• १४ वैशाख २०८१, शुक्रबार

प्रविधिले नागरिकको जीवनशैली सहज

blog

अन्तर्क्रियाको उद्घाटन गर्नुहुँदै नगर प्रमुख अमिर मादेन । तस्बिर: चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख १९ गते । ताप्लेजुङमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा एक अन्तर्क्रिया आयोजना गरिएको छ ।  कार्यक्रममा सहभागीले प्रविधिको विकासले नागरिकको जीवनशैलीलाई सहज बनाएको उल्लेख गरेका छन् । 

सदरमुकाम फुङ्लिङस्थित होटल पाथीभराको सभाहलमा मङ्गलबार आयोजित ‘सूचना र प्रविधिको बढ्दो प्रयोग: सम्भावना र चुनौती’ विषयक अन्तर्क्रियामा सहभागी वक्ताले पछिल्लो समय प्रविधिको विकासले जीवनशैली सहज बनाएको बताएका छन् ।

जिल्लास्थित कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले आयोजना गरेको अन्तर्क्रियामा कार्यपत्र प्रस्तुत गर्नुहुँदै राजकुमार गुरुङले साँच्चिकै प्रविधिले नागरिकको जीवन व्यवहारलाई सहज बनाएको बताउनुभयो । 

क्यानका पूर्व जिल्ला अध्यक्षसमेत रहनुभएका गुरुङले प्रविधिको सही प्रयोग र उपयोगले मानिसको दैनिकी, जीवनशैली र कार्य कौशलतासहितका कार्य गर्नलाई सजिलो भएको बताउनुभयो । कार्यपत्र प्रस्तुत गर्दै प्रविधिको दुरुपयोग भएमा मानव जीवन अप्ठ्यारोमा पर्नसक्छ उहाँले औँल्याउनुभयो ।

फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुसराम कार्की, नेपाल टेलिकमका निमित्त प्रमुख दीपेन खबास, फुङ्लिङ नगरपालिका -४ का वडाध्यक्ष दुर्गा पालुङ्वालगायतको उपस्थिति थियो । 

क्यानका जिल्ला अध्यक्ष विष्णुकुमार हाङ्बाङ लिम्बूको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा सुविसु, टेकमाइन र सेवारो नेटवर्क नामक इन्टरनेट सेवा प्रदायक संस्थाको सहयोग रहेको छ ।