मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार स्थापना
काठमाडौँ, जेठ १४ गते । मदन भण्डारी फाउण्डेशनले यस वर्षदेखि रु एक लाख राशिको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारको सुरुआत गरेको छ । सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको प्राप्तिमा सहयोग हुने गरी लोकतान्त्रिक सामाजिक न्यायको क्षेत्र विशेषतः हिंसा तथा विभेदरहित समाज निर्माण, पर्यावरण र सांस्कृतिक तथा सामाजिक सम्पदाको संरक्षण, मानवअधिकार, सार्वजनिक शैक्षिक सुधार, स्वास्थ्य सेवाको पहुँच, न्यायमा पहुँच, मर्यादित जीवनको लागि निरन्तर कार्यरत व्यक्ति वा संस्थालाई पुरस्कृत गर्नु यस पुरस्कारको मूल उद्देश्य सो संस्थाले जनाएको छ । यस वर्ष समाज परिर्वतन र विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएका व्यक्ति/संस्थालाई प्रदान गर्ने भएकाले राष्ट्रिय पुरस्कारको लागि आवेदन आह्वान गरिएको फाउण्डेशनका सचिव पेमा लामाले जानकारी दिनुभयो । विसं २०६८ देखि हरेक वर्ष जननेता मदन भण्डारीको जन्मजयन्ती (असार १४ गते) को अवसरमा रु एक लाख राशिकै मदन भण्डारी राष्ट्रिय पुरस्कार पनि प्रदान हुँदै आएको छ । नेपालको राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा सहयोग हुने गरी आर्थिक समुन्नति तथा अवसरको समन्यायिक वितरणका क्षेत्रमा अध्ययन, अनुसन्धान, उद्यमशीलता, आविष्कार, नवप्रवर्तन र राष्ट्रिय पुँजी निर्माणका लागि योगदान पु¥याउने व्यक्ति/संस्थाको पहिचान गरि पुरस्कृत गर्नु रहेको जनाइएको छ । यस वर्ष राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने कृषि क्षेत्रमा नवीन प्रयोग गरेको व्यक्ति/संस्थालाई प्रदान गर्ने निर्णय भएकाले आवेदन माग गरिएको छ ।
नेपाल मिथिला येँ ग्यालरीमा 'लाइभ डेमोन्स्ट्रेसन'
काठमाडौं, जेठ १३ गते । नेपाल मिथिला येँ ग्यालरीमा 'लाइभ डेमोन्स्ट्रेसन' कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विधाका पाँच जना कलाकारहरुले 'लाइभ डेमोन्स्ट्रेसन' गर्नुभएको हो । हामीलाई कलाकृति हेर्न र किन्न सजिलो लाग्छ तर यो बनाउन कति परिश्रम लाग्छ देखाउनका लागि यो कार्यक्रमको आयोजना गरेको मिथिला येँका सञ्चालक श्याम सुन्दर यादवले बताउनुभयो । यस्तै, कार्यक्रमको उद्घघाटन पूर्व राजदूत डा. सुरेश चन्द्र चालिसेले गर्नुभएको हो भने प्रमुख अतिथिको रुपमा कला लेखक तथा कलाकार तीर्थ निरौला र वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्य हुनुहुन्थ्याे ।कार्यक्रममा भक्तपुरका श्याम प्रजापति, अमेरिकाका जेजी विल्स, भारतबाट बन्धना सिंह, महेश आचार्य र बंगालादेशबाट मह्मुदा असफरा मिमले ‘लाइभ डेमोन्स्ट्रेसन’ देखाउनुभएको हो ।यस कार्यक्रमको मूल उद्धेश्य भनेकै कला सजिलो काम हैन, यसमा धेरै मिहिनेत र परिश्रम लाग्ने देखाउन गरिएको यादवको भनाइ छ ।
कृष्ण सेन 'इच्छुक'काे सपना पूरा हुने दिशामा छ: माओवादी अध्यक्ष प्रचण्ड
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ १३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहिद कृष्ण सेन 'इच्छुक'लगायतले देखाएको सपना पूरा हुने दिशामा रहेको बताउनुभएको छ ।क्रान्तिकारी पत्रकार महासंघ र जनसांस्कृतिक महासंघद्वारा संयुक्त रूपमा २० औं सहिद कृष्ण सेन 'इच्छुकु' स्मृति तथा सांस्कृतिक वलिदान दिवस तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले सहिद सेनको वैचारिक र सांस्कृतिक व्यक्तित्वको कारण संकटको बेलामा सँधै शिर उँचो राख्नको लागि प्रेरणा मिलिरहेको स्मरण गर्नुभयो ।उहाँले पद, प्रतिष्ठा, मौकाको पछाडि कहिल्यै नलागेको सहिद सेनको जीवनीबाट सबैले पाठ सिक्नुपर्ने धारणा राख्नुभयो ।'म अध्यक्ष भए पनि उहाँको कुरा सुन्दा कुनै असाधारण व्यक्तिको दर्शन, विचार, प्रवचन सुनेको जस्तो हुन्छु' अध्यक्ष प्रचण्डले भन्नुभयो, 'उहाँ समाजवादको लागि वलिदान दिएर मर्नुभए पनि हामीसामू सँधै हुनुहुनेछ ।'कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताको लागि वकालत गर्न सँधै लागिपर्ने बताउनुभयो ।सो कार्यक्रममा जनही ५० हजार रूपियाँ नगदसहित कृष्णसेन इच्छुक स्मृति पुरस्कार पत्रकारद्वय महेश्वर दाहाल र गोविन्द आचार्यलाई र जनही २५ हजार रूपियाँ नगदसहित शक्ति तारा स्मृति पुरस्कार पत्रकारद्वय वलराम थापा र लक्ष्मी पुनलाई प्रदान गरिएको छ ।यसअघि सहिद सेनको स्मृतिमा काठमाडौंमा प्रभातफेरि निकालिएको थियो। तत्कालिन सांस्कृतिक सङ्गठनका केन्द्रीय अध्यक्षसमेत रहेर सहिद सेनले जनादेश साप्ताहिकका सम्पादक र जनदिशा दैनिकका प्रधान सम्पादक भएर पत्रकारिता गर्नुभएको थियो ।उहाँको ‘शोकाञ्जली’, ‘बन्दी र चन्द्रागिरि’, तथा ‘इतिहासको यस घडीमा’ गरी तीनवटा काव्यकृति प्रकाशित छन् ।सेनलाई २०५८ जेठ ६ गते काठमाडौंको मध्यबानेश्वरस्थित ह्वाइट हाउस स्कूलबाट पुलिसले गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा लगेर एक हप्तासम्मको चरम यातना दिएपछि जेठ १३ गते मृत्यु भएको बताइन्छ ।
‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ प्रकाशित
नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ नामक पुस्तक प्रकाशन गरेको छ ।
साहित्य सन्ध्याको ४२८औँ शृङ्खला सम्पन्न
विगत दुई वर्षदेखि कोरोना महामारीका कारण रोकिएको साहित्य सन्ध्याको ४२८औँ शृङ्खला विशेष गोष्ठीसहित ‘मीमांसा दर्शन र प्रगतिशीलता’ विषयमा परिचर्चा आयोजना गरी सम्पन्न गरिएको छ ।
परिवेश कथा संग्रह सार्वजनिक
साहित्यकार लीला झाद्वारा लिखित पुस्तक परिवेश बजारमा आएको छ । आज एक समारोहका बीच राष्ट्रिय मानव अधिकार आयोगको सदस्य लिलि थापाले कथा संग्रह परिवेशको विमोचन गर्नु भयो ।
उषा ठाकुर र तारानाथ दाहाललाई 'भद्र घले पदक'
काठमाडौं, जेठ ९ गते । प्रा.डा.उषा ठाकुर र तारानाथ दाहाललाई यो वर्षको 'भद्र घले पदक' प्रदान गरिने भएको छ । त्रिमूर्ति निकेतनबाट गठित 'विश्वनारी नेपाली साहित्य सम्मेलन' र 'सत्यमोहन जोशी शताब्दी महोत्सव'को आरम्भदेखि अन्त्यसम्मको नेतृत्वदायी भूमिकामा उल्लेखनीय योगदानका लागि पदक प्रदान गरिएको हो।यस्तै, दाहालले त्रिमूर्ति निकेतनको स्थापनामा गुरुतर भूमिका निर्वाह गर्दै देशदेशान्तरमा संस्थाको गरिमामय उचाइ अभिवृद्धिका लागि योगदान पुर्याउनुभएकोमा यस पदकबाट सम्मान गरिएको हो । भद्र घले पदकको राशि २५ हजार रूपियाँ रहेको छ । जेठ २१ गते त्रिमूर्ति दिवसकाे अवसर पारेर गोविन्दराज विनोदीलाई लेखनाथ पौड्याल पुरस्कार, श्रीमती मिथिला शर्मालाई बालकृष्ण सम पुरस्कार, शैलेन्द्र साकारलाई देवकोटा काव्य पुरस्कारका साथै ५९ जनालाई सत्यमोहन जोशी शताब्दी पदक र दुई जनालाई भद्र घले पदक प्रदान गरिने बताइएको छ । यसअघि नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई, खनूप्रुदे ‘रामबाबू’, शताब्दी पुरुष डा.सत्यमोहन जोशी, हरिहर विरही, डा. मोदनाथ प्रश्रित, प्रा.ठाकुर पराजुली, केके कर्माचार्य, सलोमी लेप्चा तिमोथी र प्रा.डा.गार्गी शर्मालाई 'भद्र घले पदक' बाट सम्मान गरिएको थियो ।
प्रेस सेन्टर, नेपालले चारजनालाई पुरस्कृत गर्ने
काठमाडौं, जेठ ९ गते । प्रेस सेन्टर, नेपालले कृष्णसेन 'इच्छुक' स्मृति पत्रकारिता पुरस्कार २०७८ र ७९ बाट दुई जनालाई जनही ५० हजार र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार ०७८ र ७९ बाट दुई जनालाई जनही २५ हजार रुपियाँसहित कदरपत्र प्रदान गर्ने निर्णय गरेको छ ।आइतबार साँझ बसेको प्रेस सेन्टर, नेपालको सचिवालयको बैठकले सोको लागि नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीको अध्यक्षतामा गोविन्द देवकोटा र गङ्गा बरालसहित तीन सदस्यीय निर्णायक समिति गठन गरेको छ । वि.सं २०५९ जेठ १३ गते माओवादी ‘जनयुद्ध’को दौरानमा मारिएका पत्रकार तथा सांस्कृतिककर्मी कृष्ण सेन ‘इच्छुक’को जेठ १३ गते एक कार्यक्रमकाबीच साे पुरस्कार वितरण गरिनेछ ।बैठकमा सम्बाेधन गर्नुहुँदै पत्रकार र सांस्कृतिकर्मीकाे त्याग, तपस्या र बलिदानमा बनेकाे सङ्घीयतासहितकाे अधिकार सुनिश्चित गर्नकाे लागि बनेकाे सत्तापक्षीय गठबन्धनको ऐतिहासिक विजय भएकाे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महेश्वर दाहालले बताउनुभयाे ।उहाँले सत्तापक्षीय गठबन्धनलाई आउँदो मध्यावधि चुनावमा परिष्कृत लगेर लैजानुपर्नेमा जोड दिनुहुँदै भन्नुभयाे, ''गठबन्धनमा रहेका दल विशेषको हार र जितको विषय प्रमुख नभएको बताउनुहुँदै उहाँले राष्ट्रियता र सार्वभौमसत्ता सम्पन्न जनताको विजय भएको छ।''यस्तै, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले पत्रकारिता पेशा छाडेर स्थानीय पालिकामा विजयी हुनुभएका प्रमुख र अध्यक्षहरुलाई अधिकतम जनताको पीडा र अभावबारे जानकार भएकाले जनजीविका, स्थानीय विकास, कुशासन र भष्ट्राचारमुक्त समाज निर्माण गर्न आह्वान गर्नुभयो ।
मितिनी नेपालको पुस्तक बजारमा
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिका प्रेरणादायी कथाहरू समेटिएको पुस्तक ‘हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार’ प्रकाशित भएको छ । समाजमा आफ्नो पहिचान स्थापित गर्न सङ्घर्ष गर्दै अगाडि बढेका समुदायका वास्तविक कथा समेटेर मितिनी नेपालले उक्त प्रेरणादायी पुस्तक पाठकमाझ ल्याएको हो ।
‘मुलुकमा नीतिगत सुनिश्चितता, पद्धति र प्रणालीगत सुधारको खाँचो’
मुलुकको पद्धति र प्रणालीगत सुधार नभएसम्म नागरिकले सोचेको जस्तो विकास हुन नसक्ने काठमाडौँमा आयोजित एक कार्यक्रममा औँल्याइएको छ ।
बरालको “मालामा नउनिएका फूलहरू” पुस्तक विमोचन
काठमाडौं, जेठ ७ गते। निबन्ध, कथा, गीत, कविता, समालोचनालगायत शिक्षाका विभिन्न विषयमा कलम चलाइरहने सर्जक डा. खगराज बरालको “मालामा नउनिएका फूलहरू” पुस्तक सार्वजनिक भएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा प्रा.डा. जयराज आचार्य, लेखक तथा पूर्वसांसद डा. शोभाखर पराजुली, पूर्वसचिव किशोर थापा, नन्दी माध्यमिक विद्यालयकी प्रधानाध्यापक गीता काफ्ले, शिखा बुक्सका पुष्पराज पौडेल र लेखक डा. बरालले संयुक्त रूपमा विमोचन गर्नुभयो। डा.शोभाखर पराजुलीले पुस्तक एकपटक मात्र होइन, पटक पटक पढ्दै जाँदा झन् नवीन सिकाइ थपिदै जाने बताउनुभयो। पूर्वसचिव किशोर थापाले “मालामा नउनिएका फूलहरू” पुस्तकले डा. बरालका थप अनुभव र भोगाइलाई समेटेको उल्लेख गर्नुभयो। पूर्वसचिव थापाले सिद्धान्त तथा दर्शनको कुरा नगरिकन मसिना कुराबाट पनि व्यवहार परिवर्तन गर्न सकिने कुरा बरालका पूर्वप्रकाशित पुस्तकले सङ्केत गरेको सम्झनुभयो। विमोचन कार्यक्रममा नन्दी माध्यमिक विद्यालय, नक्सालकी प्रधानाध्यापक गीता काफ्लेले पुस्तक वैचारिक तथा व्यावहारिक रूप अलमलिएका र दोधारमा परेका मानिसका लागि मार्गदर्शन गर्न सक्षम रहेको बताउनुभयो। प्राध्यापक डा. जयराज आचार्यले सरल भाषामा गहन अभिव्यक्ति व्यक्त गर्न पुस्तक सक्षम भएको बताउनुभयो। शाकुन्तल महाकाव्यभन्दा मुनामदन जनबोलीमा रहनुको रहस्य सरल र बोधगम्य हुनु हो भन्दै प्रा.डा. आचार्यले बरालका सिर्जना पनि सरल र बोधगम्य रहेको बताउनुभयो। पुस्तकका निबन्ध आत्मपरक रहेका, यी निबन्ध विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीले पढ्नु सान्दर्भिक देखिएका भन्दै यस पुस्तकका निबन्ध हरेक व्यक्तिका लागि पठनीय र लाभप्रद भएको उल्लेख गर्नुभयो। लेखकले गैह्रआख्यान अनुभूति भन्न रुचाएको पुस्तकमा विभिन्न विषय र क्षेत्रका २० शीर्षकमा लेखकका अनुभूतिजन्य सिर्जना रहेका छन्। ३२४ पृष्ठको पुस्तकको मूल्य ४७५ रुपैयाँ रहेको छ। शिखा बुक्सले बजारमा ल्याएको पुस्तक आत्मपरक निबन्ध हो।
ग्रामीण परिवेशका कथा
लव गाउँले विश्व कुइकेल नेपाली कथा साहित्यमा नयाँ नाम हुन् । नाम नयाँ हुन् या पुराना तिनले गरेका कामले सबैलाई प्रभावित पार्न सक्नुपर्छ, सबैलाई मोहित बनाइरहनुपर्छ र सबैको मानसपटलमा रहिरहन सक्नुपर्छ । यति भयो भने मात्र कथा सिर्जना अब्बल भयो भन्न सकिन्छ र सर्वत्र प्रशंसनीय पनि हुन्छ । कथा रहरले या अरूले लेखेको जस्तो देखासिकी गर्ने र जबरजस्त लेखिने विषय हुँदै होइन । कथाको विषय छनोट, कथाको बान्की, प्रस्तुतीकरण, भाषाशैली बलियो बन्न सक्यो भने मात्र एउटा राम्रो कथा बुन्न सकिन्छ । नेपाली कथा साहित्यमा विषयवस्तुको बुनोटभन्दा कुइकेलको प्रस्तुतीकरण, भाषाशैली प्रभावशाली देखिएका छन् । विश्व कुइकेल आधिकारिक रूपमा विश्वामित्र कुइकेल हुनुहुन्छ । उहाँका अधिकांश कथा मौलिक तथा ग्रामीण परिवेशमा लेखिएका छन् । कथाहरू रोचक हुँदाहुँदै पनि केही कथ्य, केही शब्द कमजोर देखापरेका छन् । उहाँको आफ्नै भूमिका ‘कथाको कथामा’ उहाँले ‘भौति निको’ लेख्नुभएको छ । पाठकले यसलाई के भनेर बुझ्ने ? उहाँको ‘सुगन्धपुर’ कथासङ्ग्रमा ‘थाहा’, ‘त्यो रात’, ‘काकाको रेडियो’, ‘थोपा’, ‘भुलिएकी दिदी’, ‘दोधार’, ‘पाटन चुल्हो’, ‘नाता’, ‘मेजर सा’ब’, ‘थोप्पल खोला’, ‘विक्रम’, ‘रणधीर दाइ’, ‘रामसुमरिन’, ‘सेतो घोडा’, ‘कमरेड परशु’, ‘तिर्खा’, ‘सुगन्धपुर’, ‘डी कलिङ’ र ‘अनि पर्दा खस्यो’ गरी उन्नाइस वटा कथा सङ्ग्रहित छन् । कथाहरू विभिन्न पृष्ठभूमि र स्थानपरक छन् ।उहाँको ‘थाहा’ कथा सङ्ग्रहकै उत्कृष्ट कथा मान्न सकिन्छ । वीरसिँह धामी उर्फ वीरेलाई म पात्र देखिसहँदैन । उसको बाबु रामदत्तले वीरेलाई दिने गरेको लिफ्ट पटक्कै मनपर्दैन । कथा रहस्यमयी छ । रामदत्त उसको निमित्त बाबु र आमाको निमित्त लोग्ने हो भन्ने पछि थाहा हुन्छ । जसले वीरेलाई कहिल्यै मन पराएन अन्ततः ऊ नै उसको बाउ थियो । रामदत्त जन्मजात नपुङ्सक थिए । रामदत्तको मृत्युको कारण डाक्टरले ‘डेथ ड्यू टु हार्ट स्ट्रोक’ भनेर कथाकारले लेख्नुभएको छ । साधारणतया डाक्टरले यसलाई ‘ड्यू टु कार्डियाक एरेस्ट’ लेख्ने गरेको पाइन्छ । ‘त्यो रात’ कथा धेरै प्रयास गरेर प्रेम गर्ने तर विवाहेत्तर जीवन असन्तुष्ट रहेको एक युवा जोडीको कथा हो । कथामा लेखकले ‘कलाकन एक पाउ लेराऊ है’ भनेका छन् । यो कलाकन के हो पाठकले कसरी बुझ्ने ?‘मेजर सा’ब’ उहाँको अर्को राम्रो कथा हो । कथामा मेजर हुँदाको फुर्तिफार्ती, केटाहरूले बुट बजार्दै गर्ने सलामको शान, ब्यारेकभित्रको हाईफाई खानपिन, गाडी, बाहिर हिँड्दा अरूले गर्ने मर्यादा र प्रशंसा, श्रीमती भएरै पनि आपूmभन्दा आधा उमेर कम युवतीसँगको रस रङ्ग कुनै उपन्यास पढ्दै सम्झँदै गर्दा जागिर छुटेपछि हवल्दारले पनि नटेर्ने पीडा र माओवादीको गोलीबाट श्रीमतीको इहलिला समाप्त भएको झट्कापछि उनी विगतबाट झसङ्ग हुन्छन् र उनी नातिलाई स्कुलबाट ल्याउनुपर्ने कुराले हत्तारिँदै उठ्छन् । ‘अनि पर्दा खस्यो’ कथामा स्टेज कलाकारको राम्रो अभिनय देखाउने हुटहुटीमै समकक्षी कलाकारको मृत्यु पीडामा उत्तम पात्र आत्महत्या गर्न पुग्छ । उहाँका प्रायः कथामा पुरुष, पुरुषजस्तो नभएर हतोत्साही, निरीह र कमजोर पात्रको रूपमा देखापरेका छन् । यो कथामा लेखकले बिरुवामा लाग्ने कीरा मार्ने औषधिलाई ‘बिरुवा मार्ने औषधि’ लेख्नुभएको छ । कथामा बेप्रसङ्गका उपकथाहरू आइरहन्छन् ।घान्द्रुक यात्राको ‘तीर्खा’ कथामा घान्द्रुकको प्राकृतिक सौन्दर्यभन्दा तीन पात्रको विवरण लामो लेखिएको छ । सामान्यतया अरू कथाहरूमा पात्र परिचय अनावश्यक रूपमा तन्किएको पाइन्छ । काकाको सम्पन्नताको प्रतीक पानासोनिक रेडियो हो ‘काकाको रेडियो’ कथा । रेडियोमा समाचार सुन्न गाउँलेहरू काकाको घरमा झुम्मिथे । धागोले बाँधेको चस्मा फुकालेर रेडियोमा पुरानो बेट्री हालेपछि स्याईं स्याईं गर्दै समाचार टिप्छ । करिब पचास वर्षअघिको समयमा रेडियोले हालसालैको समाचार दिनु अलि अस्वाभाविक लाग्छ । जग्गा जमिन प्रशस्त भएर पनि छोरानातिले सबै सम्पत्ति सखाप बनाइदिएपछि काकाको असोचनीय मृत्यु हुन पुग्छ । ‘थोपा’ कथामा भान्छामा पहिले पहिले प्रयोगमा ल्याउने सामान र आधुनिक सामानहरूको संयोजनलाई उहाँले रिग्सको प्रिजम्याटिक सिद्धान्तसँग तुलना गर्नुभएको छ । फ्रेड डब्लु रिग्सको यो सिद्धान्त समाजको सन्दर्भमा पूरातन र नूतन मूल्य तथा व्यवहार एउटै सङ्गठनमा सहअस्तित्वको रूपमा रहिरहन्छ भन्ने हो । यसको विशेषता भनेको विषमता, औपचारिकता र अतिव्यापित अर्थात् मिल्दाजुल्दा हुन्छन् भन्ने हो । भान्छाकै विवरणमा लेखकले भित्तामा पिर्का झुन्डिएको लेख्नुभएको छ जुन पढ्दा आश्चर्य लाग्छ । गौँथली गाउँलाई ‘सुगन्धपुर’ नाम दिइएको कथामा चतुरे र धनजिते अश्लील सिनेमा हेर्न पुग्छन् । सिनेमाबाट फर्केपछि चतुरेको मनमा छिटै धन कमाउने बाटो यही हो जस्तो लाग्छ । दुवैजना मिलेर यस्तो सिनेमा गाउँ भित्र्याएपछि उनीहरूको आफ्नै परिवार, सम्पूूर्ण गाउँ र चेलिबेटीहरूमा विकृति देखापर्छ । सम्पूर्ण गाउँलेवासीहरू आफ्ना श्रीसम्पत्ति बेचेर पालुबारी गाउँ पलायन हुन्छन् । कथा प्रस्तुतीकरण, भाषाशैली, कथा बुनोटको दृष्टिकोणले कथाकारको कथा भविष्य उज्ज्वल देखिन्छ । उहाँका सबै कथाले गाउँ, स्थानीय भाषा, प्राकृतिक सौन्दर्य बोलेका छन् । नारी पीडा, उत्पीडन, नारी यौन भोक मुख्य रूपमा अगाडि आएका छन् । उहाँका अधिकांश कथामा कतै लुकेर कतै छर्लङ्ग भएर यौन पोखिएका छन् । प्रकाशक फिनिक्स बुकले नेपाली आख्यानमा पाठकहरूका लागि अब्बल कथाकृति हो भनेर दावा गरेजस्तो छैन ‘सुगन्धपुर’ । कथानकमा श्रव्य र दृश्य सँगै मिलेर आउँछन् तर उहाँको प्रायः कथामा त्यस्तो छैन । धेरै ठाउँमा दुवैलाई एकैपल्ट बुझ्न दोहो¥याएर पढ्नुपर्ने देखिन्छ । कथाकारको यो पहिलो सङग्रहलाई माया गर्न सकिन्छ र पठनीय छ पनि भन्न सकिन्छ ।
आठजनालाई नइ बाल पुरस्कार
नइ प्रकाशनले १५ वर्ष ननाघेका आठजना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने जनाएको छ । नइ प्रकाशनले बहुआयामिक प्रतिभा सुश्री सम्पदा दुलाललाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
बन्धु र दाहाल पुरस्कृत
वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राडा चूडामणि बन्धु र वरिष्ठ पत्रकार भूषण दाहाललाई यस वर्षको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार र राष्ट्रिय पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पुरस्कार प्रदान गर्नुभएको हो ।
छ जनालाई नइ पुरस्कार
नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जना महानुभावलाई २०७८ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।
माया विश्वास, सम्मान र समर्पण हो : शताब्दीपुरुष जोशी
काठमाडौं, वैशाख ३० गते । शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशी शुक्रबार आफ्नो १०३ औं वर्षमा प्रवेश गर्नुभएको छ । जोशीका अनुसार आज उहाँको नागरिकता अनुसारको जन्मदिन हो । उहाँको तिथि अनुसारको जन्मदिन भने नवमीको दिन परेको छ । स्थानीय तहको निर्वाचनको दिन जन्मदिन परेकाले आफ्नो परिवारका सदस्यबीच मात्र जोशीको जन्मदिन मनाइएको हो । यसअघि भने ललितपुर महानगरपालिकाले जोशीको जन्मोत्सवमा र्याली नै निकालेको थियो । आफ्नो जन्मोत्सवको सन्दर्भमा जोशी भन्नुहुन्छ, “माया माया हो । यो भावना मात्र होइन, यो व्यवहार, विश्वास, सम्मान अनि समर्पण हो । माया मनमा भएर मात्र हुँदैन, व्यवहारमा लागू हुनुपर्छ । शायद माया भन्ने शब्द नभएको भए संसार सम्भव हुने थिएन । माया मै अडिएको छ दुनियाँ । म सय वर्ष बाँच्नुको पछाडि पनि मायाको साथ छ । माया रोकियो भने संसार रोकिन्छ । सबथोक माया हो । यसको बयान गर्नै सकिन्न ।”
आठ जनालाई नइ पुरस्कार
इ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी अहोरात्र शिक्षासेवामा समर्पित शिक्षाविद् डा.सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
इतिहासविद् मानन्धरलाई सम्मान
लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धरलाई ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’बाट सम्मानित गरेको छ । साहित्यकला मन्दिरको २८औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार राजधानीमा आयोजित स्रष्टा सम्मान समारोहमा इतिहासविद् मानन्धरलाई सो सम्मानबाट सम्मानित गरिएको हो । सो अवसरमा साहित्यकार तेजेश्वरबाबु ग्वङ्गलाई ‘सरस्वती सम्मान’ र वरिष्ठ सङ्गीतिज्ञ न्हुच्छेबहादुर डङ्गोललाई ‘नारायणगोपाल सङ्गीत सम्मान’द्वारा सम्मानित गरिएको छ । उहाँहरूलाई जनही एक लाख ५१ हजार रुपियाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।
सिटौला र उपाध्यायलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’
नेपाली भाषासहित्यको अन्तराष्ट्रिय विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका स्रस्टा सम्मानित हुनुहुने भएको छ । नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तराष्ट्रिय पुरस्कार’ नेपाली वाङमयको श्रीवृद्धिका लागि सिर्जना र संगठनमार्फत निरन्तर जागरुक एवं समर्पित अमेरिकाका प्राज्ञ मोहन सिटौलालाई प्रदान गर्ने निर्णय गरेको छ ।
चित्रकार र पल्पसाको प्रेम ‘पल्पसा क्याफे’
नाटकको सुरुवातमा कलाकारहरूले बेलुनलाई माया गर्दै मुसारी रहन्छन् । लाग्छ बेलुनले केही प्रतिक्रिया जनाउँदै छ । बेलुनसँगै बम पड्कन थाल्छन् । अनि सुरु हुन्छ झुस्स दारी पालेका अग्लो कदको एउटा केटो र पल्पसाको सवाद । चित्रकारलाई सबैकुरा थाहा छ ।
डेल्फिक काउन्सिल छलफल
कला तथा संस्कृतिको क्षेत्रमा काम गर्ने संस्था अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको सार्कस्तरीय सचिवालय नेपालमा ल्याउन छलफल सुरु भएको छ । भारतको गुरुग्राममा भएको एक सम्मेलनमा नेसनल डेल्फिक काउन्सिल नेपालका पदाधिकारीले अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलका सेक्रेटरी जनरल रमेश प्रसन्नासँग छलफल सुरु गर्नुभएको हो ।
रातो मच्छिन्द्रनाथको जात्रा सुरु
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ शुक्रबार मङ्गलबजारबाट सुन्धारातर्फ तानिएको छ । ललितपुरको पुल्चोकबाट मङ्गलबजार लगिएको रथ त्यहाँबाट तानेर सुन्धारातर्फ ल्याइएको हो । वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म हुने जात्रा हेर्न ठूलो सङ्ख्यामा सर्वसाधारण भेला भएका थिए । सडकदेखि घरको छतसम्म रथयात्रा हेर्ने मानिसको भीड थियो ।
‘प्रदेशमा मिडिया’ सार्वजनिक
सङ्घीय प्रणालीमा सञ्चारमाध्यमको अवस्थाबारे अनुसन्धानात्मक पुस्तक ‘प्रदेशमा मिडिया’ सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले प्रकाशित गरेको यो पुस्तकमा सङ्घ र प्रदेशमा रहेका मिडियाको अवस्थालाई सर्वेक्षणसहित पत्रकारको तथ्याङ्क पनि उल्लेख गरिएको छ । पुस्तकभित्र नेपालमा आठ हजार ९५३ सञ्चारमाध्यम जसमा ४७ सय ८९ पत्रिका, आठ सय ८० एफएम रेडियो, १६४ टेलिभिजन र ३१ सय २० अनलाइन सञ्चारमाध्यम भएको उल्लेख छ । नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका पत्रकारको सङ्ख्या १३ हजार ७७ जना रहेको जानकारीसमेत पुस्तकभित्र छ । कार्यक्रममा प्राध्यापक पी खरेलले सञ्चारमाध्यमको एकीकृत तथ्याङ्कले सङ्घ, प्रदेश र जिल्ला तहमा मिडियाको अवस्था बुझ्न सहयोग पुग्ने भन्दै पुस्तकले सञ्चार क्षेत्रको बहुपक्षीय अध्ययनका लागि पनि सहयोग पु-याउने बताउनुभयो ।
वानीरा प्रज्ञा पुरस्कार कालीप्रसाद रिजाललाई
साहित्यकार डा. वानिरा गिरी प्रज्ञा पुरस्कार कालीप्रसाद रिजाललाई प्रदान गरिएको छ ।