• १३ असोज २०८१, आइतबार

सम्पदा क्षेत्र सार्वजनिक खरिद ऐन अनुसार निर्माण नगरौँः प्रमुख महर्जन

blog

ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवस समारोहमा सहभागी हुुनुहुँदै प्रधानमन्त्रीलगायत । तस्बिरः कबिता थापा

काठमाडौं, पुस २ गते । ललतिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग गरेर सम्पदा क्षेत्र निर्माण हुन नसक्ने बताउनुभएको छ ।

सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ललितपुरमा तीन ठाउँमा बन्न लागेका फ्लाइ ओभरहरु सबै एक चरणमा बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सम्पदा शहरका मन्दिर, देवालयहरु टेण्डर बनाएर काम काम सम्पन्न हुनै धेरै समय लाग्ने बताउनु भयो ।

‘‘ग्वार्कोको फ्लाइ ओभर छिटो बनोस् । यहाँको ट्राफिक व्यवस्थापन यति अस्तव्यवस्त भयो की कुरा गरेर साध्य छैन । एकान्तकुना, ग्वार्कोसहितका तीन वटा पुल एकैपटक बनाऔँ । चाहे २४ वा ३० महिना लागोस् । त्यसको लागि एउटा पुल बनाउन ललितपुर महानगरपालिकाले लगानी गर्नेछ । म प्रधानमन्त्रीज्युलाई आग्रह गर्दछु ।,’’ ललतिपुर महानगरपालिकाका प्रमुख महर्जनले भन्नुभयो, ‘‘यही वर्षमा १२ करोड र अर्को वर्षमा १२ करोड राखाँै सकिन्छ । तर एकै पटकमा सबै सक्नुपर्छ । यो सम्पदा शहरका मन्दिर, देवालयहरु टेण्डर बनाएर काम गर्दा केही हुँदैन । सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग नगरी बनाएका मन्दिरहरु छिटो बनेका छन् । यो ठूलो कुरा हो । सार्वजनिक खरिद ऐन, २०६३ लगाए कुनैपनि मन्दिर बन्दैनन् । सम्पदा क्षेत्र निर्माणका लागि सार्वजनिक खरिद ऐन नलगाइदिनुस् ।’’

प्रमुख महर्जनले ओखरपौवाका जनतालाई काठमाडौं उपत्यकाका मानिसले पाप दिएको जस्तो भएको भन्दै त्यसो गर्नु नहुने बताउनु भयो । उहाँले दीर्घकालीन रुपमा काठमाडौं उपत्यकाको फोहोर चाँडो व्यवस्थापन गर्न आवश्यक रहेको औंल्याउनुभयो ।