• १४ वैशाख २०८१, शुक्रबार

आजबाट स्तनपान सप्ताह सुरु

blog

काठमाडौँ, साउन १६ गते । बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउन आग्रह गरिएको छ । 

 परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले विश्व स्तनपान दिवसको अवसरमा बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउन आग्रह गर्नुभएको हो ।  थापाले शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्व आमाको दूधमा पाइने हुनाले शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “आमाको दूधमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी र खनिज तत्त्वहरू हुने भएकोले जन्मिएदेखि छ महिनासम्म दूध खुवाउनुपर्छ ।” शिशुलाई कम्तीमा २ वर्षसम्म पूर्णरूपमा स्तनपान गराउन थापाको आग्रह छ । 

दूध खुवाउँदा हुने फाइदा 

थापाका अनुसार दूध खुवाउँदा आमा र बच्चा दुवैका लागि फाइदा जनक छ । उहाँ भन्नुहुन्छ, “आमाको दूध बालबालिकाको लागि अमृत समान हो । यसले बालबालिकाको जीवन रक्षा गर्छ । पहिलो पहेँलो बिगौती दूधले खोपसरह काम गर्छ र निमोनिया, झाडापखाला,कान,छाला,पेट तथा श्वासप्रश्वासका सङ्क्रमणसँग लड्न सक्ने क्षमता बढाउँछ ।” 

 यसमा शिशु जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छुटै बाहिर निस्किने थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“शिशुले दूध चुस्दा पाठेघर खुम्चिन्छ जसले गर्दा बच्चा जन्माएपछि बढी रगत बग्ने खतरालाई घटाउँछ ।” त्यसका अलावा यसले  स्तन र पाठेघरसम्बन्धी क्यान्सरको खतरालाई घटाउने थापाको भनाइ छ । 

आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिने सफा, पोसिलो हुने गर्छ । पूर्ण स्तनपान गराउँदा शिशुको आमासँगको आत्मीयता बढाई शिशुको मानसिक,बौद्धिक, शारीरिक तथा सामाजिक विकास गर्ने थापा बताउनुहुन्छ ।  

 स्तनपान कसरी गराउने 

थापाका अनुसार शिशु जन्मने बित्तिकै आमाको छातीमा टाँसिएर रहन दिने। बालबालिका जन्मको १ घण्टाभित्रै आमाको बिगौती दू देखि ६ महिनासम्म पूर्ण स्तनपान गराउने । 

दूध खुवाउँदा एकातिरको दूध निख्रिएपछि मात्र अर्को स्तनको दूध खुवाउने ।बालबालिकालाई दिनको १० देखि १२ पटक स्तनपान गराइराख्ने । बालबालिकाले जति पटक दूध खान खोज्छ त्यति नै पटक स्तनपान गराउने । बालबालिकालाई सही आसन र सम्पर्कमा राखेर स्तनपान गराउने । आमा र वा बालबालिकाका, जो बिरामी भए पनि निरन्तर स्तनपान गराइरहने । बालबालिका २ वर्ष वा सोभन्दा पछिसम्म पनि निरन्तर रूपमा स्तनपान गराउन थापाको सुझाव छ । 

 आमाले के कुरामा ध्यान दिने 

स्तनपान गराइरहेकी आमाले दैनिक खाने गरेको खाना भन्दा २ पटक थप खान खान चिकित्सकको सुझाव छ । बोतलबाट दूध नखुवाउने । स्तनपानसम्बन्धी सिफारिस गरिएका व्यवहारहरू हरेक शिशुहरूमा हरेक अवस्थामा लागु हुन्छ । यी व्यवहारहरू अपनाउँदा आमाहरूले लगातार रूपमा दूध उत्पादन गरिरहन सक्ने थापा बताउनुहुन्छ ।  

 शिशुलाई आमाको दूध पुगे नपुगेको कसरी थाहा पाउने ?

थापाका अनुसार दूध प्रशस्त खान पुगेको शिशुले एक दिनमा (२४ घण्टामा) कम्तीमा ६ देखि ८ पटकसम्म पिसाब फेर्छ र पिसाबको रङ्ग सफा हुन्छ ।  शिशुलाई दूध प्रशस्त खान पुगेको छैन भने २४ घण्टामा ६ पटकभन्दा कम पिसाब फेर्छ र पिसाबको रङ्ग गाढा पहेँलो, बाक्लो, एकदम गन्हाउँछ थापा बताउनुहुन्छ ।