• १४ वैशाख २०८१, शुक्रबार

मन जितेपछि (कविता)

blog

पढ्नु छ धेरै लेख्नु छ धेरै 

जान्नु छ धेरै सिक्नु छ धेरै

तैपनि के हो ! छक्क म पर्छु

चञ्चल धेरै यो मन मेरै ।


हातमा पुस्तक लिन्छु म हेरी

मनमा दसथोक खेल्दछ फेरि

पढ्छु म पढ्दै बिर्सिइ जान्छु

सम्झनलाई यो मन तान्छु ।


आउँछ एकछिन भाग्दछ फेरि

गर्दछु बिन्ती हिँड्छ नटेरी !

धैर्य नभा’को यो मन कस्तो !

भित्र नबस्ने बाहिर सस्तो !


बन्न सके पो मालिक टाठो !

बन्दछ मालिक यै मन बाठो ! 

सक्छु म थुप्रै काम तह लाउन

सक्दिनँ जाबो मन तह लाउन !


तैपनि मेरो कोसिस जारी 

भइरहँदा यो देख्छु सुधारी

जित्छु नि एकदिन यो मन मैले

त्यसपछि जित्नै सक्छ नि कल्ले ?

(छन्द : चम्पकमाला ।)