• १४ वैशाख २०८१, शुक्रबार

कोशी प्रदेशमा चार वर्ष गठबन्धनको सरकार हुन्छ : मुख्यमन्त्री थापा

blog

झापा दमकस्थित क्याम्पस मोडको एक पसलमा कांग्रेस कार्यकर्तासँग चिया नास्ता खादै मुख्यमन्त्री उद्धव थापा।

विष्णुप्रसाद पोखरेल

दमक, असार २३ गते। कोशी प्रदेशका नव निर्वाचित मुख्यमन्त्री उद्धव थापाले आफूले विश्वासको मत प्राप्त गर्ने र अबको चार वर्ष कोशी प्रदेशमा गठबन्धनको सरकार रहने दाबी गर्नुभएको छ। उहाँले आफूले विश्वासको मत पाएपछि जनअपेक्षा र स्थानीय आवश्यकता अनुसार विकासमा ध्यान दिने जनाउँदै यस्तो बताउनुभएको हो।

गृह जिल्ला झापामा आफ्नो स्वागतमा शनिबार भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले बजेटमार्फत जनअपेक्षा अनुसारका विकास निर्माणका काम गरिने बताउनुभयो। ‘‘एक महिनाभित्रमा विश्वासको मत लिनेछु र मलाई विश्वास छ मैले विश्वासको मत प्राप्त पनि गर्नेछु’’, उहाँले भन्नुभयो।

आफूलाई बहुमत प्राप्त भएपछि गठबन्धन दलको सरकारले चार वर्ष प्रदेश सरकार चलाउने  उहाँको भनाइ थियो। ‘‘प्रदेशको आगामी कार्यकाल सफलतापूर्वक गठबन्धनको सरकारले सम्पन्न गर्नेछ’’, उहाँले भन्नुभयो। मुख्यमन्त्री थापाले आफूलाई मुख्यमन्त्री बनाउनका लागि सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो।

शुक्रबार मुख्यमन्त्रीको शपथ ग्रहण गरेर औपचारिक रूपमा कार्यभार सम्हालेपछि उहाँ गृह जिल्ला झापा आउनुभएको हो। उहाँले कांग्रेसका अगुवा नेता कार्यकर्तासँग भेटघाट गर्नुभएको छ। दमकमा उहाँले कांग्रेसका पुराना नेता पूर्णानन्द शर्मा सहितलाई भेट्नु भएको छ।