होडिङ बोर्डले मानवीय सुरक्षामा खतरा


नगेन्द्र सापकोटा

काठमाडौंँ, चैत ९ गते । हावाहुरीको मौसम शुरू भएसँगै काठमाडौं महानगर क्षेत्रभित्रका कतिपय स्थानमा अव्यवस्थित रूपमा राखिएका होडिङ बोर्ड र प्रचार सामग्रीले मानवीय सुरक्षामा खतरा पुग्ने देखिएको छ ।
महानगर क्षेत्रका नयाँ सडक, असन, सुन्धारा, ठमेल, लैनचौर, रत्नपार्क, त्रिपुरेश्वर, टेकु, कलङ्की बानेश्वर, कोटेश्वर र चावेल लगायतका क्षेत्रमा राखिएका व्यावसायिक विज्ञापन र होडिङ बोर्डलाई हावाहुरीले हल्लाउँदा बोर्ड खस्ने र त्यसले मानवीयसुरक्षामा असर पुग्ने खतरा देखिएको छ ।
साँघुरो र व्यस्त स्थानमा राखिएका यस्ता होडिङ र प्रचार बोर्डले मानवीय जोखिम निम्तिन सक्नेप्रति महानगरपालिकाको ध्यान गएको छैन ।
महानगरपालिकाले जारी गरेको बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीतिमा मानवीय, भौतिक सुरक्षा र सहरी सौन्दर्यतामा कुरूप पार्नेगरी होडिङ बोर्ड निषेध गर्ने उल्लेख छ । तर त्यसको प्रभावकारी अनुगमन र नियमन नहुँदा कुनै पनि बेला जोखिम निम्तिन सक्ने खतरा देखिएको छ ।
वि. सं. २०७० मा बनेको उक्त नीतिमा सार्वजनिक र व्यक्तिको घरको छतमा राखिने होडिङ् बोर्डलाई आधुनिक प्रविधियुक्त र वातावरणमैत्री बनाउँदै होडिङ् बोर्ड र प्रचार सामग्रीको अनुगमन र नियमन गर्ने उल्लेख छ । तर प्रभावकारी कार्यान्वयन भएको छैन ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले हाल महानगरले सबै स्थानमा होडिङ बोर्ड राख्ने अनुमति व्यावसायीलाई नदिएको बताउनुभयो । अनुमगन गरी त्यस्ता होडिङ बोर्ड र प्रचार सामग्री हटाउने उहाँले बताउनुभयो ।
अव्यवस्थित प्रचार र होडिङ बोर्डले सहरी सौन्र्दयतालाई कुरूप पारिएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले धरापमा परेका र अव्यस्थित प्रचार सामग्रीलाई महानगरपालिकाले हटाउँदै जाने प्रष्ट पार्नुभयो ।
महानगरपालिकाले प्रभावकारी अनुगमन र नियमन नगर्दा महानगर क्षेत्रमा राखिएका होडिङ् बोर्डबाट कतिपय व्यवसायीले व्यक्तिगत लाभ लिएका छन । त्यसको अपजस महानगरपालिकाले खेप्नुपरेको छ ।
महानगरपालिकाद्वारा जारी नीतिमा विज्ञापन बोर्ड तथा प्रचार सामग्री राख्न पाउने स्थान, तरिका तथा सामग्री र निषेध गरिएका स्थान तथा सामग्रीहरुको मापदण्ड तोक्न सकिने छ । त्यसैगरी सार्वजनिक जग्गा, ऐतिहासिक सम्पदाको संरक्षण गर्दै वातावरण संरक्षणमा जोड दिने, विज्ञापन बोर्ड तथा प्रचार सामाग्रिको प्रयोगमा आधुनिक प्रविधिको प्रवद्र्धन र सामाजिक मूल्य मान्यतालाई आत्मसाथ गर्नुपर्ने छ ।
त्यसैगरी महानगर क्षेत्रमा अनुमति नलिई कुनै पनि प्रकारका विज्ञापनयुक्त, प्रचारात्मक, सूचना वा सन्देशमूलक बोर्ड, परिचय पाटी तथा सामाग्रीहरु राख्न नपाउने व्यवस्था नीतिमा उल्लेख छ । महानगर क्षेत्रका सम्पूर्ण वाह्य विज्ञापन बोर्ड तथा समाग्रिको नियमन गर्दै आन्तरिक साधनको उपयोग गरी यस क्षेत्रबाट प्राप्त हुने राजस्व बृद्धि गर्ने पनि व्यवस्था छ ।
त्यस्तै महानगर क्षेत्रका ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति कार्यालयको वाहिरी सीमाबाट कम्तिमा एकसय मिटरसम्म ३० वर्गफिटसम्मको स्थानमा व्यावसायिक परिचय पाटी वाहेक व्यवसायिक विज्ञापन बोर्ड तथा प्रचार सामग्री राख्न निषेध गर्ने नीतिमा उल्लेख छ । तर त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको महानगरपालिकाले स्वीकार गरेको छ ।
महानगर क्षेत्रमा राखिएका होडिङ् बोर्डमार्फत गत वर्ष महानगरपालिकाले दश करोड रूपियाँ राजस्व सङ्कलन गरेको थियो ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले अव्यवस्थित रूपमा राखिएका होडिङ र प्रचार वोर्डको तत्काल अनुगमन गरी त्यस्ता बोर्डको हटाउने बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds