• २४ वैशाख २०८१, सोमबार

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : नेपाल र युएईबीच प्रतिष्ठाको लडाईं

blog

फाइल तस्बिर ।

काठमाडौँ, साउन २ गते । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले बुधबार संयुक्त अरव इमिरेट्स (युएई) सँग खेल्नेछ ।

समूहमा लगातार दुई हार खेपेको नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालका लागि बुधबार युएईसँगको खेल केवल प्रतिष्ठाको लडाईं हुनेछ । 

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो । दुवै खेलमा नेपालको ब्याटिङ कमजोर सावित भयो ।

यस समूहमा युएई पनि भारतसँग आठ र पाकिस्तानसँग एक सय ८४ रनले पराजित भएको थियो । युएईका लागि पनि नेपालसँगको खेल प्रतिष्ठाकै लडाईं हुनेछ । समूह ‘बी’ बाट भारत र पाकिस्तानले सेमिफाइनलमा स्थान बनाईसकेका छन् । 

यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान रहेका छन् । एसियाका आठ टोली सहभागि प्रतियोगितामा सिनियर राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । अन्य देशले युवा खेलाडीलाई मौका दिएका छन् ।

समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने ब्यवस्था छ । फाइनल खेल जुलाई २३ तारिख हुनेछ । यस प्रतियोगिताको कुनै पनि खेललाई एक दिवसीय मान्यता रहेको छैन । 

नेपालले यस प्रतियोगितालाई एसिया कपको तयारीको रुपमा लिएको छ । एसिया कप आगामी अगष्ट–सेप्टेम्बरमा पाकिस्तान र श्रीलङ्कामै हुनेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूह ‘ए’ मा छन् ।

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।