• ८ भदौ २०८२, आइतबार

५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

blog

निर्माण गरेर राप्ती सोनारीका विपन्नलाई वितरण गरिएको नयाँ घर । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, साउन ३० गते ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाले पालिकाभित्रका घरबारविहीन अति विपन्न परिवारलाई घर निर्माण गर्ने भनी सुरु गरेको योजना अनुसार ५२ अति विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ ।

विपन्न वर्ग आवास कार्यक्रमअन्तर्गत गाउँपालिकाले सङ्घीय सरकारको बजेटबाट आर्थिक वर्ष २०८१/८२ मा निर्माण गरिएका घरको चाबी र प्रमाणपत्रसहित पालिकाका नौ वटा वडाका ५२ परिवारलाई हस्तान्तरण गरेको हो ।

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले दुई करोड चार लाख ८६ हजार ८२६ रुपियाँको लागतमा बनेका ५२ वटा घरहरूलाई गाउँपालिकाका नौ वटै वडाका ५२ अति विपन्न परिवारलाई हस्तान्तरण गरिएको बताउनुभयो ।

उहाँले अब गाउँका कुनै नागरिकले पनि पानी चुहिने छानामुनि निदाउन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रमलाई निरन्तरता दिने योजना बनाइएको जनाउँदै आगामी वर्षदेखि घरसँगै बगैँचा, पानी ट्याङ्की र परिवारको आयआर्जनका लागि साना तालिम कार्यक्रम पनि जोडिने बताउनुभयो ।  

गाउँपालिकाका अध्यक्ष पौडेलले थप्नुभयो, “यो केवल घर होइन, यो सम्मान र सुरक्षा पनि हो । हामीले यसलाई विपन्न वर्गलाई आत्मसम्मानसहित बस्न पाउने अधिकारको रूपमा लिएका छौँ ।’’

गाउँपालिकाकी उपाध्यक्ष मनीषा सिंह थारूले पनि यो कार्यक्रमलाई घर निर्माण मात्र नभई, विपन्नले एक सुरक्षित र गरिमामय जीवन सुरु गर्ने आधार भएको जनाउँदै यसलाई निरन्तरता दिने बताउनुभयो ।

उहाँले पालिकाका थप विपन्नलाई पनि यो योजनामा जोड्दै जाने जनाउँदै लाभग्राही परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरतर्फ पनि अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले गाउँपालिकाले समयमै योजना कार्यान्वयन गरेर देखाएको यो सफल उदाहरण बनेकाले यसले प्रत्यक्ष रूपमा विपन्न परिवारको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाको विनौनास्थित वडा नम्बर ५ को कार्यालयमा वडा नम्बर ३, ४, ५, ६ र ७ का लाभग्राहीलाई र वडा नम्बर ८ को समशेरगञ्ज कार्यालयमा वडा नम्बर १, २, ८ र ९ का लाभग्राहीलाई घरको साँचो र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

पक्की इँटा, बलियो छाना र उज्यालो कोठासहितको नयाँ घर हात परेपछि धेरै विपन्नहरु खुशीले रोएको देखिएको वडा नम्बर पाँचका वडा अध्यक्ष झगरु थारूले बताउनुभयो ।

उहाँले विपन्नहरुले पक्की नयाँ घर पाएपछि वर्षातमा पानी चुहिने डर, हिउँदमा चिसो सताउने पीडा र गर्मीमा भुइँमा बस्ने बाध्यता सबै अन्त्य भएको बताउनुभयो ।