• १५ वैशाख २०८१, शनिबार

फिफा महिला विश्वकप फुटबल

मोरोक्को नकआउट चरणमा, जर्मनी बाहिरियो

blog

समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै मोरोक्को र कोलम्बिया । तस्बिर : एएफपी

काठमाडौं, साउन १८ गते । मोरोक्को फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एच’ अन्तर्गत बिहीबार भएको समूह चरणको अन्तिम खेलमा कोलम्बियालाई १–० गोलले हराउँदै मोरोक्को नकआउट चरणमा प्रवेश गरेको हो ।

मोरोक्कोको जितमा एनिसा लाहमरीले निर्णायक गोल गर्नुभयो । उहाँले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । हारेपनि कोलम्बियाले समूह विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

यस समूहबाट उपाधिको दाबेदार जर्मनी र दक्षिण कोरिया बाहिरिएका छन् । बिहीबार नै भएको खेलमा जर्मनी र दक्षिण कोरिया १–१ गोलको बराबरीमा रोकिए ।

दुई पटकको विश्वकप विजेता जर्मनी पहिलो पटक विश्वकपको समूह चरणबाट बाहिरिएको हो । जर्मनीले सन् २००३ र २००७ को विश्वकप उपाधि जितेको थियो । जर्मनीले यसअघिका सबै संस्करणमा नकआउट चरणमा पुगेको थियो । 

यस समूहमा विजेता कोलम्बियाले तीन खेलबाट  ६ अङ्क बनायो । उपविजेता मोरोक्कोले पनि समान खेलबाट ६ अङ्क जोड्यो । मोरोक्को गोल अन्तरका आधारमा पछि परेको हो । चार अङ्क बनाएको जर्मनी र एक अङ्क बनाएको दक्षिण कोरियाका लागि विश्वकप समूह चरणमै सीमित बन्यो । एजेन्सी