• १४ वैशाख २०८१, शुक्रबार

साइबर सुरक्षामा चुनौती

blog

काठमाडौँ, साउन ६ गते । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साइबर स्पेसमा राष्ट्रिय सूचना तथा व्यक्तिगत गोपनीयताको संरक्षण जटिल हुँदै गएको बताउनुभएको छ। 

साइबर अपराध, डिजिटल आक्रमण र साइबर आक्रमणले राष्ट्रिय सुरक्षाका साथै अपराध अनुसन्धानलगायतका संवेदनशील विषयमा चुनौती थपिएको बताउँदै उहाँले राष्ट्रिय र सामरिक महत्वका सूचनाका अतिरिक्त अन्य सूचनाहरू चोरी गर्ने, ह्याक गर्ने प्रवृत्ति बढेको उल्लेख गर्नुभयो। 

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको साइबर सुरक्षासम्बन्धी उच्चस्तरीय अन्तक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “देशको सम्पूर्ण कम्प्युटर नेटवर्कमाथिको साइबर तथा साइबर ‍-यानसम आक्रमण डिजिटल युगले ल्याएको नयाँ परिस्थितिसमेत राष्ट्रिय सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण विषय बनेका छन्।”

उहाँले साइबर सुरक्षा चुनौती थपिँदै गएकाले यसबाट बच्ने सुरक्षात्मक उपाय अवलम्बन गरी साइबर सुरक्षाको स्तर वृद्धि गर्दै साइबर अपराध नियन्त्रण गर्न तत्काल आवश्यक देखिएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको प्रयोगमा अन्य मुलुकको तुलनामा नेपाल अगाडि भए पनि साइबर सुरक्षाका दृष्टिकोणले पूर्वाधार, जनशक्ति तथा प्रविधि कमजोर रहेकाले सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो। 

“साइबर अपराधका घटना वृद्धि हुँदै गइरहेका छन्। पछिल्ला दिनमा बैङ्क तथा वित्तीय क्षेत्रमा साइबर हमलाका घटना बढेर गएका छन्,” उहाँले भन्नुभयो, “नेपालमा बढ्दो साइबर जोखिमसँगै साइबर सुरक्षाको प्रभावकारी व्यवस्थापन हुन नसकेकाले साइबर अपराध र साइबर अपराधविरुद्ध प्रभावकारी अभियान सञ्‍चालन गर्नु अहिलेको प्रमुख आवश्यकता हो।” 

उहाँले सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकारका सूचना प्रविधि प्रणालीको मानकीकरण गरी एकआपसमा अन्तरआबद्ध बनाउन आवश्यक मानक तथा निर्देशिका तयार गर्ने कार्यमा अविलम्ब प्रगति आवश्यक रहेको बताउनुभयो। उहाँले साइबर सुरक्षाको स्तर वृद्धि गर्न तथा साइबर अपराध नियन्त्रण गर्न उपयुक्त नीतिगत तथा कानुनको व्यवस्थाका लागि अध्ययन गरी सिफारिस गर्न बनेका विभिन्न समितिले दिएको प्रतिवेदनको कार्यान्वयनमा तीव्रता दिनु जरुरी रहेको बताउनुभयो। 

“आमनागरिकमा साइबर सुरक्षासम्बन्धी पर्याप्त चेतना अभावले व्यक्तिगत तथ्याङ्कमाथि सुरक्षा चुनौती बढ्दो छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसको नियन्त्रणका लागि साइबर सुरक्षा जागरुकतालाई राज्य र जनस्तरबाट साझा अभियानकै रूपमा अघि बढाउनुपर्छ। त्यसमा आवश्यक सहयोग र सहजीकरण गर्न सरकार प्रतिबद्ध छ।” साइबर सुरक्षाका सवालमा देशभित्रै आवश्यक मानव संसाधन र प्रविधिमा लगानी केन्द्रित गर्ने बेला आएको बताउँदै उहाँले जोखिम र चुनौतीलाई सम्बोधन गर्न सरकारी, गैरसरकारी र निजी क्षेत्रले साझा प्रयासमा साइबर सुरक्षा रणनीति तथा कार्ययोजना बनाई लागु गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। 

“आजको विज्ञान प्रविधिको युगमा आधारभूत तहबाट नै डिटिजल साक्षरताको विकास गरी प्रविधिमैत्री ज्ञानका साथै प्रविधिको दुरुपयोगको खतराबाट बच्न सक्ने पर्याप्त सावधानीबारे जानकारी आवश्यक छ,” उहाँले भन्नुभयो, “त्यसैले विद्यालय तहबाट नै पाठ्यक्रममा डिजिटल साक्षरताको व्यवस्था गर्नेतर्फ समेत हाम्रो ध्यान केन्द्रित हुन आवश्यक छ।”

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा डाटा चोरीका साथै साइबर सुरक्षाको चुनौती बढ्दो अवस्थामा रहेको बताउनुभयो। उहाँले पछिल्लो समय डाटा सुरक्षाका बारेमा नेपालमा आन्तरिक तथा बाह्य चुनौती बढेको बताउँदै यसतर्फ सरकारले रणनीतिक योजना ल्याउनुपर्नेमा जोड दिनुभयो। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले पछिल्लो समय नेपालका सरकारी डाटा तथा सूचनाको जासुसी र चुहावटको घटना बढेको बताउनुभयो। उहाँले साइबर स्पेसमा रहेका सूचना तथा डाटा सुरक्षाका लागि नयाँ कानुन, आधुनिक संरचनाका साथै दक्ष जनशक्ति आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीका तर्फबाट साइबर सुरक्षा चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत भएका थिए।