वातावरणको डरलाग्दो चेतावनी

विनोद नेपाल

मानवीय क्रियाकलापका कारण वातावरणमा पर्ने नकारात्मक असर तथा विकासको प्रतिस्पर्धामा वातावरणमाथि परिरहेको दुष्प्रभावप्रतिको बेवास्ताले मानव मात्र नभई समग्र जीवजन्तु, वनस्पतिसमेतको अस्तित्वमाथि चुनौती थपिएको छ । हालै सार्वजनिक केही तथ्याङ्कहरूले मानव मात्रलाई अझ गम्भीर हुन चेतावनी दिएका छन्ध्र
एक तथ्याङ्कका अनुसार मानवीय कारणबाट डरलाग्दो ढङ्गमा वन्यजन्तुको विनाश भइरहेको छ । मानवीय उपभोगका कारण पछिल्ला केही दशकमा विश्वभर वन्यजन्तुको सङ्ख्या ६० प्रतिशतले घटेको हालै सार्वजनिक भएको हो । विश्व वन्यजन्तु संरक्षण कोष ‘डब्लुडब्लु एफ’ले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार सन् १९७० देखि २०१४ सम्मको अवधिमा जलचर, स्तनधारी, सरीसृपसमेतका जनावर, चरा तथा माछाहरूको सङ्ख्या औसत ६० प्रतिशतले घटेको छ । दक्षिण र मध्य अमेरिकामा यसको असर अत्यधिक देखिएको छ जहाँ सन् १९७० को तुलनामा अहिले ८९ प्रतिशत वन्यजन्तुको विनाश भएको प्रतिवेदनमा उल्लेख छ । सो क्षेत्रमा विशेष गरी सामुद्रिक जीवहरूको अस्तित्व सङ्कटमा परेको छ । विगत ४४ वर्षमा पशु, पंक्षी तथा माछाको सङ्ख्या ६० प्रतिशत घटेको अध्ययनमा पाइएको हो ।
ठूलो सङ्ख्यामा वन्यजन्तुको क्षति हुँदा जैविक विविधतामै असर पर्न सक्ने प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदन अनुसार विश्वको कुल भूभागको एक तिहाई क्षेत्र मात्रै मानवीय क्रियाकलापबाट सुरक्षित छन्, अर्थात् कुनै असर पुगेको छैन । खाद्यान्न उत्पादनमा तीव्र वृद्धि एवं ऊर्जा, खानेपानी तथा जमिनको माग बढ्दै जाँदा वन्यजन्तुमाथि बढी प्रभाव परेको छ । यसप्रति चिन्ता व्यक्त गर्दै ‘डब्लुडब्लुएफ’ले विश्वभरका विधि निर्माताहरूलाई दिगो विकासको नयाँ अवधारणा अपनाउन आग्रहसमेत गरेको छ । पछिल्ला दशकहरूमा वृक्षारोपण भने केही बढेको प्रतिवेदनमा उल्लेख छ ।
माछा, सरीसृप, पंक्षी तथा स्तनधारी जीवका लागि मानिस खतरा बन्दै गएको छ । ‘डब्लुडब्लुएफ’को ‘लिभिङ प्लानेट रिपोर्ट अफ द ग्लोबल फन्ड फर नेचर’ नामक प्रतिवेदनका अनुसार सन् १९७० देखि २०१४ का बीच यिनको सङ्ख्यमा ६० प्रतिशतले कमी अएको छ । सन् २०१० सम्म यो ४८ प्रतिशत थियो । विशेषज्ञहरूले १९७० र २०१४ का बीच चारहजार पाँच यस्ता जीवका १६ हजार सात सय चार प्रजातिको सङ्ख्या विश्लेषणको आधारमा चेतावनी दिएका छन् कि यदि यिनको संरक्षण गर्ने उपयुक्त कदम उठाइएन भने छिटै नै यी लोप हुने अवस्थामा छन् जुन मानव सभ्यताको अस्तित्वकै लागि पनि खतरा होध्र
विश्वका ५९ वैज्ञानिक सम्मिलित समूहले २० वर्षको अध्ययनबाट यो प्रतिवदेन तयार गरेका हुन् । यस अनुसार घट्दो जङ्गल, बढ्दो प्रदूषण, बढ्दो जनघनत्व, पर्यावरणीय असन्तुलन र प्राकृतिक संसाधनको अनियन्त्रित दोहन यसका प्रमुख कारक हुन् । पृथ्वीको झण्डै एक चौथाई हिस्सामा मानवीय गतिविधिको कारण जीवजन्तु र प्राणीहरूको प्राकृतिक आवास विनाश भइरहेको छ । यसका अलावा लोप हुँदै गरेका जनावरको शिकार हुनु पनि अर्को कारण होध्र
सोही अनुसन्धानका अनुसार विगत ५० वर्षमा प्राकृतिक संसाधनको खपत झण्डै १९० प्रतिशत बढेको छ । मानव सभ्यताको प्रारम्भदेखि हालसम्म ५० प्रतिशत रुख बिरुवा र वनस्पति समाप्त भएका छन् । पृथ्वीलाई पहिले जस्तो हराभरा बनाउनका लागि ५० देखि ७० लाख वर्ष लाग्छ । विश्वस्तरमा प्रकृतिले बर्सेनि ताजा हावा, स्वच्छ पानी, खाद्य सामग्री र ऊर्जाको रूपमा करिब एक सय २५ लाख करोड डलर मूल्य बराबरको सेवा प्रदान गर्छ तर पछिल्लो ५० वर्षमा प्राकृतिक संसाधनको खपत करिब एक सय ९० प्रतिशतसम्म बढेको छ र मानवद्वारा यिनको बढ्दो दुरुपयोग खतराको रूपमा देखापरेको छध्र
विगत ५० वर्षमा घटेको जङ्गल र वनस्पति तथा समुद्रमा परेको प्रभावले अत्यन्तै जोखिमको सङ्केत गरेको छ । मानव सभ्यताको प्रारम्भदेखि हालसम्म ८३ प्रतिशत स्तनधारी जीव र ५० प्रतिशत वनस्पति समाप्त भएको छ । पृथ्वीलाई पहिलेजस्तो बनाउन ५० देखि ७० लाख वर्ष लाग्ने पनि सो प्रतिवेदनमा उल्लेख छध्र
प्रदूषणको कारण विषाक्त हावाले हामीलाई अवश्य रोगी बनाएको छ तर यसबाट हामीमात्र जोखिममा परेका छैनौं, बरु यसबाट समुद्री जीवहरू पनि प्रभावित भइरहेका छन् । समुद्रमा अनुमानभन्दा धेरै प्रदूषण र तापक्रम बढ्दा पानीमा अक्सिजनको मात्रा निरन्तर कम हुँदै गएको छ । एक अनुसन्धानका अनुसार विगत २५ वर्षमा समुद्रले ६० प्रतिशतभन्दा बढी गर्मी सोसेको छ । यसको अर्थ यो हो कि जीवाश्म इन्धन उत्सर्जनको मामिलामा पृथ्वी अनुमानभन्दा निकै बढी संवेदनशील छ । यसबाट यस शताब्दीको अन्त्यसम्ममा ‘ग्लोबल वार्मिङ’लाई नियन्त्रणमा राख्न कठिन हुनेछ । ‘नेचर’ नामक जर्नलमा प्रकाशित अध्ययनका अनुसार मानवीय गतिविधिको प्रभावबाट ग्रीनहाउस ग्यासको उत्सर्जन बढ्दै गएको छ र समुद्रमा अनुमानभन्दा निकै बढी फोहर गइरहेको छध्र
मानवीय गतिविधिका कारण पृथ्वीको स्थिति ७७ प्रतिशतले फेरिएको छ । यसकारण समुद्री जीवन ८७ प्रतिशतले प्रभावित भएको छ । एक शताब्दी अघि पृथ्वीमा मानवीय हस्तक्षेप केवल १५ प्रतिशत थियो । अध्ययनका अनुसार पृथ्वीको अतिरिक्त ताप तथा फोहर समुद्रमा गइरहेको छ,जसबाट पानीमा विभिन्न किसिमका परिवर्तन देखा परेका छन् । विज्ञहरूका अनुसार यदि समुद्र तातो भयो भने यसले निकै कम मात्र अक्सिजन राख्न सक्छ र यसबाट समुद्री जीव प्रभावित हुनेछन् । यसबाट पानीको स्तरमा पनि वृद्धि हुनेछ, जसबाट अग्ला लहर र छाल उठ्ने आशङ्का बढ्छध्र
हामी हावा, पानी र जङ्गल, यी सबैलाई समाप्त पार्ने दिशामा छौं । अध्ययनमा यो कुरा पनि सामुन्ने आएको छ कि मानव तीव्र गतिमा जङ्गलको विनाश गर्दैछ । विश्वको ७० प्रतिशत जङ्गल केवल पाँच मुलुकमा सीमित भएको छ । स्मरणीय छ, विश्वको जङ्गलको ९४ प्रतिशत २० वटा देशमा छ । सन् १९९३ देखि २००९ को अवधिमा विश्वमा ३३ लाख वर्ग किलोमिटर जङ्गल विनाश भएको छ जुन झण्डै भारतको क्षेत्रफल बराबर छ । भारतको क्षेत्रफल लगभग ३२ लाख वर्ग किलोमिटर छ । यसरी सो अवधिमा भारतको क्षेत्रफलकै हाराहारी वनको विनाश भएको हो ।
यसैबीच विश्वमा ४८ दशमलव ६ करोड मानिस भोकमरीसँग जुधिरहेका तथ्याङ्क पनि सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङ्घको हालैको एक प्रतिवेदनका अनुसार खाद्य सुरक्षा तथा आधारभूत जीवनस्तर सम्बन्धी प्रगति रोकिनुको कारण यस्तो भएको हो । बैंकक र क्वालालम्पुर जस्ता शहरमा पनि कतिपय यस्ता गरिब परिवार छन् जो बच्चाका लागि पर्याप्त खाना जुटाउन सकिरहेका छैनन् ।
प्रतिवेदनका अनुसार पूर्वी र दक्षिण पूर्वी एसियामा भोकमरीको अवस्था सबैभन्दा खराब छ । सन् २००५ देखि २०१७ को बीच कुपोषणको स्थितिमा करिब सात प्रतिशतले कटौती भएको छ, तर यसका बाबजुद यस क्षेत्रमा शुद्ध पिउने पानी, खाद्य सुरक्षा र स्वच्छताको अभावमा स्थिति अत्यन्त खराब छ र बालबालिका कुपोषणका शिकार भइरहेका छन् ।
दक्षिणपूर्व एसियामा बालबालिकामा कुपोषणको समस्या अत्यन्त जटिल छ । इन्डोनेसिया, मलेसिया र कम्बोडियामा हरेक १० मध्ये एक शिशु कुपोषित छन् । दक्षिण एसियामा चाहिँ १५ प्रतिशत शिशु कुपोषित छन् । पाकिस्तानमा चार प्रतिशत शिशुलाई मात्र जिउनका लागि आवश्यक न्यूनतम आहार उपलब्ध हुन्छ । समग्र एसियाका पाँच वर्षभन्दा कम उमेरका करिब सात दशमलव नौ प्रतिशत बालबालिका कुपोषणको शिकार
बनिरहेका छन्ध्र
आगामी दिनमा वातावरणीय सन्तुलन, खाद्यान्नको आवश्यकता पूर्ति एवं स्वस्थ जीवनयापनका लागि ठूलै सङ्घर्ष गर्नुपर्ने देखिन्छ । यो सबैको दोषी मानव नै हो । हरेकले आफ्ना वरपरको प्राकृतिक वातावरणलाई बिग्रन नदिने तथा मानव, जीवजन्तु र वनस्पतिबीचको सम्बन्ध पारस्परिकता र अन्तरनिर्भर भएकाले मानवले बुद्धिमान प्राणीको हैसियतमा यस्ता सबै पक्षप्रति गम्भीर हुनु नितान्त आवश्यक छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds