• १४ वैशाख २०८१, शुक्रबार

बजेटमा पूर्वाधारलाई प्राथमिकता

blog

बागमती प्रदेश ब्युरो

हेटौँडा, असार १२ गते । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेसँगै प्रदेशभित्रका स्थानीय तहले आगामी आवका लागि बजेट ल्याउने क्रम जारी छ।

असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाका कारण अधिकांश पालिकाले नीति तथा कार्यक्रम र बजेट गाउँ तथा नगर अधिवेशनमा प्रस्तुत गरेका छन् । कतिपयले बजेटपछि सार्वजनिक गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। 

अधिकांश पालिकाले पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन्। पूर्वाधारतर्फ सडक निर्माण पहिलो सूचीमा र त्यसपछि शिक्षा, स्वास्थ्य क्षेत्रका भवन र पालिका तथा वडाका प्रशासनिक भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ। 

धादिङमा अधिकांश पालिकाको बजेट सार्वजनिक 

धादिङका अधिकांश पालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। असार १० गतेभित्र सार्वजनिक गर्नुपर्ने नियम अनुसार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन्। 

सार्वजनिक नीति तथा कार्यक्रम र बजेट पूर्वाधार विकासमा नै केन्द्रित भएको पाइन्छ। पूर्वाधार विकासपछि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन भएको छ। धादिङको नीलकण्ठ नगरपालिकाले असार ७ गते नै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। यस नगरपालिकाले आव २०८०/८१ का लागि एक अर्ब १८ करोड ९७ लाख ०७ हजार ४७७ रुपियाँ ६६ पैसाको बजेट विनियोजन गरेको छ । दोस्रो नगर सभाले कृषि तथा पशु, उद्योग, वाणिज्य, संस्कृति तथा पर्यटन, सहकारी, सामाजिक विकास, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइलगायतका शीर्षकमा बजेट विनियोजन गरेको नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।  

धादिङकै त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीका अनुसार माध्यमिक तहसम्म पूर्ण निःशुल्क शिक्षा, वृद्धका लागि निःशुल्क स्वास्थ्य बिमा र उपचार जस्ता लोकप्रिय कार्यक्रम ल्याइएको छ। उहाँले केही विशेष योजना छनोट गरी बजेट विनियोजन गरिएको बताउनुभयो। त्रिपुरासुन्दरी गाउँपालिकाले आगामी आवका लागि ५४ करोड ८३ लाख ८६ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । 

ज्वालमुखी गाउँपालिका, खनियाँबास गाउँपालिका, धुनीबेँसी नगरपालिकाले पनि १० गते नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। अन्य पालिकाको जस्तै यी पालिकाले पनि भौतिक पूर्वाधारमा नै बढी बजेट विनियोजन गरेका छन्। गत वर्षको तुलनामा पालिकाहरूमा बजेट घटेर आएकाले विनियोजनमा समस्या भएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनुभयो । दनैका अनुसार टोल भेलाबाट वडा हुँदै आएका माग पालिकाको क्षमताभन्दा निकै बढी भएकाले त्यसलाई सम्बोधन गर्न जटिल भएको बताउनुभयो । पालिकाले पूर्ण बजेट भने सार्वजनिक गरेका छैनन्। २०७९/८० को खर्चको अवस्था हेरी बाँकी बजेट निर्माण हुने पालिकाले जनाएका छन्। उता धादिङको रुवीभ्याली गाउँपालिकाको गाउँ सभाका क्रममा झडप भएको छ।

कालिकाको बजेट ८१ करोड ७७ लाख

पूर्वी चितवनको कालिका नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ८१ करोड ७७ लाख ८० हजार बजेट सार्वजनिक गरेको छ। नगरको जारी नगर सभामा उपप्रमुख विमला तमाङले प्रस्तुत गर्नुभएको बजेटमा नगर यातायात, सडक सञ्जाल विस्तार, निःशुल्क हटलाइन सेवा, नागरिक सहायता कक्षबाट गुनासा सुनुवाइलगायतमा जोड दिइएको छ ।

विनियोजित बजेटमध्ये आन्तरिक आयबाट ११ करोड, राजस्व बाँडफाँटबाट १६ करोड ९६ लाख ९७ हजार, जनसहभागिता र बेरुजु असुलीबाट ६० लाख रुपियाँ आम्दानीको लक्ष्य छ। अन्तरसरकारी वित्तीय हस्तान्तरण सङ्घतर्फ ४२ करोड ७० लाख, अन्तरसरकारी वित्तीय हस्तान्तरण प्रदेश सरकारतर्फ तीन करोड ६० लाख ८३ हजार रुपियाँ छ। यसै गरी सडक बोर्ड र जिल्ला समन्वय समितिबाट ९० लाख र चालु आवको बचत छ करोड गरी ८१ करोड ७७ लाख ८० हजार रुपियाँ आम्दानी गर्ने लक्ष्य लिइएको छ। 

सङ्घीय सरकारको ससर्त अनुदानको कार्यक्रममा २६ करोड ९६ लाख, प्रदेश सरकारको ससर्त अनुदानको कार्यक्रममा दुई करोड १९ लाख ८२ हजार रुपियाँ रहेको छ। सङ्घको विशेष अनुदान सङ्घतर्फ एक करोड ५० लाख र समपूरक अनुदानतर्फ ७५ लाख खर्च गर्ने अनुमान गरिएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो। नगरपालिकाको आफ्नै प्रशासकीय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले आव २०८०/८१ बाट सोही भवनवाट सेवा प्रदान गर्ने तयारी भइरहेको बजेटमा उल्लेख छ।

रत्ननगरको बजेट एक अर्ब ३३ करोड

रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३३ करोड ७२ लाख ७३ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ। 

नगरसभामा रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले प्रस्तुत गर्नुभएको बजेटमा आगामी आवमा आर्थिक विकासतर्फ दुई करोड पाँच लाख ६५ हजार रुपियाँ खर्चको अनुमान गरिएको छ। सामाजिक विकासतर्फ दुई करोड ५७ लाख छ हजार, पूर्वाधार विकासतर्फ तीन करोड आठ लाख ४८ हजार र वन वातावरण तथा विपत् व्यवस्थापनतर्फ ८२ लाख २६ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ।

यस्तै नगर गौरवका आयोजनातर्फ रत्ननगर हरियाली पार्कमा तीन करोड २० लाख, सार्वजनिक जग्गा संरक्षण तथा घेराबार कार्यक्रमका लागि २० लाख, उज्यालो रत्ननगर अभियानका लागि एक करोड ५० लाख रुपियाँ विनियोजन गरिएको छ। नगर प्रमुखसँग उद्यमशील कार्यक्रम एक करोड, कृष्णसार बासस्थान व्यवस्थापन ५० लाख र लौरीघोल तथा पञ्चनदी संरक्षण तथा पार्क निर्माण ५० लाख रुपियाँ विनियोजन गरिएको छ।

आवको अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये सङ्घीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ९७ करोड २१ लाख ६१ हजार रुपियाँ रहेको छ। राजस्व ३५ करोड एक लाख १२ हजार, राजस्व बाँडफाँटबाट २० करोड ८१ लाख १२ हजार र आन्तरिक आयबाट १२ करोड रुपियाँ जुट्ने छ।

नगर प्रमुख प्रह्लाद सापकोटाले आव २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर क्षेत्रका मुख्य सडक र चोकमा सडक बत्तीमार्फत उज्यालो रत्ननगर अभियान सञ्चालन गरिने बताउनुभएको छ। 

राप्तीमा बस्न सकेन नगर सभा 

चितवन जिल्लाका सबै स्थानीय तहले गाउँ तथा नगर सभामार्फत नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिरहँदा राप्ती नगरपालिकामा भने नगर सभा नै बस्न सकेन। 

नेकपा (एमाले) सम्बद्ध वडाध्यक्षहरूले वडागत बजेटको सिलिङ अस्वीकार गरेपछि नगर सभा स्थगित भएको नगर प्रमुख शमशेर लामाले जानकारी दिनुभयो। वडाध्यक्षले बजेट सिलिङको विषयमा अवरोध गरेकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकिएको जानकारी दिनुभयो। नगर प्रमुख लामाले भन्नुभयो, “नगर सभाका लागि हामीले धेरै नै प्रयास ग¥यौँ तर केही वडाध्यक्षले बजेट सिलिङलाई लिएर अवरोध गरेपछि सफल हुन सकेनौँ।”

नगर सभाको तयारीका लागि तीन पटकसम्म कार्यपालिका बैठक आह्वान गरिएको थियो तर तीनै पटक बैठक स्थगित भयो। वडाध्यक्षले माग गरे अनुसार सबै बजेटको सिलिङ पनि उपलब्ध गराइएको थियो। विभिन्न बहानामा नगर सभा बस्नै नदिने षड्यन्त्र भएको नगर प्रमुख लामाले आरोप लगाउनुभयो। प्रतिवडा दुई करोड बजेट दिन नगरपालिका तयार भएको पनि उहाँले उल्लेख गर्नुभयो। शिक्षा, स्वास्थ्यलगायतको सबै काम वडाबाटै हुनुपर्ने नगर प्रमुखको अधिकार कुनै विषयमा राख्न नहुने जस्ता हुनै नसक्ने माग राखेपछि सभा गर्न नसकेको प्रमुख लामाले बताउनुभयो। उहाँले भन्नुभयो, “हामी कार्यसम्पादनमा अगाडि नै छौँ, कतै हाम्रो सफलतालाई असफल बनाउने खेल हो कि भन्ने लागेको छ।” 

नगर प्रमुख लामाले असार १८ गते कार्यपालिका बैठक बस्ने तयारी भइरहेको बताउनुभयो। त्यसपश्चात् मात्रै नगर सभाको टुङ्गो लाग्ने छ। पछिल्लो समय यस नगरमा राजनीतिक विवाद बढ्दै गइरहेको छ। यस नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) बाट नगर प्रमुखमा लामा निर्वाचित हुनुभएको हो। 

नगरको अधिकांश वडामा नेकपा (एमाले) बाट विजयी भएका छन्। जसले गर्दा एमाले र समाजवादीबिचको राजनीतिक विवादमा राप्ती नगरपालिका पर्दै आइरहेको छ।

इन्द्रसरोवरको ४४ करोडभन्दा बढीको बजेट 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड ३४ लाख ५० हजार रुपियाँको बजेट ल्याएको छ। पालिका उपाध्यक्ष उमाकुमारी लामाले सडक सञ्जालको स्तरोन्नति एवं विस्तार, सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, भरपर्दो, पारदर्शी र नागरिकमैत्री बनाउँदै सुशासन कायम गर्ने र कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र बजारीकरण गरी कृषि क्षेत्रप्रति आकर्षित गर्ने कार्यक्रमलाई बजेटको प्राथमिकतामा पार्नुभएको छ। साथै पालिका अध्यक्ष देवकृष्ण पुडासैनीले कृषि, पर्यटन प्रवर्धन, पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै आगामी आवको नीति तथा कार्यक्रम गाउँ सभामा प्रस्तुत गर्नुभएको थियो। 

यस्तै मकवानपुरगढी गाउँपालिकाले आगामी आवका लागि ६२ करोड दुई लाख ५६ हजार रुपियाँको बजेट गाउँ सभामा पेस गरेको छ। विनियोजित बजेटमध्ये पुँजीगततर्फ ३२ करोड १९ लाख १२ हजार ८६४ रुपियाँ अर्थात् ५१.९ प्रतिशत र चालुतर्फ २९ करोड ८३ लाख ४३ हजार १५६ रुपियाँ अर्थात् ४८.१ प्रतिशत रहेको छ। विनियोजित बजेटको २४ करोड ९६ लाख ५६ हजार रुपियाँ अर्थात् ४०.२५ प्रतिशत पूर्वाधार विकास क्षेत्रमा आगामी आवमा गाउँपालिकाले खर्चने गरी बजेट प्रस्ताव गरिएको छ।

यसै गरी थाहा नगरपालिकाले आगामी आवका लागि ९८ करोड ८८ लाख ४१ हजार ८०७ रुपियाँको बजेट विनियोजन गरेको छ । नगर उपप्रमुख भरत गोपालीले आगामी आवका लागि प्रस्तुत गर्नुभएको बजेटमा आठ करोड ५४ लाख ५० हजार रुपियाँ राजस्व सङ्कलन हुने अनुमान गरिएको छ । बजेटमा कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्र, सुशासन, उद्यमशीलता र रोजगारीलाई प्राथमिकता दिइएको छ ।

(शालिग्राम नेपाल/चितवन, मुरारी अधिकारी/धादिङ, राममणि दाहाल/मकवानपुर)