गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २१ गते । संसदीय सुनुवाइ समिति सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित हुनुभएको छ । एकल मनोनयन परेसँगै खतिवडा निर्विरोध भएको घोषणा समितिमा गरिएको छ । संयुक्त समितिको सभापति पद भदौ ११ गते रिक्त भएपछि नयाँ निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । सभामुखसँग पद तथा गोपनीयताको शपथपछि उहाँले कार्यभार समाल्नुहुने छ । मनोनयनका लागि बिहीबार तोकिएको समयभित्र खतिवडाको एकल मनोनयन दर्ता भएको थियो । खतिवडाको प्रस्तावकमा कांग्रेसकै श्यामकुमार घिमिरे र समर्थकमा नेकपा (एमाले) का महेशकुमार बर्तौला हुनुहुन्छ ।
सङ्घीय निजामती विधेयकको प्रतिवेदन लेखनमा गम्भीर त्रुटि भएको र त्यसमा सभापतिको हैसियतले जिम्मेवार रहेको संसदीय विशेष समितिको ठहरपछि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट साउन २७ गते राजीनामा दिनुभएको थियो । राजीनामा दिएको तीन सातापछि खतिवडालाई पुनः संयुक्त समिति सभापतिको उम्मेदवार बनाइएको हो । संयुक्त समितिमा सभापति रहनुभएकी ईश्वरीदेवी न्यौपानेलाई राज्यव्यवस्था सभापति बनाइएको छ ।