डा. नवराज लम्सालको नयाँ महाकाव्य ‘कल्प’ सार्वजनिक भएको छ । शुक्रबार एक समारोहबिच उक्त महाकाव्य सार्वजनिक गरिएको हो । पूर्वमन्त्री तथा सांसदहरू गगन थापा, विद्या भट्टराई, सुदन किराँती, सांसद मनिष झा, समीक्षक राजकुमार बानियाँ र लेखक स्वयंले संयुक्त रूपमा उक्त महाकाव्य सार्वजनिक गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, कला, संस्कृति र सम्पदा हाम्रो सान, पहिचान र वैभव भएको बताउनुभएको छ । नेपालमा पहिलो पटक आयोजना गरिएको ‘नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल–२०२५’ को शुक्रबार उद्घाटन गर्दै उहाँले नेपाललाई विश्वमा चिनाउने प्रमुख आधारका रूपमा रहेका कला, संस्कृति र सम्पदाको संरक्षण, संवर्धन तथा प्रवर्धन सरकार मात्र नभएर निजी क्षेत्र र आमनागरिक सबैको साझा दायित्व भएको बताउनुभयो ।
नेवार समुदायले हर्षोल्लासका साथ शनिबार इन्द्रजात्रा पर्व मनाउने भएको छ । भाद्र शुक्ल एकादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९३ पैसा र बिक्रीदर १४१ रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ ।
भारत सरकारले वस्तु तथा सेवा कर (जिएसटी) दरमा परिवर्तन गरेपछि त्यसको असर नेपाली बजारमा झन् बढी पर्ने चिन्ता विराटनगरका उद्योगी व्यवसायीले गरेका छन् । नेपालका करका दर, कारण वस्तु उत्पादन लागत बढी पर्ने गर्छ । भारतले घटाएको जिएसटी दरको प्रभाव खुला सिमाना भएको नेपाल जस्तो देशमा अझै पर्ने चिन्ता गरिएको हो ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित प्रिमियर वायर्सले भारतीय ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बिआइएस) बाट गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा उत्पादन हुने विद्युतीय तार निर्यात गर्ने पहिलो उद्योगले बिआइएस पाएको हो ।
मध्य भोटेकोशी जलविद्युत् आयोजनाले भदौ अन्तिम सातादेखि व्यावसायिक उत्पादन गर्ने भएको छ । सिन्धुपाल्चोककै सबैभन्दा ठुलो १०२ मेगावाट क्षमताको आयोजनाले भदौ १६ देखि परीक्षण उत्पादन गरिरहेको छ ।
सरकारी स्वामित्वका नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले एकैसाथ नयाँ अध्यक्ष पाएका छन् ।
खाद्य उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा अबदेखि अनलाइनबाट गर्न सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सरकारी सेवालाई अनलाइनमार्फत सहज बनाउने उद्देश्यले खाद्य उद्योग दर्ता, सिफारिस, अनुमतिपत्र जारी र नवीकरणका सेवा अनलाइनमार्फत उपलब्ध गराउन थालेको हो ।
दसैँलक्षित मुस्ताङबाट बाहिरिने भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण नगरे सीमाक्षेत्रमा रोकिने भएका छन् । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र मुस्ताङले मुस्ताङमा उत्पादन भएकासहित तिब्बतलगायतका क्षेत्रबाट आउने भेडाच्याङ्ग्राको अनिवार्य स्वास्थ्य परीक्षण गरेपछि मात्रै जिल्लाबाट बाहिर पठाउने जनाएको छ । केन्द्रका प्रमुख डा. लालमणि अर्यालले जोमसोममा ज्वरोलगायत शारीरिक परीक्षण गरेपछि मात्रै ७२ घण्टाभित्र थासाङ गाउँपालिकाको घाँसाबाट बाहिरिने गरी स्वास्थ्य परीक्षण कार्ड दिने बताउनुभयो ।
संसदीय सुनुवाइ समिति सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित हुनुभएको छ ।
सुरक्षण मुद्रण केन्द्रले छाप्ने भनेको ३० लाखप्रति सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) पनि ढिलाइ हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल सूचीकृत हुन आह्वान गरेपछि एक्स (ट्विटर) सम्पर्कमा आएको छ । एक्सको सिङ्गापुर कार्यालयले सूचीकृत हुन सञ्चार मन्त्रालयलाई शुक्रबार इमेलमार्फत पत्र पठाएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाविधेशनको पहिलो दिन आज विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न भएको छ ।