• १० भदौ २०८२, मङ्गलबार

व्यवस्थापन परीक्षण प्रभावकारी बनाइँदै

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ १० गते । सरकारले सरकारी सेवा प्रवाहको गुणस्तर सुधार, पारदर्शिता वृद्धि र जवाफदेहिताको महत्वपूर्ण माध्यमका रूपमा मानिने व्यवस्थापन परीक्षण कार्यान्वयनलाई प्रभावकारी बनाउने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तीन वटै तहका व्यवस्थापन परीक्षण कार्यान्वयनलाई थप प्रभावकारी बनाउन लागेको हो ।

व्यवस्थापन परीक्षण निर्देशिका–२०७९ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहका निकायमा व्यवस्थापन परीक्षण कार्यान्वयनलाई थप प्रभावकारी बनाउने तयारी मन्त्रालयले गरेको छ । नेपाल सरकारका विभिन्न सङ्घीय मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई आफ्नामातहतका निकाय व्यवस्थापन परीक्षण गरी प्रतिवेदन तत्काल मन्त्रालयमा पेस गर्न बिहीबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारीलाई निर्देशन दिनुभयो । त्यस्तै मन्त्रालयले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र ७५३ वटै स्थानीय तहलाई पनि व्यवस्थापन परीक्षण गर्न वा निर्देशिकाका आधारमा आवश्यक कार्यविधि तयार गरी सो कार्य गर्न ती निकायलाई पत्र पठाउने तयारी गरेको छ । 

गत आर्थिक वर्ष २०८१/८२ मा १८ वटा सङ्घीय मन्त्रालयसहित २६ वटा निकायको व्यवस्थापन परीक्षण सम्पन्न भएको थियो । चालु आव २०८२/८३ मा ३० वटा सङ्घीय मन्त्रालय तथा निकायको व्यवस्थापन परीक्षण गर्ने लक्ष्य समावेश भएको छ ।