• १५ वैशाख २०८१, शनिबार

परिवर्तन संस्थागत गर्न पाँच वर्षका लागि गठबन्धन : उपसभापति गुरुङ

blog

दमौलीमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ।तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख २ गते। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले परिवर्तन संस्थागत गर्न पाँच वर्षको लागि गठबन्धन गरिएको बताउनुभएको छ। तनहुँ लोकतन्त्र तथा विकास समाजले शनिबार दमौलीमा आयोजना गरेको ‘तनहुँ समग्र विकास र आसन्न उपनिर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो।

त्याग, बलिदानी, आन्दोलनबाट  प्रजातन्त्रको स्थापना, पुर्नस्थापना तथा संघीय गणतन्त्रको स्थापना भएको यसविरुद्ध षयन्त्रण भएकाले संस्थागत गर्न गठबन्धन गरी सरकार निर्माण गरिएको उहाँको भनाइ छ। 

‘‘अब देशमा समाजवादको यात्रामा अघि बढ्न, भ्रष्टाचारीलाई सोहोरेर फालेर सुशासन कायम गर्ने गठबन्धन गरिएको हो’’,  गुरुङले भन्नुभयो। युवा नेताले पाका नेताले देश चलाउन सक्दैनन् भन्नु गलत सावित भएको उहाँको भनाइ थियो।

गठबन्धन गरेर चुनाव तथा सरकार निर्माण गरेपछि मन्त्री बन्ने चाहना पाकाको कान्छी औंला समातेर युवाहरु पछि लागिरहेको बताउनुभयो। ‘‘नेतृत्व लिने पाकाले हो, युवाहरुले उहाँलाई सहयोग गरेर काममा बाँडफाँड गरी देश बनाउने हो’’ गुरुङले भन्नुभयो। 

देशमा विकास भएन भन्नु गलत भएको उहाँको भनाइ थियो। ‘‘गाउँ गाउँमा मोटर बाटो पुगेको, विद्यालय स्वास्थ्यचौकी खुलेका छन्। यो प्रजातन्त्रले ल्याएको परिवर्तन हो, जनताको चाहाना पुरा गर्न समाजबाद स्थापना गर्न गठबन्धन गर्नुपरेको हो’’, उपसभापति गुरुङले भन्नुभयो। 

लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराई जेल बसेको, पार्टीको पदमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक हाँकेको, त्यागी व्यक्ति भएकोले जनताले मत दिनुपर्ने गुरुङले बताउनुभयो। ‘‘गोविन्द भट्टराई जनतालाई स्वतन्त्रता प्रदान गर्न र विकास गर्नको लागि जेल परेको नेता हुनुहुन्छ’’, उपसभापति गुरुङले भन्नुभयो।