुलो खाल्डो खनिएको लामो समय भइसक्दासमेत अलपत्र छाडिएकाले वर्षायाममा बाढी आएर गाउँतर्फ पस्ने जोखिम बढेको हो ।
कोरोना सङक्रमण सुरु भएयता पूर्वको प्रमुख पर्यटकीय नगरी भेडेटारमा निकै कम मात्र पर्यटक पुग्ने गरेका थिए । कोरोनाको प्रकोप अन्त्य हुन नपाउँदै सुरु भएको आर्थिक मन्दी भेडेटारमा पर्यटक नपुग्ने अर्को कारण बन्यो । करिब पाँच वर्ष सुनसान बनेको भेडेटारमा केही दिनयता भने निकै चहलपहल छ । भेडेटारमा चहलपहल बढ्नुको एक मात्र कारण हो, तराईमा बढेको गर्मी ।
मेची राजमार्गमा पर्ने सदरमुकाम फिदिमको मुख्य सडकसँगैका सहायक सडकहरू कालोपत्रे गरिएको छ । कुल १० करोड रुपियाँको लागतमा समर्पित अस्पतालदेखि चारखम्बेसम्मको एक हजार सात सय मिटर र सहायक सडकको एक हजार छ सय मिटर गरी कुल तीन हजार तीन सय मिटर सडक कालोपत्रे गरिएको हो ।
सामुदायिक विद्यालयको वातावरणलाई हरियाली बनाएर विद्यार्थी र अभिभावकको आकर्षण बढाउने उद्देश्यले दोलखामा हरित विद्यालय कार्यक्रम कार्यान्वयन गर्न थालिएको छ। सामुदायिक विद्यालयमा सौन्दर्य बढाउन र वातावरण संरक्षणका लागि हरित विद्यालय कार्यक्रम अन्तर्गत ‘एक विद्यालय एक हरित पार्क’ कार्यक्रम अनुसार बाल उद्यान निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख थिरबहादुर कार्कीले जानकारी दिनुभयो।
दोलखाको भीमेश्वर नगरपालिका–२ को सोक्ला गाउँमा साहसिक पर्यटन प्रवर्धनका लागि ‘रक क्लाइम्बिङ’ सुरु गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटक भित्रिँदा यस क्षेत्रको आर्थिक समृद्धि र विकासमा सहयोग पुग्ने भएकाले ‘रक क्लाइम्बिङ’ सुरु गरिएको सोक्ला पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले बताउनुभयो।
बागमती प्रदेश सरकारले प्रदेशभित्र आश्रममा रहेका र सीमान्तकृत समुदायका सबै व्यक्तिलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्ने भएको छ। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले यो समूहको स्वास्थ्य बिमा गर्ने गरी काम अगाडि बढाएको हो। ज्येष्ठ नागरिक, अनाथ, बालगृहलगायतका आश्रममा रहेकाको पहिचान गरी स्वास्थ्य बिमाबापत लाग्ने खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको हो। बागमती प्रदेशभित्रका कतिपय स्थानीय तहले विभिन्न मापदण्ड बनाएर स्थानीय तहभित्रका नागरिकको स्वास्थ्य बिमा गरिदिँदै आएका छन्।
चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन केन्द्रमा २० वटा बच्चालाई प्रयोगशालामा राखेर जन्माएको छ। अहिले प्रजनन केन्द्रमा रहेका भालेको स्वास्थ्य राम्रो नभएपछि २० वटा अन्डालाई प्रयोगशालाको इन्कुबेटरमा राखेर ३२ डिग्री तापक्रममा बच्चा जन्माइएको हो। प्रजनन केन्द्रमा रहेको र नदीबाट ल्याएको गरी दुईवटा भाले भए पनि स्वास्थ्य राम्रो नरहेका कारण प्रजनन क्षमता कमजोर भएकाले प्रयोगशालाको भर पर्नु परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।
गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको बताउनुभयो ।