• २१ भदौ २०८२, शनिबार

एमाले विधान महाधिवेशन : पहिलो दिन विभिन्न प्रतिवेदन प्रस्तुत

blog

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाविधेशनको पहिलो दिन सहभागी प्रतिनिधिहरु ।

ललितपुर, भदौ २० गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाविधेशनको पहिलो दिन आज विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न भएको छ । 

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित आजदेखि ललितपुर, गोदावरीस्थित सनराइज हलमा सुरु भएको विधान महाधिवेशनमा विभिन्न चार वटा प्रतिवेदन प्रस्तुत गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार भोलि (शनिबार) बिहान ८ बजे बस्नेगरी आज महाधिवेशनको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ । उहाँले आज प्रस्तुतीकरण गर्न समय अभावका कारण नभ्याइएका निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन भोलि बिहान प्रस्तुत हुने बताउनुभयो । “आज हामीले सबै प्रतिवेदन प्रस्तुत गर्न भनेका थियौँ, समय अभावका कारणले तीन वटा भोलि प्रस्तुत हुनेछ ।”

भोलि बिहान तीन वटा प्रस्तुतीकरण सकिएपछि बिहान १० बजेदेखि सबै प्रतिवेदनमाथि समूहगत छलफल हुने उहाँले बताउनुभयो । आज पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आफ्नो जिम्मेवारीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

भोलि बिहान केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ । महाधिवेशनको समसामियक प्रस्ताव लेखनको संयोजकको जिम्मेवारी योगेश भटटराईलाई दिइएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकको हैसियतमा ३१५ जना थपगरी कूल दुई हजार ३४१ जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।