• १५ वैशाख २०८१, शनिबार

‘अब धनगढी दौरिन्छ’ हाफ म्याराथनको तयारी पूरा

blog

हाफ म्याराथनको तयारी पूरा भएको जानकारी गराउँदै आयोजक । तस्बिर : गोरखापत्र

अविनाश चौधरी

धनगढी, चैत २९ गते । नयाँ वर्षको दिन धनगढीमा आयोजना हुने ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक धनगढी जेसिजले आज पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

खेलकुदको माध्यमबाट युवालाई विकासमा प्रोत्साहन गर्ने उद्देश्य हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको धनगढी जेसिजले जनाएको छ ।प्रतियोगितामा सहभागिताका लागि धावक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत गरी २५० जनाले नाम दर्ता गराएको जेसिज वर्ष २०२३ का अध्यक्ष मोहनराज ओझाले जानकारी दिनुभयो ।

उहाँले वैशाख १ गते विहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हाफ म्याराथथनको उद्घाटन गर्नु हुनेछ ।  म्याराथनको खुल्लातर्फका विजेताले ५५ हजार ५५५ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी, दोस्रो हुनेले ३३ हजार ३३३, तेस्रो स्थान प्राप्त गर्नेले २२ हजार २२२ रुपियाँ पुरस्कार प्राप्त गर्ने गर्नेछन् ।

खुल्लातर्फको दूरी २१.१ किलोमिटर रहने जनाइएको छ । खुल्लातर्फको प्रतिस्पर्धीहरुले धनगढी रङ्शालाबाट दौडेर धनगढी बजार हुँदै गेटा पुगेर पुन: रङगशालामा आउने जनाइएको छ । 

यसैगरी, कर्पोरेट/सञ्चारतर्फको पहिलो हुने प्रतिस्पर्धीले पाँच हजार ५५५, दोस्रो हुनेले तीन हजार ३३३ र तेस्रो हुनेले दुई हजार २२२ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । कर्पोरेटतर्फको दौड रङ्गशालाबाट धनगढीको ट्राफिक चौराहासम्म हुने जनाइएको छ । 

यस्तै, महिलातर्फको पाँच किलोमिटर दौडको पहिलो हुनेले पाँच हजार ५५५, दोस्रो हुनेले तीन हजार ३३३ र तेस्रो हुनेले दुई हजार २२२ रुपियाँ पुरस्कार पाउनेछन् । हाफ म्याराथनमा पाँच किलोमिटरको ट्राइसाइकल दौड पनि रहने र उत्कृष्ट भएका प्रतिस्पर्धीहरुलाई उचित पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।