• १६ वैशाख २०८१, आइतबार

आमसञ्चार र साहित्य

blog

तीसको दशक

२०३१ सालताका जब मैले लेख्न सुरु गरेको थिएँ, त्योबेला पनि मधुपर्कमा रचना प्रकाशित हुनु गौरवको विषय थियो । मधुपर्कका अधिकांश रचनाका बारेमा चर्चा हुन्थ्यो नै । तर मधुपर्क सरकारी  गोरखापत्र संस्थानबाट प्रकाशित भएको कारणले गर्दा कतिपय साहित्यकारहरूले आफ्ना रचना प्रकाशित गर्न चाहन्नथे । मधुपर्कमा पञ्चायत सरकारको छाया देख्थे । राजनीतिक दलहरू प्रतिबन्धित थिए । कतिपय राजनीतिक दलका नेताहरूले मधुपर्क पञ्चायत सरकार भएकै कारणले आफ्ना रचना छाप्न नदिनु नपठाउनु भनी मौखिक सर्कुलर गर्थे । त्यस्तै रूपरेखा, रचना, अभिव्यक्ति, वेदना, सङ्कल्प, झिसमिसे, प्रतिभा, दूबो, आँखीझ्याल, बान्की, जनमतलगायत साहित्यिक प्रकाशनहरू थिए, जसले साहित्य प्रकाशनमा महìवपूर्ण योगदान गरे । 

यीबाहेक त्यतिखेर प्रकाशित हुने साप्ताहिक पत्रिकाहरूले पनि निकै साहित्यकारहरू जन्माएको र हुर्काएको इतिहास छ । विशेषतः साप्ताहिक पत्रिकाहरूमध्ये समीक्षा, जनजागृति, अर्पण आदि पत्रिकामा कविता या मुक्तक पत्रिकाकै कार्यालयमा गएर वा हुलाकबाट पठाएर प्रकाशन कुर्नु त्योबेलाका सिकारु लेखक कविहरूका लागि  महìवपूर्ण कार्य हुन्थ्यो  । २०४६ सालभन्दा अघि मधुपर्कझैँ संस्थागत रूपमा अर्को साहित्यक पत्रिका गरिमाले लामो समय साहित्य सेवा गरेको छ । गरिमा प्रकाशित हुनुअघि हामी प्रतिभा मासिक गोजीका प्रकाशन गथ्र्यौं र अग्रज साहित्यकारहरूसँग  रचनाहरू माग्न उहाँहरूको घरअफिस चहाथ्र्यौं ।  एक पटक तत्कालीन साझा प्रकाशनका महाप्रबन्धक क्षेत्रप्रताप अधिकारीसँगको भेटमा उहाँले साहित्यिक पत्रिका गरिमा नियमित रूपमा प्रकाशित गर्ने योजना रहेको सुनाउनुभएको थियो । लगत्तै प्रकाशित भयो पनि ।

२०४६ साल 

नेपाली राजनीति मात्र होइन आमसञ्चारमा पनि २०४६ सालले महìवपूर्ण भूमिका खेलेको छ  । नियन्त्रित सञ्चार व्यवस्थाबाट खुला व्यवस्था भएको कारणले २०४६ सालको आन्दोलनपछि आमसञ्चारमाध्यमको लहर नै चल्यो । निजीक्षेत्रबाट दैनिक पत्रिका प्रकाशन र टेलिभिजन प्रसारणको बाटो खुल्यो । दैनिक पत्रिका र टेलिभिजनका लागि साहित्य महìवपूर्ण विषय भने रहेन । 

आमसञ्चारको माध्यम प्रशस्तै फस्टाए पनि साहित्यमा तिनको योगदान भने नगन्य नै रह्यो । साहित्यलाई अत्यन्तै अनुत्पादक क्षेत्रका रूपमा ग्रहण ग¥यो । त्यस्तै आममानिसमा नकारात्मक विषयको बीजारोपण गर्नमा  आमसञ्चारमाध्यमको भूमिका रह्यो । एउटै घटना र कार्यक्रम कुनै सञ्चारमाध्यमले सकारात्मक देख्ने र कुनैले भने नकारात्मक देख्ने परम्परा कायम रह्यो । कुनै विषय वा घटनालाई द्वन्द्वात्मक रूपमा गुण दोष हेरेर तुलनात्मक रूपमा अध्ययन गर्नु र प्रचार गर्नुको साटो पूर्ण रूपमा नकारात्मक रूपमा पक्षधरता देखाउनु र आममानिसमा खराबै खराब भएको कुरा प्रस्तुत गर्ने प्रचलन भयो ।

यो बीचमा साहित्यप्रति आमसञ्चारमाध्यम सञ्चालन गर्ने सञ्चालकहरू सकारात्मक हुन सकेनन् ।

साठीको दशका एफएम रेिडयोको बोलवाला थियो । जताततै रेडियोको आवाज । भन्न त आवाजबिहीनहरूको आवाज भनियो तर आफ्नै पक्षधरका आवाज प्रसारित भयो । हुँदा हुँदा व्यक्तिगत प्रचारसमेतका लागि प्रयोग भए । तर पनि तुलनात्मक रूपमा एफएम रेडियोले स्थानीय भाषा र साहित्यका लागि भने काम गरेको देखियो । 

सत्तरीको दशक इन्टरनेटको दशक हुन गयो । इन्टरनेटका माध्यमबाट अनलाइन र सामाजिक सञ्जाल हाबी छ । सबै मानिस आफ्ना विचार र भावना प्रस्तुत गर्न स्वतन्त्र छन् । 

अनलाइनहरूले साहित्यका लागि थोरै स्पेश दिएको छ । दैनिक पत्रिकाहरूले पनि प्रायशः शनिबार, नत्र अरू कुनै बारको दिन पारेर साहित्यका स्तम्भहरू चलाएका छन् । यसले साहित्यको प्रचारप्रसारमा जरुर मद्दत मिलेको नै छ । 

लोकतन्त्र र आमसञ्चार

लोकतन्त्रमा सञ्चारमा अङ्कुश लगाउनुहुँदैन । आममानिसले सूचनाको हक प्राप्त गर्नका लागि आमसञ्चारको स्वतन्त्रता अपरिहार्य छ । यो एउटा आमधारणा छ । तर पनि आआफ्नो परिस्थिति र राजनीतिअनुसार आमसञ्चारका माध्यमहरूलाई विभिन्न देशमा कारवाही गर्ने, सामाजिक सञ्जालकै माध्यम प्रयोग गर्न नदिने कार्य भइरहेको छ । यी विद्युतीय आमसञ्चारका माध्यम कोबाट परिचालित छन्, कतै कुनै संवेदनशील सूचना त सङ्कलन गरिरहेको छैन भन्ने कुरा व्यक्ति वा राज्यले शङ्का गर्ने ठाउँ पनि बनेको छ । तथापि हाम्रो देशमा सबैखाले सञ्चारमाध्यम बिनाअङ्कुश चलेकै छन् ।

तर एउटा कुरा के बिर्सन हुँदैन भने हाम्रोजस्तो मुलुकमा लोकतन्त्र भनेको पुँजीवादी व्यवस्था हो । जोसँग पुँजी छ उसले जगत् परिचालन गर्छ । पुँजीपतिहरूकै मिलन र प्रतिस्पर्धा हुन्छ । मानिसहरूलाई पुँजीको आकारले हेरिन्छ । सम्बन्धहरू पनि पुँजीअनुसार नै निर्माण हुन्छन् । आमसञ्चारका माध्यम पनि पुँजीको प्रभावबाट मुक्त छैन । जताबाट बढी विज्ञापन आउँछ, उसको प्रशंसा गरिरहेको छ । जसले लगानी गरेको छ, उसको खातिरदारी गर्नुपरेको छ । आमसञ्चारमाध्यमहरूले दिने समाचार र सेवा पनि पुँजीपति र लगानीकर्ताको स्वार्थ नाघेर अगाडि बढ्न सक्ने होइन ।

जसरी गोरखापत्रलाई सरकारको ताबेदारी गरेको आरोप आइरहन्छ । निजी लगानीबाट स्थापित आमसञ्चारका माध्यमहरू पनि मौन रूपमा आम्दानी गराइदिने आर्थिक रूपमा टिकाइदिने व्यक्ति वा संस्थाको ताबेदारी गरिरहेकै हुन्छन् । यस्तो अवस्थामा आमसञ्चारमाध्यमले साहित्यको लागि योगदान गर्नुभनेको आफ्ना स्वार्थहरूलाई केही हदसम्म पन्छाएर अगाडि बढ्नु हो ।

साहित्य पूर्ण रूपमा आम्दानीको स्रोत नभएसम्म आमसञ्चारमाध्यमहरूको प्राथमकितामा पर्दैन नै । तर पनि साहित्यका समाचार, घटना विवरण आदिमा आममानिसको पनि चाहना हुने हुनाले उसको बजार छ । त्यही बजार अथवा पाठक भएकै नाताले साहित्यप्रति लगाव हुने नै छ ।यीबाहेक कतिपय आमसञ्चारमाध्यमका संस्थाहरूले साहित्यको प्रवद्र्धनमा गरेका प्रयास स्तुत्य छ ।