• १५ वैशाख २०८१, शनिबार

नेपाल साफ फुटबलको कठिन समूहमा

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ ३ गते । नेपाल दक्षिण एसियाकै ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले मंगलबार गरेको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको हो ।

नेपालको समूहमा आयोजक भारत, पाकिस्तान र आमन्त्रित टोली कुवेत रहेको छ । भारत र कुवेत नेपालका लागि तुलनात्मक रुपमा कठिन प्रतिद्वन्द्वी हुन् । यस्तै समूह ‘बी’ मा माल्दिभ्स, भुटान, बंगलादेश र लेबनान परेको छ । लेबनानले पनि पहिलो पटक आमन्त्रित टोलीको रुपमा साफ च्याम्पियनसिप खेल्न लागेको हो । 


साफ च्याम्पियनसिपको १४औं  संस्करण आगामी असार ६ देखि १८ गतेसम्म भारतको बेंगलुरुमा आयोजना हुँदैछ । विश्व फुटबल महासंघ (फिफा) को निलम्बनका कारण श्रीलंकाले भाग लिने छैन । नेपालले अहिलेसम्म साफ फुटबलको उपाधि जित्न सकेको छैन ।

माल्दिभ्समा भएको १३औं संस्करणमा नेपाल उपविजेता बनेको थियो । फाइनलमा नेपाल भारतसँग ३-० गोलले पराजित भएको थियो । साफमा नेपालको यो नै अहिले सम्मको उत्कृष्ट नतिजा हो ।

यसपटक तुलनात्मक रुपमा कठिन समूहमा पर्नु र राष्ट्रिय टोलीका तीन र्जन रोजाईका खेलाडी विदेश पलायन हुनाले साफ फुटबल नेपालका लागि झनै कठिन हुने देखिएको छ । नेपालले असार ६ गते कुवेतसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ ।