• २७ वैशाख २०८१, बिहिबार

टिआरसीसँग सम्बन्धित विधेयक समितिमा नगई अघि बढ्दैन : सचेतक बर्तौला

blog

बालकोटमा बसेको प्रमुख तीन दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेकपा (एमाले) का सचेतक महेश बर्तौला । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, वैशाख ४ गते । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक समितिमा छलफल नगई अघि नबढ्ने बताउनुभएको छ ।

सोमबार बालकोटमा बसेको प्रमुख तीन दलको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक चाँडै टुङ्गोमा पुर्‍याउनुपर्छ भन्ने पक्षमा रहेको र अन्तर्राष्ट्रिय जगतले प्रश्न उठाउन नसक्ने गरी मात्रै ऐन बनाउनुपर्ने अडानमा रहेको बताउनुभयो ।

सचेतक बर्तौलाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक राष्ट्रको साझा विषय भएको उल्लेख गर्नुहुँदै विधेयकमा रहेका कतिपय कन्टेनहरुमा विस्तृत छलफल गर्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँले एक महिनाको समय लिएर भए पनि परिपक्व ऐन बनाएर मात्रै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

‘‘टिआरसीसँग सम्बन्धित विषय, विषयगत समिति पनि तत्काल बनाउने बारेमा छलफल भएको छ । टिआरसी राष्ट्रको साझा विषय हो । हामी छिटो गर्नुपर्छ भन्नेमा छौँ । त्यसको अर्थ विधेयकमा रहेका कतिपय कन्टेनहरुमा रहेका कुरामा पनि हामीले बहस, छलफल गर्नुपर्छ । हामीले अन्तर्राष्ट्रिय मानवअधिकारलाई हेरेर कानुन बनाउनुपर्छ, त्यसमा हामीले स्वीकारेका छौँ, पीडितहरूलाई न्याय दिने बारेमा बुझेर मात्रै कानुन बनाउनुपर्छ । सत्यको राम्रोसँग अन्वेषण गरेर मात्रै कानुन अघि बढाउनुपर्छ । टिआरसी विधेयक समितिमा लैजानुपर्छ । विभिन्न बुदाँमा व्यवस्थित छलफल गरेर अघि बढाउनु पर्छ । एक महिना ढिलो गरौँ तर परिपक्व ऐन बनाएर अघि बढौँ ।’’

सचेतक बर्तौलाले आजको बैठकमा प्रमुख तीन राजनीतिक दलबीचमा संसदीय गतिविधिमा सहमति गरेर अघि बढ्ने विषयमा छलफल भएको बताउनुभयो ।