समा र शिशिरलाई उपाधि
‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२३’ को उपाधि शिशिर वाग्ले र समा पराजुलीले प्राप्त गर्नुभएको छ । सनुर्भी इन्टरनेसनल प्रालिले आयोजना गरेको प्रतियोगितामा ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२३’ भने प्रज्वल ताम्राकार घोषित हुनुभयो ।
सत्तरी वृत्तचित्र मनोनयनमा
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतिस्पर्धा २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट पठाइएका कुल २५८ मध्येबाट ७० वृत्तचित्र मनोनयन गरिएको हो ।
पाटन सङ्ग्रहालयको प्रवर्धनमा सहकार्य गरिने
ललितपुर महानगरपालिकाले मूर्त-अमूर्त ऐतिहासिक सम्पदाहरूको संरक्षण तथा प्रदर्शनीमा योगदान पु-याइरहेको पाटन सङ्ग्रहालयको प्रवर्धनमा सहकार्य गर्ने भएको छ ।
पाँच बालपुस्तक एकसाथ लोकार्पण
कोपिला किताबले बुधबार पाँच वटा बालपुस्तक एकसाथ लोकार्पण गरेको छ । ‘टेल्स एन्ड लाइज’ शृङ्खला अन्तर्गत विभिन्न लेखकले लेखेका पाँच वटा बालपुस्तक बेखामान र राक्षस, साङ्केनको खुल्दुली, अन्नको बखान, कपासको घोडा र जन्तर मन्तर नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानमा सार्वजनिक गरियो ।
डिएसए स्टारका विजेता घोषित
परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको ‘डिएसए स्टार २०२३’ का विजेता घोषित भएका छन् । आयोजकका अनुसार दिव्य नेपाली ‘मिनी ‘डिएसए डान्सिङ स्टार’, वाटिका बिजुक्छे ‘जुनियर डान्सिङ स्टार’, आस्नी शाही ‘जुनियर सिङ्गिङ स्टार’, शिखा बराइली ‘प्रि–टिन डान्सिङ स्टार’ र लोयाङ शेर्पा ‘प्रि–टिन सिङ्गिङ स्टार’ घोषित हुनुभएको छ ।
राष्ट्रिय साहित्यिक पत्रकारिता पुरस्कार स्थापनामा लागि पर्नेछु : कुलपति भूपाल राई
साहित्यिक पत्रकारिताको उन्नायनमा समर्पित नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति भूपाल राईलाई ज्ञापन पत्र बुझाएको छ ।
सुषमाको ‘अक्षरको आयतन’
युवा कवयित्री सुषमा आचार्य ‘अंशु’को नवीनतम् कवितासङ्ग्रह ‘अक्षरको आयतन’ एक समारोहबिच लोकार्पण गरिएको छ । प्राडा लक्ष्मणप्रसाद गौतम, राष्ट्रिय साहित्य प्रतिष्ठानका अध्यक्ष हृषभदेव घिमिरे, समालोचक डा शान्तिमाया गिरी र माधव नेपालले कृतिको संयुक्त रूपमा लोकार्पण गर्नुभयो ।
नेपाली टोली सेमिफाइनलमा
नेदरल्यान्डको लाइदेनमा भइरहेको १४ औँ ‘इन्टरनेसनल एयर ल मुट कोर्ट’ प्रतियोगितामा नेपाली टोली सेमिफाइनलमा पुगेको छ । नेदरल्यान्डको लाइदेन विश्वविद्यालयले प्रत्येक वर्ष आयोजना गर्ने प्रतियोगिताको सेमिफाइनलमा प्रस्तुति दिन चार सदस्यीय नेपाली टोली लाइदेन पुगेको छ । टोलीमा अधिवक्ता अनिता शर्मा केसी प्रशिक्षकका रूपमा रहनुभएको छ भने कानुनका विद्यार्थीहरू यशस्वी केसी, कोपिला खतिवडा र क्षितिज पराजुली प्रतियोगी रहनुभएको छ ।
सुनगाभाको विशेषाङ्क विमोचन
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वाङ्मय शताब्दीपुरुष डा सत्यमोहन जोशीलाई राष्ट्रिय नायकका रूपमा स्थापित गर्न सरकारबाट गम्भीर पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । लोक साहित्य परिषद्ले आफ्ना प्रमुख संस्थापक एवं वाङ्मय शताब्दीपुरुष डा सत्यमोहन जोशीको १०४ औँ जन्मजयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको थियो । सोही कार्यक्रमको समापनमा उपप्रधानमन्त्री श्रेष्ठले जोशीले स्थापना गरेको लोकसाहित्य परिषद्को निरन्तरताका लागि पनि पहल गर्ने बताउनुभयो । समापन कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले शताब्दीपुरुष जोशीका बारेमा तयार पारिएको सुनगाभाको विशेषाङ्क पनि विमोचन गर्नुभएको थियो ।