• २६ वैशाख २०८१, बुधबार

नेपालगञ्जका अधिकांश नाला सफा गरिए, यस वर्ष डुबान नहुने दाबी

blog

नालामा बगिरहेकाे फाेहर पानी । तस्बिर: सिराज खान

सिराज खान 

नेपालगञ्ज, चैत २१ गते । नेपालगञ्जमा नाला तथा ढल निकास सफा गरिएकाले यो पटक जाम नहुने बताइएको छ । नाला सफा नहुँदा जाम भएर हरेक वर्ष वर्षाको समयमा डुबान हुने गर्दथ्यो । 

नेपालगञ्ज उपमहानगरपालिकाले पहिलो पटक वर्षा आउनुभन्दा पहिले नै उपमहानगरका अधिकांश ठूला नाला र ढल निकासको जामलाई सफा गरेको छ । 

गत फागुन २६ गतेबाट सुरु गरिएका नाला सरसफाइ अभियान अन्तिम चरणमा पुगेकाले अहिले अधिकांश नालाहरुमा पानी बगिरहेकाले आउँदो वर्षामा यस पटक डुबानको समस्या नहुने नेपालगञ्जका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । 

‘अधिकांश नालाहरुमा फसेका फोहोरको जाम सफा गरिसकेको र बाँकी रहेकालाई पनि आगामी एक महिनाभित्र सफा गरिसक्ने लक्ष्य छ । जसरी पनि यस पटक वर्षामा डुबान हुन नदिने हाम्रो मुख्य उद्देश्य हो ।’– प्रमुख विष्टले भन्नुभयो ।   

सङ्घीय सरकारबाट आएको विज्ञ टोलीले गरेको स्थलगत अध्ययनपछि प्राप्त सुझाबको आधारमा जेठसम्म नाला सफा गरीसक्ने काम भइरहेको उहाँले बताउनुभयो । 

सर्वसाधारणका अनुसार यसअघि सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नाली सफाइ गर्ने गरिए पनि वर्षौँदेखि नालाहरु सफाइ गरिएको थिएन ।

यस पटक तीन वटा प्याकेजमा नाला सफाइ गर्ने गरी काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूलो नाला र दोन्द्रा नालाको अन्तिम विन्दुसम्म सफाइको काम गरिएको छ । 

जेसिबीले सफाइ गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाइ गरिरहेको मेयर विष्टको भनाइ छ । नाला सफाइ कार्यको अवलोकनमा पुग्नुभएका उहाँले नाला सफाइको काम सकिन लागेकाले अब नेपालगञ्ज नडुब्ने विश्वास व्यक्त गर्नुभयो ।

नालाको आधा भन्दा बढी भाग माटोले पुरिएको अवस्था रहेको जनाउँदै उहाँले कतिपय ठाउँमा जेसिबी प्रयोग गर्न सकिने अवस्था नरहेकाले मान्छे नै लगाएर सफाइ गरिएको बताउनुभयो ।

उपमहानगरका अनुसार १०/१० लाखको तीन वटा प्याकेजमा नाला सफाइको काम भइरहेको छ । कार्यालयले नालामा जथाभावी फोहर नफाल्न पनि नगरवासीलाई आग्रह गरेको छ । 

सरसफाइमा नागरिक सहभागिता अत्यन्त जरुरी रहेको जनाउँदै सबैले मिलेर काम गरेमा मात्र सफलता प्राप्त हुने नेपालगञ्जका उपप्रमुख कमरुद्दीन राईले बताउनुभयो ।