उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रणाली चेन अफ कमान्डबाहिर चल्न नसक्ने बताउनुभएको छ। उहाँले भन्नुभयो, “चेन अफ कमान्ड कमजोर गरेर सुरक्षा निकाय परिचालन हुन सक्दैन। अहिले चेन अफ कमान्ड सुस्पष्ट रूपमा सुदृढ तुल्याइएको छ।” राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा उहाँले शान्ति सुरक्षा आमनागरिकसँग मात्र सम्बन्धित नभई राजनीतिक परिवर्तनको औचित्य र दिगोपनसँग जोडिएको विषय पनि बताउनुभयो। उहाँले मुलुकको भू–राजनीतिक संवेदनशीलता र राष्ट्रको सुरक्षासमेतलाई ध्यान दिएर शरणार्थीलगायतका विषयमा आवश्यक नीति लिइने जानकारी दिनुभयो।
सरकारले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न पाँचवर्षे नयाँ राष्ट्रिय कार्ययोजना ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याएको हो । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात नहुँदा नेपालको वैदेशिक व्यापार घाटा बढ्दै गएपछि त्यसलाई कम गर्न कार्ययोजना ल्याएको हो । यसअघि २०७५ सालमा ल्याएको व्यापार घाटा न्यूनीकरणसम्बन्धी कार्ययोजना कार्यान्वयन नभई मन्त्रालयले पुनः नयाँ कार्ययोजना ल्याएको हो ।
स्वास्थ्य चौकीलाई पानी नदिँदा बन्द प्रसूति सेवा सुचारु गर्न पञ्चेश्वर गाउँपालिकाले पानीका ट्याङ्कर बोलाएको छ । पञ्चेश्वर गाउँपालिका–१ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीको प्राङ्गण भएर सल्ला बस्ती र धामकुडी मन्दिरमा जाने पाइपबाट स्वास्थ्य चौकीलाई धारा दिन सम्भाव्यता अध्ययनसमेत हुने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले देशभरका सरकारी निकायले प्रयोग गरेका सामाजिक सञ्जालको प्रयोग र अवस्थाबारे सात दिनभित्र जानकारी गराउन निर्देशन गरेको छ । देशभरका सरकारी कार्यालय, संवैधानिक आयोग र सरकारी निकायले गरेका फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको अवस्थाबारे जानकारी गराउन निर्देशन दिएको हो ।
प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइको प्रक्रियामाथि नै प्रश्न उठाउँदै बहुसङ्ख्यक उजुरीकर्ताले संसदीय सुुनुवाइ समितिसँगको छलफललाई अस्वीकार गरेका छन् । उहाँमाथि उजुरी दिने २९ मध्ये १६ जनाले आफ्ना जायज मागको सुनुवाइ गर्न समिति इच्छुक नदेखिएको भन्दै समिति बैठकबाट बाहिरिए । समितिकै बैधतामाथि प्रश्न उठाएका उजुरीकर्ता समितिसमक्ष धारणा राख्न तयार भए पनि कुरा सुनुवाइ नभएको भन्दै छलफलको बिचबाटै बाहिरिएका छन् ।
नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (युएई) सरकारबीच श्रम सम्झौता नवीकरण भएको छ ।
रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका ५ दुदिलचौरमा निर्माणाधीन बुरालमष्टको मन्दिर । यो मन्दिर जिल्लाको प्रसिद्ध धार्मिकस्थल मध्य एक हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणलाई गुनासो सम्बोधन गर्ने काममा प्रतिस्पर्धा गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विद्युतीय सुशासन कायमका लागि सबै सरकारी कार्यालयको सामाजिक सञ्जालको खाता नियमित सञ्चालनको सुनिश्चित गर्न निर्देशन दिएको छ।
आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
घटनास्थलमा प्रहरी पुग्न ढिलाइ भएको आरोप लाग्दैआएका बेला छिटो सेवा दिन जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा ल्याएको छ ।
धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष वुलन यादव ७० हजार घुससहित पक्राउ पर्नुभएको छ।
चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत जुडोका लागि आठ खेलाडी छनोट भएका छन् । नेपाल जुडो सङ्घले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा बुधबार आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट आठ खेलाडीको अन्तिम छनोट गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पुर्ख्यौली थलो दहगाउँ आएर प्रतिमा अनावरण गर्न पाउँदा निकै खुसी लागेको बताउनुभएको छ ।