सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका समिरसिंह निर्वाचित हुनुभएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौँडा क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका अभि मैनाली निर्वाचित हुनुभएको छ । बुधवार बिहान सम्पन्न भएको मतगणनाअनुसार २ सय ५१ मतसहित मैनाली विजयी हुनुभएको हो ।
युक्रेनले बुधबार रुसमाथि अमेरिका–समर्थित युद्धविराम प्रस्ताव प्रभावकारी रूपमा अस्वीकार गरेको आरोप लगाएको छ ।
स्याङजामा स्ववियुको चुनावी प्रक्रिया सुरु भएकामध्ये पाँच वटा क्याम्पसको नतिजा सार्वजनिक भएको छ । मंगलबार सम्पन्न भएको वालिङ बहुमुखी क्याम्पस र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले सभापति जितेको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्मा आफूले व्यक्त गरेको अभिव्यक्तिप्रति आत्मसमीक्षा गर्दै क्षमा याचना गर्नुभएको छ ।
पत्रकार ऋषि थपलिया युवा पत्रकारिता पुरस्कार–२०८१ बाट सम्मानित हुनु भएको छ । पाँचौँ एपिक अवार्डको अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यको हातबाट थपलियालगायत सम्मानित हुनुभएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्धबारे दुई घण्टाभन्दा बढी टेलिफोन वार्ता भएको छ। वार्तामा ३० दिनका लागि युक्रेनको ऊर्जा तथा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति भएको ह्वाइट हाउसले जनाएको छ।
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा रु ८००ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
काठमाडौँ, चैत ६ गते । विगत पाँच वर्षदेखि म राष्ट्रियसभाको सदस्य छु । यो सभाअन्तर्गतको ‘विधायन व्यवस्थापन’ समितिमा रहेर पनि काम गर्दै आएको छु । राष्ट्रियसभाका सदस्यको मुख्य भूमिका भनेको कानुन बनाउने हो, जुन काम राष्ट्रियसभाले सक्रियताका साथ गरिरहेको छ । दलित समुदायभित्र पनि तराई मधेसका दलितको प्रतिनिधित्व गरेर राष्ट्रियसभामा आएको हु । दलित समुदायभित्र पनि तराईका दलितको आर्थिक अवस्था अत्यन्त नाजुक छ । राजनीतिक र सांस्कृतिक अवस्था पनि कमजोर छ । नेपालको जनसङ्ख्यामा दलितको कुल जनसङ्ख्या ३५ लाख ५३ हजार ६८ (१३.४ प्रतिशत) छ, जसमध्ये पहाडी दलित २३ लाख नौ हजार छ सय २२ (६५ प्रतिशत) छन् । मधेसी दलितको जनसङ्ख्या १२ लाख ४३ हजार चार सय ४६ (३५ प्रतिशत) छ । मधेस प्रदेशको कुल जनसङ्ख्या आठ लाख ८४ हजार दुई सय १३ मध्ये १५.३५ प्रतिशत मधेसी दलित छन् । राज्यका निकायमा मधेसी दलितको सहभागिता न्यून जस्तै छ । मधेसी दलित समुदायबाट सङ्घीय संसद् र सरकारमा शून्य प्रतिनिधित्व छ । प्रदेशसभामा पनि जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व पुगेको छैन । एक सय सात सदस्यीय प्रदेशसभामा पाँच जना मात्र दलित सांसद छन् ।प्रत्यक्ष निर्वाचित सांसद एक जना मात्र हुनुहुन्छ । नेकपा (एमाले) का नेता लखनदास तत्मा धनुषा–२ (१) बाट निर्वाचित हुनुभएको हो । निर्वाचन आयोगको विवरणअनुसार चार समानुपातिक सांसद छन् । समानुपातिकतर्फ जनता समाजवादी पार्टीबाट ललिता दास, जनमत पार्टीबाट रञ्जुकुमारी मण्डल खङ्ग, नेकपा (एमाले) बाट पल्टीदेवी महरा र नेपाली कांग्रेसबाट नीलमकुमारी रजक दलित सांसद हुनुहुन्छ । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशका एक सय ३६ स्थानीय तहमध्ये प्रमुखमा एक जना मधेसी दलित मात्रै निर्वाचित हुनुभएको थियो । उपप्रमुख जित्ने दुई जना हुनुहुन्छ । त्यसैगरी, एक हजार दुई सय ७१ वडामध्ये २६ वटामा मात्र दलितले जितेका छन् । कानुनले नै बाध्यकारी बनाएको दलित महिला पदबाहेक अन्य सदस्यमा तीन सय ४७ जनाले जितेका छन् । यो माथिको तथ्य हेरियो भने पनि नीतिनिर्माण तहमा मधेसी दलितको प्रतिनिधित्व अत्यन्त कमजोर छ । त्यसैले मधेसी दलित समुदायको प्रतिनिधित्व जनसङ्ख्याको आधारमा हुनुपर्छ । मधेस प्रदेशमा जातीय भेदभाव तथा छुवाछूतको समस्या उस्तै छ । अहिले पनि भोजभतेरमा दलित समुदायलाई विभेद गरिन्छ । जातीय भेदभाव तथा छुवाछूतका घटना भएपछि ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८’ अनुसार उजुरी दिँदा पनि प्रहरी प्रशासनले कारबाही गर्न मान्दैन । कार्यान्वयन गर्न नसक्नुको कारण भनेको राजनीतिक दलहरूले स्थानीय तहमै मिलापत्र गरिदिने चलन छ । समाज परिवर्तनमा राजनीतिक दलहरु नै बाधक बन्ने गरेका छन् । तराईमा अहिले पनि जातीयताकै कारण मधेसी दलित महिलामाथि हत्या, हिंसा र बलात्कारका घटना भइरहेका छन् । नेताले कार्यकर्ता बचाउने काम गर्दा पीडितले न्याय पाउन सकेका छैनन् । संसद्मा पटकपटक आवाज उठाउँदा पनि सरकारले सुनिरहेको पाइन्न । सिरहामा दलितलाई छुट्टै राखेर भोज खुवाएको घटनामा राष्ट्रियसभामा पटकपटक आवाज उठाउँदा पनि सरकारले सुनेन । त्यो बेलामा मैले एक्लै संसद् घेराउ गरेको थिएँ । त्यसपछि मात्रै मुद्दा दर्ता भएको थियो । मधेसका जिल्लामा पटकपटक अन्तरजातीय विवाहसम्बन्धीका घटना भइरहेका हुन्छन् । तर राज्यले त्यसलाई गम्भीरतापूर्वक लिएको हुँदैन । दलितको सवालमा संविधानको प्रस्तावना, धारा २४ र ४० को पनि व्यावहारिक रूपमा कार्यान्वयन हुनसकेको छैन । अहिलेसम्म पनि कानुन बन्न सकेको छैन । जबसम्म राज्य इमान्दार हुँदैन तबसम्म समग्र दलित समुदायको समस्या समाधान हुन सक्दैन । मधेसी समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन । अहिले संविधान संशोधनको चर्चा चलिरहेको छ । तर संविधान संशोधनको विषय के हो भन्ने कुरा कसैलाई थाहा छैन । संशोधन गर्नुभन्दा पहिला त विषयमा प्रष्ट हुनुपर्ने होला नि ? यदि समानुपातिक समावेशी सवालमा संशोधन गर्ने हो भने सीमान्तकृत समुदायको निम्ति ठूलो अपमान हुन्छ । संशोधनको नाममा सीमान्तकृत समुदायको अधिकार खोस्ने खतरा पनि उत्तिकै छ । त्यसैले सचेत हुन जरुरी छ । सङ्घीयताका बारेमा बाहिर मिडियामा जे प्रचार गरिएको छ, त्यो गलत छ । सङ्घीयता भनेको जनताले छिटो सेवा पाउने, सुविधा पाउने विषयसँग जोडिएको छ । यसलाई बलियो बनाउन प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्छ । अधिकार सबै सङ्घीय सरकारमा थुपार्ने अनि कसरी सङ्घीयता सुदृढ हुन्छ ? जनतालाई सुशासनको प्रत्याभूति गराउन सकेको खण्डमा सङ्घीयता झन् बलियो हुन्छ । सुशासनको निम्ति सरकारका कामकारबाही पारदर्शी हुनुपर्छ । विभिन्न मुद्दाका आरोपीमाथि कारबाही हुनसकेको छैन । मिटरब्याजपीडितको समस्या सुल्झेको छैन । व्यवस्था परिवर्तन भएको छ तर जनताको अवस्था परिवर्तन नहुनुको मुख्य कारण भनेको देशमा रोजगारीको सृजना नहुनु हो । देशमा उद्योग, कलकारखाना बन्द गरेर जनताको अवस्थामा परिवर्तन हुँदैन । गरिब युवा महँगो ब्याजमा ऋण काडेर विदेशिन बाध्य छन् । जबसम्म हामीले उत्पादनमा ध्यान दिँदैनौँ तबसम्म जनताको अवस्थामा परिवर्तन आउँदैन । माध्यमिक विद्यालय परीक्षा (एसइई) दिँदासम्म नेपाली विद्यार्थी नेपालमै हुन्छन् । तर एसइईपछि विस्तारै विदेशिनेक्रम सुरु हुन्छ । एसइईमा प्रत्येक वर्ष पाँच लाखको हाराहारीमा विद्यार्थी सहभागी हुन्छन् । दश जोड दुईमा आउँदा त्यो सङ्ख्या चार लाख हुन्छ । त्यसपछि त्यो सङ्ख्या ह्वात्तै घटेर दुई लाख हुन्छ । १२ कक्षा उत्तीर्ण भएपछि सबै नेपाली विद्यार्थीको चाहना विदेश जाने देखिएको छ । यसको मूल जड भनेको हाम्रो शिक्षा प्रणाली नै व्यावहारिक छैन । विदेशमा पढ्दै काम गर्दै गर्न सकिन्छ । हाम्रो देशमा त्यस्तो शिक्षा प्रणाली छैन । देशको अवस्था देखेर युवापुस्तामा निराशा बढ्दो छ । मेरो अबको भूमिका भनेको दलित समुदायको निम्ति एकीकृत कानुन निर्माण गर्नेतर्फ केन्द्रित हुन्छ । नौ वर्षसम्म संविधानअनुसार दलितका लागि कानुन निर्माण हुनसकेको छैन । जनताको सवाललाई संसद्मा उठाउने र सरकारको ध्यानाकर्षण गराउनमा मेरो भूमिका रहन्छ । राष्ट्रियसभा सदस्य राधेश्याम पासवान विगत पाँच वर्षदेखि राष्ट्रियसभाको सदस्य हुनुहुन्छ । रासस
प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा आजको बैठक सुरुभएको हो ।
जिल्लालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकको हालसम्म ४२ किलोमिटर मा ट्रयाक (मार्ग) खुलेको छ । छत्तीस किलोमिटरमा सवारीसाधन चल्न थालेका छन् ।
मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभाव, बढ्दो पलायनदरलगायत प्रभाव पर्वतका उद्योग व्यवसामा प्रत्यक्ष रूपमा परेको छ । पर्वतमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा एक सय ३३ उद्योगको दर्ता खारेज गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समाजवादी अभियानका नीति तथा कार्यक्रम अनुमोदन गराउन यही चैत १० गतेभित्र मातहतका सबै कमिटीका बैठक गर्न आह्वान गरेको छ ।
मध्यम फलदायी महिना रहेको छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाला । शारीरिक आरोग्यता अनुकूल रहने छ । आर्थिक पक्षका कामबाट राम्रै लाभ मिल्ने छ । मानसम्मानका साथै पदप्रतिष्ठासमेत बढेर जाने सम्भावना छ ।
अजय शाहमहोत्तरी, चैत्र ६ गते । “मेरो हृदय भन्छ, एक दिन मेरो छोरा फर्किन्छ,” उमेरले ८५ वर्ष पुगिसकेकी बर्दिबास नगरपालिका–३, पाटु की एक आमा दुर्गा कुमारीलाई छोरो फर्केर आउने आस मरिसकेको छैन । ‘बुढेसकाल भयो, आज मर्छु कि भोलि । कमसेकम छोराको मुख हेरेर मर्न पाए स्वर्ग पुग्थेँ होला,’ गहभरि आँसु बनाउँदै दुर्गाकुमारीले भनिन्, ‘मरेको प्रमाणित भए बरु किरिया गर्थेँ ।’२२ वर्ष अघि २०५९ साल जेठ २० गते दाजु गोविन्द कार्कीलाई भेट्न भनेर निस्केका कान्छो छोरा रामबाबु कार्की त्यस पछि अहिले सम्म घर फर्किएका छैनन् ।युद्धकालीन सो समयमा दुर्गाकुमारीले रेडियोमा बज्दै गरेको सेना र माओवादी लडाकुबिच भिडन्त भएको र मानिसहरू मरिरहेको समाचार रेडियोबाट सुनेकी थिइन् ।२०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउँदै समाचार सुनिरहेको आमा दुर्गाकुमारीको मानसपटलमा अझै ताजै छ ।केही दिनअघि मात्र काठमाडौँबाट क्याम्पस बिदाको मौका पारेर घर आएका रामबाबु समाचार सकिएपछि नजिकै आएर भने, ‘आमा, म ठुलादाजुलाई भेट्न लमजुङ जान्छु ।’रामबाबुले जेठो दाजुलाई भेट्न बेसीसहर जाने जिद्दी गर्न थाले । यति टाढा युद्धकालीन अवस्थामा लक्का जवान २२ बर्से कान्छो छोरालाई पठाउन आमाको मन पटक्कै मानेको थिएन । तर, छोराले जिद्दी गर्न थाले पछि आमा दुर्गाले भारी मन बनाउँदै पठाउन बाध्य हुनु भयो।’प्रतिकूल अवस्थामा दाजु गोविन्द कार्कीलाई भेट्न आमाबाबुसँग बिदा भएर छुटेका छोरा एकाएक हराए । भाइ भेट्न आउँदै गरेको समाचार थाहा पाएर कुरिरहेका दाजु कुरेको कुर्यै भए । भाइ न दाजुसँग पुगे, न फर्किएर घरै आए ।’ आमा दुर्गा कुमारीले भन्नुभयो ।रामबाबुका बाबु डम्बरबहादुरलाई पनि श्रीमतीले भनेजस्तै छोरा जिउँदै छ भन्ने आस रहेको बताउनुहुन्छ।उहाँले भन्नुभयो, ’मेरो हृदयले भन्छ– छोरो फर्केर आउँछ,’रामबाबु तीन दाजुभाइमा कान्छो हो । माइला दाजु मोहन कार्की रिटायर नेपाल आर्मी हुनुहुन्छ भने जेठा गोविन्द विद्युत् प्राधिकरणका रिटायर कर्मचारी हुनुहुन्छ ।दुवै दाजुहरूको जागिरे भएको हुँदा रामबाबुलाई पढाइमा खासै समस्या थिएन । उनी काठमाडौँको एक क्याम्पसमा डिप्लोमा अध्ययनरत थिए।आमा दुर्गा कुमारी भन्नुहुन्छ, ’कतिपय आफन्तले रामबाबुलाई आर्मी वा माओवादीले बाटैमा मारिसक्यो भनेर पनि सुनाउँछन् ।तर मनले मानेको छैन’लमजुङमा अझ सरकारी र विद्रोही पक्षबिच बेलाबेला झडप भइरहन्थ्यो । जिल्लामा कैयौँ मानिस मरेका समाचार बज्थे । त्यसैले धेरै जनाले उक्त अवस्थामा लमजुङ जाँदा रामबाबु पनि दोहोरो भिडन्तमा परेको हुन सक्ने आशङ्का गर्छन् । तर, आमाको मन न हो, दुर्गाकुमारीलाई अहिले पनि छोरा कतै जिउँदै छ भन्ने लागिरहेकै छ ।दुर्गाकुमारी भन्नुहुन्छ, ’सरकारले पनि छोराको खोजी गरिदेओस् , ‘कि सास, कि लासको यकिन गर्दिनुपर्यो नि !,’छोरा फर्किने आस अझ जीवित नै रहेकोले अंशबन्डा समेत नगरेको बताउनु हुँदै उहाँले भन्नुभयो, ’भाइ हराएपछि दाजु गोविन्दले पनि धेरै खोजी गरे । युद्धकै अवस्थामा उनले माओवादी कमान्डरहरूसँग सम्पर्क गरेर भाइको अवस्था पत्ता लगाउन खोजे । आर्मी, प्रहरीका उच्च पदस्थहरूसँग पनि सोधखोज गरे । तर, भाइको विषयमा कतैबाट यकिन जानकारी पाएनन् । ‘जेठो र माइलोले अब भाग लगाउनुपर्छ भन्छन् । तर, म मानेकी छैन,’ उनले भनिन्, ‘कमसेकम मरे÷बाँचेको टुङ्गो त लाग्नुपर्यो नि !’अहिले दुर्गाकुमारीलाई हिँडडुल गर्न समेत गाह्रो हुन्छ लौराको सहाराले यताउता हिँडडुल गर्नुहुन्छ । उहाँ मात्र होइन, पति डम्बरबहादुर पनि लौराको सहाराबिना यताउता गर्न नसक्ने अवस्थामा हुनुहुन्छ । जेठा र माइला छोरा भिन्नै घर बनाएर बसेका छन् । यतिको उमेरमा पनि दुर्गाकुमारी आफैँ खाना पकाउनुहुन्छ र पति–पत्नी मिलेर खानुहुन्छ । उहाँले छोरो फर्किने आसले ऊर्जा आउने गरेको बताउनुहुन्छ।रामबाबुका बाबु डम्बरबहादुरले भन्नुभयो, ’कमसेकम यो समाचार हेरिसकेपछि कान्छो हामीलाई सम्झेर आउँछ कि।’ दुर्गाकुमारीले पनि ‘अब तपाईँहरूले समाचार छापी दिएपछि, कहीँ कतैबाट समाचार हेरेर भए पनि छोरो घर फर्किन्छ कि !’सङ्क्रमणकालीन अवस्थामा बेपत्ता भएकाहरूको खोजी र छानबिन गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बनेका छन् । कानुनसमेत बनिसकेको छ । तर, अझै बेपत्ता भएकाहरूको नामसमेत सूचीकृत हुन सकेको छैन । अहिलेसम्म रामबाबुजस्ता बेपत्ता भएका परिवारले ३ हजार २८८ वटा उजुरी दर्ता गराएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जनाएको छ ।आयोगमा दर्ता भएकामध्ये ४१४ वटा उजुरी सत्य निरूपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार पर्ने गरी पठाइएकामा १३७ उजुरी फिर्ता आएको आयोगको अभिलेखमा उल्लेख छ । जसमध्ये १३६ उजुरी दोहोरो परेकाले लगत कट्टा गरिएको, २९२ तामेलीमा राखिएको, ४८ उजुरी आयोगबाट निर्णय भएर स्थिति सार्वजनिक गरिएको, ७५३ उजुरी फर्स्योट भएको र तामेलीमा राखिएकामध्ये ८ वटा उजुरीमा कारबाही प्रक्रिया अघि बढाइएको आर्थिक वर्ष २०७९÷८० मा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।मधेस प्रदेशमा पनि अहिलेसम्म २१५ वटा उजुरी परेको आयोगले जनाएको छ । जसमध्ये विस्तृत छानबिनका लागि १५३, प्रारम्भिक छानबिनका लागि ७ वटा, तामेलीमा राखिएका १२ वटा, दोहोरो परेर लगत कट्टा गरिएका ६ वटा, सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाइएका ३३ वटा छन् । जसमध्ये ४ वटा उजुरीको भने स्थिति सार्वजनिक भइसकेको छ ।तर, सूचनाको पहुँच तथा सरोकारवालाको बेवास्ताले न रामबाबु जस्ता बेपत्ता व्यक्तिहरूको खोजबिना भएको छ, न त कुनै अभिलेख नै राखिएको छ । त्यसैले दुर्गाकुमारीजस्ता सयौँ परिवारका सदस्यले रामबाबु जस्तै बेपत्ता बनेकाहरूको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।