पुनःस्थापना कार्यमा नेपाल अगाडि


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २० गते । विपद ब्यवस्थापनको क्षेत्रमा पीडितहरूलाई मानवीय सहयोग, उचित सुरक्षा, राहत, उद्धार र पुनःस्थापना कार्यमा एसियाका अन्य मुलुकहरूभन्दा नेपाल अगाडि देखिएको छ ।
यही सोमवारदेखि तीन दिनसम्म सञ्चालित विपद् ब्यवस्थापनमा क्षेत्रीय परामर्श समिति (आरसीसी) को १४ औँं सम्मेलनमा सहभागीहरूले यस्तो जानकारी दिएका हुन् । गृह मन्त्रालयका सहसचिव इन्दु घिमिरेले विपद व्यवस्थापनको पूर्वतयारी भन्दा पछिको व्यवस्थापनमा नेपाल अगाडि देखिएको जानकारी दिनुभयो ।
विशेष गरी अनुभव र सीप आदान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त सम्मेलनमा २०७२ साल बैशाख १२ गतेको भूकम्पका विषयमा समीक्षा गरिएको थियो । विपद व्यवस्थापन महाशाखा प्रमुख समेत रहनुभएकी सहसचिव घिमिरेले पूर्वतयारीको अवस्थामा भने नेपाल कमजोर रहेको बताउनुभयो ।
विपद ब्यवस्थापनका लागि पूर्वतयारी तथा सुरक्षात्मक उपाय अवलम्बन गर्नु नै महत्वपूर्ण पक्ष रहेको चर्चा गर्दै उहाँले घटना प्रकृति फरक भए पनि विपद ब्यवस्थापनको अवस्था र क्षति एसियाका सबै देशहरूमा समान हुने गरेको बताउनुभयो ।
एसियास्थित १८ देशका प्रतिनिधि, ४५ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि र विपद विज्ञहरूको सहभागिता रहेको उक्त सम्मेलनले विपद मानव जातिका लागि घातक र सबै देशको साभmा समस्या भएकाले यसविरुद्ध लड्न चार बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।
त्यस अवसरमा एसिया डिजास्टर प्रिपियर्डनेस सेन्टर (एडीपिसि)का निर्देशक अस्लाम प्रयीजले विपद ब्यवस्थापनका लागि राज्यले नै वजेटको ब्यवस्था गर्नुपर्ने बताउनुभयो । सर्वसाधारणलाई यस विषयमा जागृत गराउन जरुरी छ, उहाँले भन्नुभयो–यस विषयमा राज्य सरकार गम्भीर हुन जरुरी छ ।
धेरैजसो विपदका घटना मानवीय कमजोरीका कारण हुने गरेको स्मरण गराउँदै उहाँले कुनै पनि भौतिक संरचना निर्माण गर्नुअघि बलियो र टिकाउ बनाउनुपर्ने र त्यसका लागि सरकारले नै नीतिगत निर्णय बलियो बनाउनुपर्ने सुझाव दिनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds