जिल्लामा नागरिकता प्रमाणपत्रभन्दा राहदानी प्रमाणपत्र लिनेको सङ्ख्या धेरै छ । जिल्ला प्रशासन कार्यालयसहित दमक र गौरीगञ्जको इलाका प्रशासन कार्यालयबाट नागरिकता र राहदानी वितरण हुँदै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार साउनमा झापामा एक हजार २८९ जनालाई नेपाली नागरिकता प्रमाणपत्र वितरण गरिएको छ । जबकि सोही महिनामा दुई हजार ३३३ जनालाई राहदानी प्रमाणपत्र वितरण भएको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर्वका रुपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गरिन्छ । पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचनपर्वको नामले पनि प्रख्यात छ । कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकका रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभएको छ । नेपाली हिन्दू महिलाको महान पर्व हरितालिका (तीज), २०८२ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम होस् भन्ने कामना गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले तीज पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै सांस्कृतिक पहिचानलाई जोगाउन र सामाजिक समरसता कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । हरितालिका तीज, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि आज शुभकामना व्यक्त गर्दै उहाँले भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व धार्मिक आस्था, सांस्कृतिक गौरव र पारिवारिक प्रेमको अनुपम प्रतीक भएको बताउनुभयो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले पारिवारिक तथा सामाजिक सम्बन्ध विस्तार गर्नुका साथै महिला अधिकार, सशक्तीकरण र समानताका लागि एकजुट हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
उपसभामुख इन्दिरा रानाले तीज पर्वले लैङ्गिक समानता र महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । हरितालिका तीजका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दै उहाँले भन्नुभयो, “हरितालिका तीजले नेपाली महिलालाई सशक्तीकरणको दिशामा अघि बढ्न तथा समाजमा विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्यका लागि सन्देश दिन्छ ।”
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्दै जानुपर्नेमा जोड दिनुभएको छ ।
हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३:०० बजेदेखि खोलिएकाे पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी पाल्नुहुने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुलाई सहज रुपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथका चार ढोका बिहान ३ः०० बजेदेखि नै चार ढोका खुला भएकाे कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो ।
सङ्घीय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने मुख्य राजमार्गका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ राजमार्गमा चाडपर्वलक्षित मर्मत तथा सुधार योजना लागु गरिएको छ । नजिकिँदो दसैँ, तिहारलगायतका चाडपर्वलाई ध्यानमा राख्दै सडकको अवस्था सुधार्न सो योजना लागु गरिएको सडक विभागले जनाएको छ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को प्रतिवेदन पारित गरेको छ । समितिले विधायन ऐनको मर्मबमोजिम नियमावली बनाउने सम्बन्धित विषय ऐनमै उल्लेख गरी प्रतिवेदन तयार गरेको हो ।
सरकारले सरकारी सेवा प्रवाहको गुणस्तर सुधार, पारदर्शिता वृद्धि र जवाफदेहिताको महत्वपूर्ण माध्यमका रूपमा मानिने व्यवस्थापन परीक्षण कार्यान्वयनलाई प्रभावकारी बनाउने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तीन वटै तहका व्यवस्थापन परीक्षण कार्यान्वयनलाई थप प्रभावकारी बनाउन लागेको हो ।
अब नदी किनार तथा बाढी प्रभावित क्षेत्रका नागरिकले फोनकलबाट बाढीको पूर्वसूचना पाउने भएका छन् । यसका लागि जल तथा मौसम विज्ञान विभागले बाढी प्रभावित क्षेत्रका जनताको मोबाइलमै बाढीको पूर्वजानकारी गराउने तयारी गरेको छ । विभागले ‘इन्ट्रयाक्टिभ भ्वाइस रेस्पन्स’ (आइभिआर) प्रणाली लागु गर्न लागेको जनाएको छ ।
कैलालीमा नयाँ प्रजातिको कछुवा फेला परेको छ । खपटामा ताराजस्तै चिन्ह भएको इन्डियन स्टार कछुवा फेला परेको हो ।
जिल्लाको कृष्णनगर नगरपालिका वडा २ स्थित शाह कम्प्लेक्सदेखि गुरुद्वारा सडकतर्फ जाने बाटोको दक्षिणतर्फको झाडीभित्र बेवारिसे अवस्थामा शव फेला परेको छ ।