• २९ वैशाख २०८१, शनिबार

पाँच बालपुस्तक एकसाथ लोकार्पण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ४ गते  । कोपिला किताबले बुधबार पाँच वटा बालपुस्तक एकसाथ लोकार्पण गरेको छ । ‘टेल्स एन्ड लाइज’ शृङ्खला अन्तर्गत विभिन्न लेखकले लेखेका पाँच वटा बालपुस्तक बेखामान र राक्षस, साङ्केनको खुल्दुली, अन्नको बखान, कपासको घोडा र जन्तर मन्तर नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानमा सार्वजनिक गरियो । 

ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, थाङ फाउन्डेसनकी अध्यक्ष मार्लिन फिसर भरबुक, कथावाचक समाजका अध्यक्ष प्राडा ध्रुवकुमार घिमिरे, नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिज र ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्र थुम्केलीले छुट्टाछुट्टै पुस्तक लोकार्पण गर्नुभयो ।  कार्यक्रममा अध्यक्ष प्राडा घिमिरेले कथाका लागि नेपाल समृद्ध देश रहेको बताउनुभयो । कोपिला किताबले ल्याएका पुस्तकले बालबालिकालाई किंवदन्तीदेखि नवीन विषयवस्तुसमेत प्रस्तुत गरेको उहाँले बताउनुभयो । कार्टुनिस्ट क्लबका अध्यक्ष क्षितिजले बालसाहित्यको क्षेत्रमा कोपिला किताबले छोटो समयमा प्रभावकारी काम गरेको बताउनुभयो । 

बालबालिकालाई विशेष गरी पुस्तकले मनोरञ्जन दिनुपर्ने नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले बताउनुभयो । कुलपति हार्तम्छालीले कोपिला किताबले ल्याएका पुस्तकले नेपाली बालसाहित्यको आयाममा नयाँपन थपेको दाबी गर्नुभयो । शब्द र चित्रका माध्यमबाट प्रदान गरिएको ज्ञान बालबालिकाका लागि बहुउपयोगी हुने उहाँको भनाइ छ । 

‘बेखामान र राक्षस’ पुस्तक विक्रमभक्त जोशीले लेख्नुभएको हो । यसमा चित्रकार शोभितमान बानियाँले चित्राङ्कन गर्नुभएको छ । अर्काे बालपुस्तक ‘जन्तर मन्तर’ की लेखक बिन्दु शर्मा हुनुहुन्छ । उहाँको लेखनमा चित्रकार एलिना छन्तेलको चित्राङ्कन छ ।  ‘कपासको घोडा’ बालपुस्तक इन्द्र चौधरीले लेख्नुभएको हो । यसमा चित्रकार प्रकाश रञ्जितको चित्राङ्कन छ ।

बालपुस्तक ‘अन्नको बखान’को लेखन जितेन्द्र बस्नेतले गर्नुभएको छ । यसमा चित्रकार सुमन महर्जनले चित्राङ्कन गरेका छन् । अर्काे पुस्तक ‘साङ्केनको खुल्दुली’का लेखक सिर्जना राई हुनुहुन्छ । यसमा चित्रकार सुरज राईले चित्राङ्कन गर्नुभएको छ । सबै पुस्तकको सम्पादन बाल कथाकार अनुराधाले गर्नुभएको छ ।