• २६ वैशाख २०८१, बुधबार

अवैध रुपमा ल्याइएको कपडा र माछा बरामद

blog

प्रहरीले बरामद गरिएको कपडा, चकलेट र माछा । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, असार १३ गते ।
मकवानपुर प्रहरीले अवैध रुपमा ल्याएको कपडा, चकलेट र माछा बरामद गरेको छ ।

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले मङ्गलबार दिउँसो भन्सार छलेर ल्याएको लेडिज कुर्था सुरुवाल ४१ थन तथा किटक्याट ४८ प्याकेट  र डेरिमिल्क चकलेट सानो ठूलो गरी ६७ प्याकेट करिब एक लाख ८६ हजार नौ सय रुपियाँ बराबरको सामान बरामद गरेको हो ।

हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टमा काँकडभित्ताबाट हेटौँडातर्फ आउँदै गरेको प्र.१–०२–००१ ख ९७५७ नं.को यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा उक्त बसको पछाडि डिक्कीभित्र लुकाई ल्याएको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ती सामान राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने भएको छ ।

यस्तै, प्रहरीले अवैध रुपमा ल्याइएको ८० किलो माउर माछाका भुराहरु बरामद गरी नष्ट गरेको छ ।

काँकडभित्ताबाट हेटौँडातर्फ आउँदै गरेको प्र.१–००६ ख ५२३८ नं.को यात्रु बाहक बसलाई जाँच गर्ने क्रममा उक्त बसको डिक्कीभित्र भारतको बङ्गाल राज्यको  माल्दा जिल्ला अल्पाडा ग्राममा वर्ष ३२ का पुरन चौधरीले भन्सार छलेर ल्याएको अवस्थामा निषेधित माउर माछाका भुराहरु बरामद गरी नष्ट गरिएको हो । माछासँगै पक्राउ परेका पुरन चौधरीलाई आवश्यक कारबाहीका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौँडामा पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।