गठबन्धन दलहरू छलफलमै :एमालेले चवालीस वडामा टुङ्ग्यायो उम्मेदवार
अमरगढी समाचारदाताडडेल्धुरा, वैशाख ५ गते । स्थानीय तहको निर्वाचन हुन २६ दिन बाँकी रहँदा सत्ता गठबन्धन दलहरूबीच डडेल्धुरामा कुन पालिका कसले लिने भन्नेमा सहमति हुन सकेको छैन । केन्द्रको निर्णयअनुसार गठबन्धनमा जाने सहमति गरेका दलले मनोनयनको दिन नजिकिँदासम्म ठोस निर्णय गर्न सकेका छैनन् । काँग्रेस जिल्ला कार्य समिति सभापति भीमबहादुर साउदले शनिबार बैठक बसेर उम्मेदवारको सहमति गरिने बताउनुभएको थियो तर आइतबारसम्म पनि सहमति हुनसकेको छैन । नेकपा माओवादी केन्द्रले सातवटा पालिका रहेको डडेल्धुरामा एउटा नगरपालिकासहित दुईवटा गाउँपालिकामा दाबी गरिरहेको छ । माओवादीले परशुराम नगरपालिका, आलिताल गाउँपालिका र अजयमेरु गाउँपालिकामा दाबी गरेको हो । माओवादीले ०७४ को स्थानीय चुनावमा अजयमेरु जितेको थियो । नेकपा (एमाले)ले सदरमुकाम रहेको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा जितेकोमा अहिले नवदुर्गाका अध्यक्ष र उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)का प्रवेश गरेका छन् । समाजवादीले नवदुर्गा र अमरगढी नगरपालिका दाबी गरेको छ । अमरगढीका निर्वाचित उपप्रमुख पनि अहिले समाजवादीमा छन् । गत चुनावमा पर्शुराम नगरपालिका, अजयमेरु, भागेश्वर, गन्यापधुरा र आलिताल गाउँपालिका जितेको काँग्रेसले सातैवटा पालिकामा दावेदारी गरिरहेको छ । काँग्रेसको सातौँ जिल्ला अधिवेशनबाट असन्तुष्ट बन्नुभएका तत्कालीन जिल्ला कार्य समिति सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले सातवटा पालिकामा काँग्रेस एक्लै लड्नुपर्ने र आफूहरूको चित्त नबुझे सातै पालिका र ५२ वटै वडामा बागी उम्मेदवार बनाउने चेतावनी दिइरहनुभएको छ । डडेल्धुरामा गठबन्धनको विपक्षी दल नेकपा (एमाले)ले भने ५२ वटा वडा रहेको डडेल्धुराका ४४ वडामा वडाध्यक्ष र सदस्यको उम्मेदवारीको टुङ्गो लगाइसकेको छ भने बाँकी वडामा पनि सहमतिका आधारमा टुङ्ग्याइने एमाले डडेल्धुरा अध्यक्ष प्रकाशबहादुर साउदले बताउनुभयो ।
छ लेन सडकको म्याद सकियो, काम सकिएन
धनगढी समाचारदाताधनगढी, वैशाख ५ गते । कैलालीमा निर्माणाधीन मोहना पुल–अत्तरिया छ लेन सडकको चौथो पटक थप गरिएको म्याद सकिए पनि काम भने पूरा हुन सकेको छैन । गुणस्तरहीन ब्लक प्रयोग गरेको भन्दै अख्तियारमा उजुरी परेपछि अन्तिम अवस्थामा पुगेको काम केही समय रोकिएका कारण निर्माण कार्यले पूर्णता पाउन नसकेको हो । कालोपत्रे सडक निर्माणको काम पूरा भए पनि फुटपाथ क्षेत्रमा कतिपय काम बाँकी रहेका छन् । सडक निर्माणका लागि निर्माण कम्पनीलाई दिइएको समयावधि भने चैत मसान्तमा सकिएको छ । चौथो पटक थप गरिएको म्याद अवधि पनि काम पूरा नहुँदै सकिएपछि निर्माण कम्पनीले पाँचौँ पटक म्याद थप गर्नुपर्ने माग राख्दै आयोजनाको कार्यालयमा निवेदन दिएका छन् । कम्पनीले अन्तिम पटक असार मसान्तसम्म म्याद थप गर्नुपर्ने माग राखेको आयोजना प्रमुख रामबहादुर गुरुङले बताउनुभयो । “पाँचौँ पटक म्याद थपका लागि निर्माण कम्पनीले निवेदन दिएका छन्,” उहाँले भन्नुभयो, “अब डेढ महिनाभित्रै काम पूरा गर्ने सुनिश्चितता भएपछि मात्रै म्याद थपको फाइल अगाडि बढाउँछौँ ।” काम सम्पन्न गर्ने सुनिश्चितता नभएमा आयोजनाको कार्यालयले जरिवाना असुलेर काम गराउने उहाँको भनाइ छ । “डेढ महिनाभित्रै काम सम्पन्न गर्न सक्ने सुनिश्चितता नभएसम्म म्याद थप गर्दैनौँ,” उहाँले थप्नुभयो, “बरु म्याद सकिएको दिनदेखिको जरिवाना असुलेर भए पनि काम गराउँछौँ ।” धनगढी उपमहानगरपालिकाको मोहना नदी पुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चौकसम्म १४.२ किलोमिटर रहेको छ लेन सडकको निर्माण कार्य २०७४ साल जेठबाट सुरु भएको थियो । हालसम्म ९५ प्रतिशत काम पूरा भइसकेको आयोजना प्रमुख गुरुङले बताउनुभयो । तीन प्याकेजको छुट्टाछुट्टै ठेक्का गरेर निर्माण कार्य अगाडि बढाइएको थियो । एक अर्ब ६५ करोड रुपियाँ लगानीमा बनेको छ लेन सडक निर्माण गरेबापत निर्माण कम्पनीले ९० प्रतिशत रकम भुक्तानी लिइसकेको आयोजनाको कार्यालयले जानकारी दिएको छ । अब फुटपाथ र सर्भिस लेनमा रेलिङ लगाउने, रङरोगन गर्ने, बोर्ड र ट्राफिक सङ्केत राख्न बाँकी रहेको छ । निर्माण कम्पनीले यी कार्य नगर्दा छ लेन सडकमा ट्राफिक नियम पालना गराउन चुनौती भएको छ । मान्छेले विभिन्न ठाउँमा मिडियन फुटाएर जथाभावी एक लेनबाट अर्को लेनमा सवारी लैजाने, बाटो काट्ने गरेका छन् । छ लेनको निर्माण कार्य नसकिएका कारण ट्राफिक प्रहरीलाई ट्राफिक नियम पालना गराउन पनि चुनौती रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख वकिलबहादुर सिंहको भनाइ छ । छ लेन सडक निर्माणको सुरुवातमै पनि अख्तियारमा उजुरी परेको थियो । यसैगरी सडक अधिकार क्षेत्रमा पर्ने संरचना हटाउनमा ढिलाइ हुँदा पनि सुरुवाती समयमा काम तदारुकताका साथ हुन पाएन । पछि कोरोना महामारीका कारण निर्माणको कार्य प्रभावित भएको थियो । पछिल्लो समय कोरोना प्रभावकै कारण काम पूरा नभएको भन्दै छ महिनाका लागि चौथो पटक म्याद थप गरिएको थियो । भन्सारस्थित मोहना पुलदेखि बोराडाँडीसम्म ४.५ किलोमिटरको पहिलो खण्डमा शर्मा–अमर–नागार्जुन जेभीले काम गर्ने ठेक्का पाएको थियो । यसैगरी बोराडाँडीदेखि गेटासम्मको ४.५ किलोमिटर खण्डमा लुम्बिनी–राजेन्द्र–डाँफे र गेटादेखि अत्तरिया चोकसम्म लामा–राजेन्द्र–डाँफे जेभीले काम गरिरहेका छन् ।
सुदूरपश्चिम सरकारले भाषासम्बन्धि कानुन बनाउने
भवानी ऐरगोदावरी (कैलाली), बैशाख ४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भाषासम्बन्धि कानून चाँडै ल्याउने बताउनुभएको छ । भाषा आयोगका अध्यक्ष डा. लबदेव अवस्थी नेतृत्वको टोलिसँगको भेटघाटमा मुख्यमन्त्री भट्टले सो कुरा बताउनुभयो । आईतबार मुख्यमन्त्री भट्टसँग भाषा आयोगको टोलीले भेटघाट गर्दै प्रदेशमा सरकारी कामकाजको भाषा कार्यान्वयनमा ल्याउनुपर्ने आग्रह गर्नु भएपछि मुख्यमन्त्री भट्टले प्रदेश ऐन आउँदो अधिवेशनमै पेश गरिने बताउनुभयो ।भाषा आयोगले हालै प्रकाशनमा ल्याएको आफ्नो पाँचौं बार्षिक प्रतिवेदनबारे सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी र मुख्यमन्त्री भट्टलाई जानकारी गराएको बताउनुभयो । आयोगका अध्यक्ष डा. अवस्थीले सुदूरपश्चिम प्रदेशमा बोलिने भाषाबारे र सरकारी कामकाजको भाषासम्बन्धि संवैधानिक प्रावधानअनुसार बहुसंख्यक जनताले बोल्ने भाषालाई प्रदेश कानूनमा समेट्न सुझाएको बताउनुभयो ।
बझाङमा काँग्रेस सभापति सवार गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
शैलेन्द्र राेकायाबझाङ, वैशाख ४ गते । बित्थडचिर गाउँपालिका–४ देउलेकमा आइतबार बिहान पौने १ बजे सुपप्र ०१००१ च ००९५ नम्बरको जिप दुर्घटना हुदाँ सुर्मा गाउँपालिका २ का २७ वर्षीय विनोद बोहराको घटनास्थलमै मृत्यु भएको छ । मृतक बोहरा नेपाली काँग्रेसका सभापति खड्कबहादुर बोहराका जेठा छोरा हुनुहुन्छ।प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टका अनुसार नेपाली काँग्रेसका सभापति खड्कबहादुर बोहरा पनि दुर्घटनामा पर्नुभएकाे छ।त्यस्तै, दुर्घटनामा घाइते भएका एक जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । सभापति बोहराकी बुहारी कञ्जु बोहराको अवस्था गम्भीर रहेकाले धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य सात जनाको अवस्था सामान्य छ । चैनपुरबाट धनगढी हिँडेको जिपमा नौ जना सवार थिए । उनीहरूमध्ये अधिकांश बोहराका आफन्त छन्।
जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते
बझाङ, वैशाख ४ गते । जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरकाे जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा विनोद बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिनुभयो । यसैगरी घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ का १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका–२ का १९ वर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा छन् । घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्जुको उपचार हुन नसकेपछि धनगढी सिफारिस गरिएको छ । प्रहरीका अनुसार जीपमा तीन महिला र छ पुरुष सवार थिए ।जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टसहितको टोली घटनास्थलतर्फ गएको र नेटवर्कको समस्याका कारण घटना के–कति कारणले भएको हो भन्ने विवरण नखुलेको सूचना अधिकारी चौधरीले बताउनुभयो ।
कैलालीमा पाँचदलीय गठबन्धनबाट बाहिरियो जसपा
अविनाश चौधरीधनगढी, वैशाख ३ गते । कैलालीमा जनता समाजवादी पार्टी (जसपा) पाँच दलीय गठबन्धबाट बाहिरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल पुनर्गठन भएदेखि गठबन्धनप्रति रुष्ट सो पार्टीले यो जिल्लामा गबन्धनबाट अलग हुँदै अन्य दलसँग चुनावी गठबन्धन गरेको हो । आफ्नो एक जना प्रदेश सभा सदस्य हुँदाहुँदै बाइपास गरेर प्रदेश सरकारको मन्त्रीमण्डल पुनर्गठन गरिएको भन्दै सो दलले असन्तुष्टि जनाएको थियो । मन्त्रीमण्डल पुनर्गठन भएलगत्तै असहमति जनाएको जसपाले स्थानीय तहमा मत मिल्ने अरु पार्टीसँग चुनावी तालमेल हुन सक्ने बताएको थियो । सोहीअनुसार सो पार्टी चार दलीय चुनावी गठबन्धनमा मिलेको छ । जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले स्थानीय तहको चुनावमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । वैशाख १ गते बसेको चारै पार्टीको संयुक्त बैठकले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरी अगाडि बढ्ने सैद्धान्तिक र वैचारिक निर्णय गरेको थियो । गठबन्धन दलहरुले शनिबार पत्रकार सम्मेलन गरेर गठबन्धनले आह्वान गरेअनुरुप निर्वाचन प्रक्रियामा होमिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।गठबन्धनको नीति, निर्देशन इमान्दारिताका साथ सबै दलका नेता कार्यकर्ताले पालना गर्ने गराउने चारवटै दलबीच सहमति भएको नेपाल लोकतान्त्रिक पार्टीका कैलाली अध्यक्ष माधव चौधरीले जानकारी दिनुभयो । पहिचान र अधिकारका खातिर सङ्घर्षरत दलहरु तालमेल गरेर चुनावमा अगाडि बढ्ने उहाँले बताउनुभयो ।
संविधानले तोकेको जिम्मेवारी पूरा गर्न आयोग तत्पर छ : आयुक्त तुलाधर
अविनाश चौधरीधनगढी, वैशाख ३ गते । निर्वाचन आयुक्त डा. जानकी तुलाधरले संविधानले तोेकेको जिम्मेवारी पूरा गर्न निर्वाचन आयोग सदैव तत्पर रहेको बताउनुभएको छ । आयोगले आज धनगढीमा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले आयोग आफ्नो जिम्मेवारी पूरा गर्न तत्पर रहेको बताउनुभएको हो । आयुक्त तुलाधरले स्थानीय तहको निर्वाचन सफल रुपले सम्पन्न गर्न आयोग तालिकानुसार अगाडि बढिरहेको बताउनुभयो । ‘सबै एकताबद्ध भएर यो निर्वाचन सफल पार्नुपर्छ’, उहाँले भन्नुभयो ।बदर मत सङ्ख्या घटाउन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने उहाँको भनाई थियो । निर्वाचन सफल पार्नमा सञ्चार जगतको भूमिका महत्वपूर्ण रहने आयुक्त तुलाधारले चर्चा गर्नुभयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले सञ्चारजगत र पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता बारेमा प्रस्तुति गर्नुभएको थियो । उहाँले सबै राजनीतिक दलसँग खुला र तटस्थ रहेर सूचना सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभयो । यसैगरी, मत बदर सङ्ख्या घटाउन मतदाता शिक्षाको रुपमा काम गर्न पत्रकारलाई आग्रह गर्नु भयो । ‘निर्वाचनमा सञ्चारको भूमिका मतदाता, आयोग र दलबीच पुलको काम गर्ने हो’, उहाँले भन्नुभयो । कुनै पनि दल, नेताका पक्षमा लबिङ गर्नु आचारसंहिताको उलङ्घन रहेको उल्लेख गर्नुहुँदै सदस्य जोशीले त्यस्तो नगर्न पत्रकारलाई आग्रह गर्नुभयो । कार्यक्रममा आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतपत्रबारेमा जानकारी गराउनुभयो । स्थानीय तहको निर्वाचन निर्देशिकाअनुसार मतपत्रमा चुनाव चिन्ह राखिएको उहाँले बताउनुभयो । ‘छ नम्बरसम्म राष्ट्रिय मान्यता प्राप्त दलहरुको चुनाव चिन्ह र २४ देखि उपरान्त स्वतन्त्र उम्मेदवारका लागि चुनाव चिन्ह राखेर मतपत्र छफाइ भएको छ’, उहाँले भन्नुभयो ।
वडघर र भलमन्साका लागि पाँच लाखको अक्षय कोष
कञ्चनपुर वेशाख ३ गते (रासस) । कृष्णपुर नगरपालिकाले थारु समुदायको अगुवाइ गर्ने वडघर र भलमन्साको नगरस्तरीय समितिका लागि पाँच लाखको अक्षय कोष स्थापना गरेको छ । वडघर भलमन्सा समितिलाई संस्थागत रुपमा काम अगाडि बढाउन सहयोग पु¥याउन अक्षय कोष स्थापना गरिएको हो । कोषको रकमको व्याजबाट वडघर भलमन्साले आयोजना गर्ने सामाजिक कार्यसँगै बैठक, छलफल, सांस्कृतिक समारोह, कला संस्कृति जगेर्ना गर्ने कार्यमा सघाउ पु¥याउने नगर प्रमुख कर्णबहादुर हमालले बताउनुभयो ।“सामाजिक र सांस्कृतिक समारोह आयोजना गर्न आवश्यक रकमको चाँजोपाँजो मिलाउन सहयोगी संस्था गुहार्नुपर्ने अवस्था रहेको थियो”, उहाँले भन्नुभयो, “यसै आर्थिक समस्यालाई मध्यजनगर गरी कोष स्थापना गरेका हौँ, यसबाट वडघर भलमन्सा लभान्वित हुने विश्वास लिएका छौँ ।” थारु समुदायमा वडघरले गाउँको सामाजिक रीतितिथि मिलाउने कार्यसँगै सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने, वैवाहिक, धार्मिक कार्यमा सघाउ पु¥याउने गर्दछन् । अंशबण्डा, जग्गाको साँध सिमानाको विवाद मिलाउने कार्य वडघरले गर्दछन् । थारु समुदायमा वडघर र भलमन्साको स्थानलाई महत्वपूर्ण मानिन्छ । नगरपालिका क्षेत्रमा रहेका ७२ वडघर भलमन्सा समितिका कार्यलाई अगाडि बढाउन १० लाखको कुर्सी वितरण गरिएको छ । प्रत्येक समितिलाई १५ थानका दरले कुर्सी वितरण गरिएको हो ।
डोजरे विकासले पहाडको पानीको मूल सुकायो
गोकर्ण दयाल बैतडी, वैशाख २ गते । पहाडको चिसो बताससँगै बग्ने निर्मल पानी सम्झेर तराई झर्नेदेखि रोजगारीका लागि परदेश जाने सबैले अञ्जुलीमा पहाडको चिसो पानी पिउने कुराको वर्णन गरेर गाईएको गीतको स्मरण सबैले गर्नुहुन्छ । गीतमा वर्णन गरेजस्तै पहाडका कन्दराबाट दूधजस्तै बग्ने पानीका मुल सुक्न थालेका छन् । डाडाँमाथि जथाभावी डोजरले सडक खन्दा वस्तीमा खानेपानीको हाहाकार हुन थालेको छ । पर्यावरणीय अध्ययन नगरी अन्दाधुन्ध डोजरले बाटो निर्माण गर्दा दूधजस्तै कञ्चन बग्ने बैतडीका १० वटा पानीका मुहान सुकेका छन् । डोजरले डाँडाकाँडा चिर्दा थुप्रिएको माटोले बैतडीका विभिन्न स्थानीय तहमा रहेका खानेपानीका मुहान समेत पुरिएका छन् । बैतडीमा नेताका डोजरले जथाभावी सडक निर्माण गर्दा पानीका मुहान सङ्कटमा परेको नागरिक समाज बैतडीका गणेश ठकुराठीले बताउनुभयो । “चुनाव जितेपछि नेताले आफ्नै डोजर किनेका छन्”, ठकुराठीले भन्नुभयो, “पर्यावरणीय अध्ययन नगरी सडक निर्माण गर्दा पानीका मुहान सुक्न थालेका छन् ।” पानीका मुहान सुकेपछि डिभिजन खानेपानी कार्यालय बैतडीले बैतडीका विभिन्न स्थानीय तहमा खोलाबाट १३ वटा लिफ््ट प्रविधिका खानेपानी योजना निर्माण गरिरहेको जानकारी दिएको छ । लिफ्ट प्रविधिबाट अहिले बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौं, पाटन नगरपालिकाको गैराखान, मेलौली नगरपालिकाको मेलौली, सिगास गाउँपालिका–३, को लगन र दोगडाकेदार गरी १३ वटा लिफ्ट प्रविधिका खानोनी योजना निर्माण भइरहेको खानेपानी तथा सररफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताउनुभयो । डोजरकै कारणले दशरथ चन्द नगरपालिका –२, देहिमाण्डौंमा खानेपानीका मुहान सुकेका छन् । माटोले पुरिएको खोलाको मुहान देखााउँदै स्थानीय पूर्णबहादुर बोहराले भन्नुभयो– “दुई तीन वर्षअघि कलकल बग्ने भट्टाड खोलाको पानी अहिले सुकेको छ । माछा भेटिने यो खोला अहिले सुख्खा बगरमा परिणत भएको छ । खोलामा भर्खरै निर्माण भएका सडकको रातोमाटो जम्मा भएको छ ।”जथाभावी डोजर चलाएर सडक खन्दा जमिन हल्लिएको र सडकको माटोले खोलाहरु पुरिएको स्थानीयको भनाई छ । गाउँमा खानेपानीको हाहाकार भएपछि खोलाबाट लिफ््ट गरेर पानी तान्ने योजना निर्माण गर्नुपरेको देहिमाण्डौंवासीले बताएका छन् । जथाभावी डोजर चल्दा मेलौली नगरपालिकामा पनि आसपासका खानेपानीमा मुहान सुकेका छन् । पछिल्लो समय पानीका मुहान सुकेपछि पानीको चर्को समस्या झेल्नुपरेको स्थानीयवासीले पीडा सुनाएका छन् । पानीको हाहाकार भएपछि बजारबाट निकै टाढाको जंगलबाट घोडामा पानी बोकेर होटल सञ्चालन गर्नु परिरहेको मेलौली नगरपालिकास्थित बिजु होटलका सञ्चालक विजयसिंह नायकले पीडा सुनाउनुभयो । मेलौली नगरपालिका र बजार क्षेत्रमा पानी आपूर्ति गर्न सुर्नया नदी किनारबाट पानी तान्न तीन करोडको साना सहरी खानेपानी योजना निर्माण हुन लागेको डिभिजन खानेपानी कार्यालय बैतडीले जनाएको छ । डोजरका कारण बैतडीका दुई महत्वपूर्ण संरक्षित वनका रुपमा रहेका सिगास संरक्षित वन र ग्वाल्लेक संरक्षित वन मासिन थालेपछि पानीका मुहान संकटमा परेका छन् । बैतडी सदरमुकामका लागि खानेपानीको आपूर्ति हुँदैआएको ग्वाल्लेक संरक्षित वनबाट आउने पानी घटेको साना सहरी खानेपानीका अध्यक्ष धर्मानन्द पाण्डेयले बताउनुभयो । ग्वाल्लेक संरक्षित वनमा दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाले दुबैतिरबाट डोजर चलाएर सडक खन्न थालेपछि ग्वाल्लेक संरक्षित वन संकटमा परेको छ ।
बहुउपयोगी महुवा सङ्कलन सुरु
धनगढी समाचारदाताधनगढी, वैशाख २ गते । जङ्गलमा पाइने औषधीय गुण भएको महुवा सङ्कलनको याम सुरु भएको छ । महुवाको रुखबाट फूल झर्न थालेपछि कैलालीको वन क्षेत्र आसपासका बासिन्दाले महुवा सङ्कलन गर्छन् । वसन्त ऋतु सुरु भएसँगै महुवाको रुखबाट फूल झर्ने गर्छ । सोही फूल स्थानीयवासीले सङ्कलन गर्ने गर्छन् । स्थानीयस्तरमा महुवाबाट सुगन्धित रक्सी बनाउने गरिएको छ । अहिले गहुँ भित्र्याउने चटारो भए पनि महुवा बटुल्नेको पनि कमी छैन । खास गरेर ज्येष्ठ नागरिक, बालबालिका महुवा बटुल्न वन पस्ने गरेका छन् । गहुँ भित्र्याउने चटारोसंँगै अहिले महुवा बटुल्ने काम पनि भइरहेको भजनी नगरपालिका–३ का विक्रम चौधरीले बताउनुभयो । “स्थानीय गाउँवासीले महुवाको रक्सी बनाउने गर्छन्,” उहाँले भन्नुभयो, “यसको रक्सी राम्रो हुने गरेकाले महुवा बटुल्नेको वनमा तँछाडमछाड नै हुने गरेको छ ।”महुवाबाट औषधिसमेत बनाउन सकिने भए पनि यसको उपयोग केवल रक्सी बनाउनमा मात्रै सीमित रहेको पाइएको छ । राम्ररी अध्ययन गरेर यसको थप सदुपयोग गर्न सके ठूलो आर्थिक लाभ लिन सकिने संरक्षणकर्मीसमेत रहनुभएका विजयराज श्रेष्ठ बताउनुहुन्छ । “महुवा बहुउपयोगी फूल हो । यो धेरै चिजमा औषधिको रूपमा काममा आउन सक्छ,” उहाँले भन्नुभयो, “तर यसको बारेमा विस्तृत अध्ययन नभएका कारण गाउँघरमा केवल रक्सी बनाउन मात्रै महुवा सीमित छ ।” महुवा वनमा पाइने गैरकाष्ठ प्रजातिको वृक्षको फूल हो । वसन्त ऋतुभरि यसको फूल फुलेर झर्ने गर्छ । झरेको फूललाई स्थानीयवासीले सङ्कलन गरी सुकाउने र आवश्यक परेको बेला त्यसलाई उपयोग गर्ने गर्छन् । महुवा शक्तिवद्र्धक जडीबुटी रहेको कतिपयको बुझाइ छ । महुवा दूध वा तातोपानीमा मिसाएर खाए पनि शरीरलाई धेरै फाइदा गर्ने गरेको बताउँछन् । महुवा परम्परागत रूपमा स्थानीय थारू समुदायले प्रयोग गर्ने औषधीय गुण भएको जडीबुटी रहेको वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गङ्गादत्त भट्टले बताउनुभयो । “औषधीय गुण भएको यसलाई थारू समुदायले रक्सी बनाउन प्रयोग गर्दै आएका छन्,” उहाँले भन्नुभयो, “यो के–केमा उपयोगी हुन सक्छ भन्ने पत्ता लगाउन हामी अनुसन्धान गर्नेछौँ ।” महुवा बहुउपयोगी हुन सक्ने भन्दै उहाँले यसको संरक्षण गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
राष्ट्रिय परिचयपत्र : बैतडीमा २४ हजारको विवरण सङ्कलन
बैतडी, वैशाख १ गते । बैतडीमा हालसम्म २४ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीबाट गत वर्ष असोज पहिलो सातादेखि सुरु भएको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्य हाल वडास्तरबाटै भइरहेको छ । हाल अभियानकै रुपमा वडास्तरमा परिचयपत्र विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । चैत ७ गतेदेखि वडास्तरमा सञ्चालन भएको विवरण सङ्कलनको कार्यमा नागरिकको उत्साहजनक सहभागिता रहेको छ । जिल्लाको डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकाका वडामा विवरण सङ्कलनको कार्य सम्पन्न भएको छ । डिलाशैनीमा आठ हजार ३९६ र सिगासमा सात हजार २०६ जनाको विवरण सङ्कलन गरिएको सूचना अधिकारी भारतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परिचयपत्र बनाउन विवरण दिने नागरिकको उत्साहजनक सहभागिता रहेको छ, सिगासमा ९५ प्रतिशत र डिलाशैनीमा ८८ प्रतिशत नागरिक सहभागि भएका छन् ।”हाल दोगडाकेदार गाउँपालिका र पुर्चौडी नगरपालिकामा उक्त अभियान सुरु भएको छ । दोगडाकेदारमा २३४ र पुर्चौडीमा ७३५ जनाको विवरण सङ्कलन भइसकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयबाट सात हजार ८५९ जनाको विवरण सङ्कलन भइसकेको सूचना अधिकारी भारतीको भनाइ छ ।विवरण सङ्कलनका लागि ३५ जना विवरण दर्ता अपरेटर खटाइएका छन् । एक पालिकामा कम्तीमा १५ दिन विवरण सङ्कलनको काम हुनेछ । जिल्लाका अन्य स्थानीय तहमा पालैपालो अभियान सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको हो ।राष्ट्रिय परिचयपत्रका लागि फारम भर्न जाँदा नागरिकताको सक्कल प्रमाणपत्र, आमाबुवा र बाजेको नागरिकता भए सक्कल र नभए नामथर खुल्ने कागजपत्र साथमा लैजान आग्रह गरिएको छ । यसैगरी बसाइँसराइ गरेको भए सो प्रमाणपत्र, राहदानी लिएको भए सो प्रमाणपत्र सक्कलै लैजान पनि आग्रह गरिएको छ ।विवरण दिनका लागि स्वयं आफू उपस्थित भएर सक्कली नागरिकता हुनुपर्ने, नागरिकता, फोटो, लोगो केरमेट नभएको हुनुपर्ने, विवाहिता महिलाका हकमा श्रीमान्को पनि सक्कली नागरिकता र विवाह दर्ता पनि अनिवार्य गरिएको छ । राष्ट्रिय परिचयपत्र बहुउपयोगी भएकाले यो परिचयपत्र बनाउन सबै नागरिकलाई आग्रह गरिएको छ ।
मुख्यमन्त्री भट्टद्वारा बिशु पर्वको शुभकामना
भवानी ऐरगोदावरी (कैलाली), बैशाख १ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ वर्ष एवं सुदूरपश्चिमेलीको महत्वपूर्ण पर्व बिशु २०७९ को सुखद् अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।मुख्यमन्त्री भट्टले आज विहीवार जारी गर्नुभएको शुभकामना सन्देशमा नयाँ वर्षले सबैका भावना र विचारलाई अझ प्रकाशमय बनाई सकारात्मक सोचसहित सुदूरपश्चिम प्रदेशको समृद्धि र विकासका लागि प्रेरणा मिलोस भन्ने शुभेच्छा ब्यक्त गर्नुभएको छ ।शुभकामना सन्देशमा भनिएको छ– ‘नयाँ वर्ष एवं बिशु पर्वले हामी सबैमा खुशी साटासाट गर्दै आगामी वर्ष हर्साेउल्लासका साथ सुख शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं दीर्घायुको कामनासहित सामाजिक न्याय सद्भाव सुमधुर सम्बन्ध बढाउन सकोस भन्ने कामना गर्दछु ।’आवधिकरुपमा जनमतका अधारमा राज्य ब्यवस्था सञ्चालन हुनेभएकाले राज्यव्यवस्था र यसका सञ्चालकलाई सामाजिक स्वीकृति प्रदान गर्नुकासाथै यस वर्ष हुने सबै तहका निर्वाचनको सफलताको कामनासमेत गर्नुभएको छ ।
सुदूरपश्चिममा विसु पर्वको रौनक, बटुक खाएर सिस्नु लगाउने चलन
गोकर्ण दयाल बैतडी, वैशाख १ गते । बैतडीसहित सुदूरपश्चिममा विसु पर्वको रौनक सुरु भएको छ । नयाँ वर्षको पहिलो दिनलाई विसु पर्वका रुपमा मनाउँदै सेल, पुरी, बटुक र माँणा खाएर सिस्नु लगाउने चलन रहेको छ । विसु पर्व मनाउन रोजगारीका स्वदेश तथा विदेश गएकाहरु घर फर्केर आफन्तजनसँग भेटघाट गर्दै मीठो मसिनो खाएर सिस्नु लगाउँदै विसु पर्व मनाउँने परम्परा रहेको स्थानीय बुद्धिजिवीको भनाई छ । बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाडी समुदायमा विसु पर्व मनाउने चलन छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा विसु पर्व मनाइने गरेको किवदन्ती रहेको छ । हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै विसु पर्व मनाउने गरिएको संस्कृतिविद चन्द्रमोहन तिवारीले बताउनुभयो । विसुका दिन बिहानै पवित्र कुवा तथा पँधेरामा गएर स्नान गरेर पूजाआजापछि मात्रै भोजनग्रहण गर्ने चलन रहेको तिवारीले बताउनुभयो । विसु पर्व मनाउन भारतबाट एक वर्षपछि घर फर्केको बझाङका रामसिंह बोहराले बताउनुभयो । विसुका दिन जसरी पनि घर फर्किनु पर्ने भएकाले आफूसँगै रोजगारीमा भारत गएकाहरु घर फर्केको बोहराले बताउनुभयो । विसु पर्व मनाउन भारतमा रोजगारीका लागि गएकाहरु दैनिक दुई सयभन्दा बढी सुदूरपश्चिमेली झुलाघाट नाकाबाट स्वदेश फर्किएको झुलाघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दानसिंह धामीले बताउनुभयो । चौकी ईन्चार्ज धामीले भन्नुभयो, “झुलाघाट नाकाबाट चैत महिनाभरी दुई हजार दुईसय १० जना नेपाली स्वदेश फर्किएका छन् । विसु पर्वकाबेला झुलाघाट नाकाबाट स्वदेश फर्किनेको भीड बढेको छ । ”विसुका दिन देवर–भाउजु, नन्द र भिनाजुलाई सिस्नो लगाएर रमाईलो गर्ने परम्परा छ । सिस्नोले छालाका विभिन्न रोग निको पार्ने जनविश्वास रहेको छ । विसु पर्वकै दिन कूलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) पकाई खाने चलन समेत रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा आज विसु पर्व मनाइँदै
डडेल्धुरा, वैशाख १ गते । सुदूरपश्चिम प्रदेशमा आज विसु पर्व मनाइँदै छ । नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले विसु पर्वका रुपमा मनाउने गरेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलीकताअनुसार विसु पर्व मनाइने गरेको ज्योतिष जयप्रसाद जोशीले बताउनुभयो । सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका सबै परिवारका सदस्य र दिदी, बहिनीसमेत माइतीघर आउने र सबै एकै ठाउँमा जमघट भई मीठा–मीठा खानेकुरा तथा स्थानीय खानाका परिकार पकाइ खुसी साटासाट गरी मनाउने मनाउने गरिएको पाइन्छ । सिस्नो लगाएर पर्व मनाइन्छ सुदूरपश्चिम प्रदेशमा सिस्नो लगाएर विसुु पर्व मनाउने गरिएको छ । देवर र भाउजु तथा साली र भिनाजु एकापसमै सिस्नो लगाएर पनि नयाँ वर्ष तथा विसु पर्व मनाउने गरेका छन् । आजको दिन सिस्नो लगाए वर्षभरि सङ्कट नआउने जनविश्वास रहेको अमरगढी नगरपालिका–७ का टेकराज भट्टले बताउनुभयो । आजका दिन सिस्नो लगाउँदा वर्षभरि राम्रै बित्ने र सङ्कट नआउने उहाँले बताउनुभयो । यस्तै आजै सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा पूजाआर्चना गरिने गरेको र धेरैजस्तो शक्तिपीठमा पशुबलिसमेत दिने गरिएको छ । डडेल्धुराको प्रसिद्ध अमरगढी–८ मा रहेको उग्रतारा मन्दिरमा पूजाआजा गर्नेको घुइँचो लाग्ने गर्दछ । हरेक वर्ष डडेल्धुराको अमरगढी–३ घटालमा लाग्ने प्रसिद्ध मेला यस वर्ष दुई वर्षपछि शुक्रबार लाग्ने स्थानीय रामचन्द्र जैशीले जानकारी दिनुभयो ।
नयाँ वर्ष मनाउन फर्कनेसँग मन्त्रीद्वारा नाकामै भलाकुसारी
अविनाश चौधरीधनगढी, चैत ३० गते । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले भारतबाट फर्किरहेका नेपालीसँग गौरीफन्टा नाकामा भलाकुसारी गर्नु भएको छ । विहानै नाका पुग्नुभएका मन्त्रीले नयाँ वर्ष तथा विसु पर्व मनाउन फर्किरहेका नेपाली कामदारहरुसँग नाकामा भलाकुसारी गर्नुभएको हो । उहाँले फर्कने कामदारहरुसँग बाटोमा अप्ठ्यारो भएकोबारे जानकारी लिनुका साथै नयाँ वर्षको शुभकामा दिनुभएको थियो ।नयाँ वर्ष तथा विसु पर्व मनाउन दैनिक सात सयदेखि एक हजारसम्म व्यक्ति गौरीफन्टा नाका भएर फर्किरहेको नाकास्थित होल्डिङ सेन्टरमा स्थापना भएको हेल्प डेस्कले जानकारी दिएको छ । आज विहानमात्रै ५०० को हाराहारीमा नेपाली स्वदेश फर्केका छन् ।खास गरेर कोरोना महामारीको बेला भारतबाट फर्कने र कमाउन भारततिर जाने कामदारहरुले थुप्रै समस्या भोग्ने गरेका छन् । नाकामा ठगिने, लुटिने, सुरक्षाकर्मीले पैसा असुल्नेलगायतका घटना हुने गरेकाले त्यसलाई न्यूनीकरणका लागि पहल गर्न आफू नेपालीको समस्या बुझ्न नाका पुगेको मन्त्री रावलले बताउनुभयो ।स्वदेश फर्कने नेपालीले भारतीय पक्षले पैसा नलिएको र राम्र्रैसँग आइपुगेको बताएका थिए । तर, कतिपयले नेपालमै अटो र बस चालकले भाडाका नाममा बढी पैसा असुल्ने गरेको भन्दै त्यसको समाधानका लागि पहल गर्न मन्त्रीलाई आग्रह गरेका थिए ।मन्त्रीसँगै कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुरक्षा निकायका प्रमुखहरु पनि नाकामा पुग्नुभएको थियो ।