• २० असोज २०८१, आइतबार

मन्त्री किरातीको स्पष्टीकरण : धर्मनिरपेक्ष राष्ट्रमा सबै फूल बराबर हुन्

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती ।

काठमाडौं, पुस ५ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ।  

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।  मन्त्री किरातीले बुधबार एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण अहिले आलोचना भइरहेको छ।  

बिहीबारको समितिको बैठकमा सांसदले पनि मन्त्री किरातीसँग जिज्ञासा राखेपछि उहाँले यस्तो बताउनुभएको हो।  धर्मनिरपेक्षता राष्ट्रमा सबै फूलहरू, धर्म सांस्कृतिक एकै फूलबारीमा फुलेको फूल भएको र फूलबारीका कुनै पनि फूल अस्वीकार गर्ने संविधान विरोधी भएको टिप्पणी गर्नुभयो।  

उहाँले सबै धर्मको सम्मान गर्नुपर्ने भन्दै एक धर्मले अर्को धर्मलाई स्वीकार नगर्नेहरू  संविधान विरोधी भएको र संविधान नमान्ने देशद्रोही भएको बताउनुभयो।  उहाँले आफूले सो कार्यक्रममा सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भड्काउने प्रयास कसैले गर्नु नहुने बताएको जानकारी गराउनुभयो।  उहाँले लोकतन्त्रमा सडकमा लाठी घुमाउन पाइने तर अर्काको नाकमा हिर्काउन नपाइने बताउनुभयो।  संविधानलाई मानेर निर्वाचन जितेर आएका सांसदले संविधानसम्मत प्रश्न गर्नुपर्ने उहाँको भनाइ थियो। 

उहाँले भन्नुभयो, ‘‘माफी माग्ने, राजीनामाको कुरा पनि छ।  हिजो म एउटा कार्यक्रममा गएको थिएँ।  त्यो कार्यक्रममा मैले बोलेको कुरा के हो भने संविधानको भावनाअनुसार हामी चल्नुपर्छ।  हाम्रो सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भड्काउने कोसिस कसैले गर्नु हुँदैन, धर्मनिरपेक्ष राष्ट्रमा सबै फूलहरू, धर्मसंस्कृतिक, फूलबारीमा फुलेको फूल जस्तै हुन्।  जसले यो फूल अस्वीकार गर्छ, त्यो शब्दमै भन्दा देशद्रोही भनेको छु।  संविधान नमान्ने देशद्रोही त हो।  राजतन्त्र हुँदा गणतन्त्रको ग भन्दा मृत्युदण्ड हुन्थ्यो।  निरङ्कुशतामा लोकतन्त्रको ल भन्दा मृत्युदण्ड हुन्थ्यो।  तर लोकतन्त्रमा त्यो हुँदैन, भन्न पाइन्छ।  लोकतन्त्रमा सडकमा लठी चाहिँ घुमाउन पाइन्छ, अर्काको नाकमा हिर्काउन पाइँदैन।  कसले सडकमा, चिया पसलमा के भन्यो भन्दा पनि यही संविधानमा आधारित, यही संविधानलाई नै मानेर, निर्वाचन नै लडेर जितेर आएको साथीहरूले संविधानलाई नै केन्द्रमा राख्नुपर्छ, यो प्रश्न पनि गैरजिम्मेवारी प्रश्न हो।  संविधानसम्मत प्रश्न हो।  यो नैतिकताको मात्रै प्रश्न होइन, सिद्धान्तको पनि प्रश्न हो।  यस्तो प्रश्न यही संविधान स्विकारेर आएका मानिसहरूले, चुनाव जितेर आएका मानिसले गर्नु शोभनीय हुँदैन।  कि त संविधान मान्दिन भन्नुपर्छ।  मानेपछि संविधानको लयमा बस्नुपर्छ। ’

मन्त्री किरातीले संविधान मानिसकेपछि संविधानको लयमा बस्नुपर्ने बताउनुभयो।